मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा अतिरिक्त शुल्क असुलीको आरोप, चार जना पक्राउ


काठमाडौं ।

मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी रकम असुल गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारको पत्र तथा विकास रानाभाटसहितको जाहेरीका आधारमा ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मलेसियामा वैदेशिक रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्दा सरकारले तोकेको शुल्कबाहेक म्याक्रोटेक प्रालिको नाममा ‘Bio-Medical Service Charge (Medical Screening)’ उल्लेख गरी गैरकानुनी रूपमा अतिरिक्त रकम असुल गरिएको आरोप छ। यसरी संगठित रूपमा रकम सङ्कलन गरी श्रमिकलाई आर्थिक हानि पुर्‍याउँदै आरोपितहरूले आर्थिक लाभ लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

यस प्रकरणमा पक्राउ पर्नेहरूमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ निवासी ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ निवासी ४० वर्षीय रविन्द्र केसी, गोरखा नगरपालिका–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–११, महादेवटार बस्ने ४२ वर्षीय प्रविण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती बस्ने ४५ वर्षीय रामपुकार तिवारी रहेका छन्।

प्रहरीले उनीहरूविरुद्ध ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, उक्त प्रकरणबाट पीडित भएका श्रमिकलाई प्रमाणसहित वैदेशिक रोजगारसम्बन्धी कसुर अनुसन्धान गर्ने प्रहरी निकाय वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई उजुरी तथा जाहेरी दरखास्त दिन प्रहरीले अनुरोध गरेको छ।

वैदेशिक रोजगारीमा जाने श्रमिक स्वास्थ्य परीक्षणलगायतका प्रक्रियामा अतिरिक्त शुल्क तिर्न बाध्य भएमा त्यसको रसिद, भुक्तानी प्रमाण र सम्बन्धित कागजात सुरक्षित राख्नु अनुसन्धानका लागि महत्त्वपूर्ण हुनेछ।

Skip This