भोटेकाशी बाढीपीडितका लागि रेडक्रसले दुई हजार घर बनाइदिने


काठमाडौँ।

नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि निजी आवाज निर्माण गरिदिने भएको छ ।

रेडक्रसले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रिय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले जानकारी दिनुभयो । आवास निर्माणको लागि बिहीवार पुर्वाधार विकास मन्त्रालयमा भवन विभागसंग सम्झौता गरिएको उहाँले बताउनुभयो ।

सम्झौताअनुसार बाढी प्रभावितलाई लक्षित गरी आवास तथा भाडा सहायता कार्यक्रम सञ्चालन गरिनेछ । उक्त सहमति तत्काल कार्यान्वयनमा जाने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । भण्डारीले दशैँलगत्तै कार्ययोजना तयार गरिने र सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास तथा स्थायी घर निर्माण प्रक्रिया अघि बढाइने उहाँको भनाई छ । घर बगाएका करिव पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउने समेत सहमति भएको उहाँले बताउनु भयो । सम्झौताअनुसार आवास निर्माणको नेतृत्व भवन विभागले गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले रसुवा भोटेकोशी बाढीबाट प्रभावित जति पनि लाभग्राहीहरू हुनुहुन्छ, उहाँहरूलाई आधारित मानेर अहिलेलाई टेम्पोरेरी सेल्टर हजार वटा बनाउने, त्यसैगरी पर्मानेन्ट हाउजिङको लागि हजार वटा बनाउने गरि मन्त्रालयसंग सम्झौता गरेका छौँ ।

५ हजार जना जति पनि लाभग्राहीहरू हुनुहुन्छ, जसको घर गएको छ, बाढीले घर बगाएको छ, उहाँहरूलाई रेन्टल असिस्टेन्स गर्ने भनेर पनि हामीले सहमति गरेका छौँ । यो सहमति तुरुन्तै लागू हुनेछ । अब हामीले यो दशैँ पछाडि लगत्तै एउटा कार्ययोजना तयार गरेर सरकारले आवश्यक जमिनहरू उपलब्ध गराउना साथ नेपाल रेडक्रस सोसाइटीले अस्थायी आवास र स्थायी आवास निर्माण कार्य अगाडी बढाउनेछौँ । यो सेल्टरको लिड मन्त्रालय अन्तर्गत भवन विभागले गर्नेछ ।’

रेडक्रस र भवन विभागबीच भएको सम्झौताअनुसार बाढीबाट घर गुमाएका परिवारलाई अस्थायी बसोवास, स्थायी आवास निर्माण तथा भाडा सहायतामार्फत राहत उपलब्ध गराउने लक्ष्य राखिएको उहाँको भनाई छ । सम्झौतामा भवन विभाग र रेडक्रसका प्रतिप्रनिधिहरुले हस्ताक्षर गर्नुभएको छ ।

Skip This