काठमाडौं।
लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको १६औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् करसहित ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।
कम्पनीको वार्षिक साधारणसभा बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत पारित गरेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि हाल कार्यरत एनबीएसएम एन्ड एसोसिएट्सलाई नै लेखापरीक्षकमा निरन्तरता दिने निर्णय गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म प्रतिसेयर आम्दानी १२.६६ रुपैयाँ रहेको छ। वितरणयोग्य आम्दानीका आधारमा सेयरधनीलाई नगद लाभांश दिने निर्णय गरिएको हो।
नेपालको पुँजी बजारमा तीन दशकभन्दा लामो अनुभव बोकेको लक्ष्मी सनराइज क्यापिटलले मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोषसम्बन्धी सेवा प्रदान गर्दै आएको छ। कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरका छवटा बन्दमुखी र एउटा खुलामुखी गरी सातवटा म्युचुअल फन्ड सञ्चालन गरिरहेको जनाएको छ।
त्यस्तै, कम्पनीले एक अर्ब रुपैयाँ पुँजीको लक्ष्मी सस्टेनेबल इनर्जी फन्डमार्फत दिगो ऊर्जाका क्षेत्रमा लगानी गर्दै आएको छ।
लक्ष्मी सनराइज क्यापिटल इम्प्याक्ट प्रिन्सिपल्स फर इम्प्याक्ट म्यानेजमेन्ट (Impact Principles for Impact Management) मा हस्ताक्षर गर्ने नेपालको पहिलो संस्था रहेको कम्पनीले जनाएको छ। यसले सामाजिक तथा वातावरणीय प्रभावलाई ध्यानमा राख्दै पारदर्शी, अनुशासित र उत्तरदायी लगानीलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।














प्रतिक्रिया