चितवन ।
पश्चिम चितवनका किसानका खेतमा सिँचाइ सुविधा पु¥याउन नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजनाले बर्खायाममा नारायणी नदीबाट २४सै घण्टा पानी तान्दै आएको छ । पर्याप्त वर्षा नभएको समयमा धान रोपाइँ तथा खेतीका लागि आवश्यक पानी उपलब्ध गराउन आयोजनाका पम्प निरन्तर सञ्चालन गरिँदा विद्युत् महसुलमा मात्रै मासिक करिब ४२ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ ।
बर्खायाममा पश्चिम चितवनका करिब ४ हजार ७ सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन नारायणी नदीबाट दुईवटा पम्पमार्फत पानी तानेर नहरमा पठाउने गरिएको नारायणी लिफ्ट–खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले जनाएको छ । आयोजनाका प्रमुख कुलराज चालिसेका अनुसार आयोजनाअन्तर्गत नारायणी लिफ्ट सिँचाइ प्रणाली र खगेरी सिँचाइ प्रणाली सञ्चालनमा छन् । नारायणी लिफ्ट प्रणालीमा नदीबाट पम्पको सहायताले पानी तानेर पश्चिम चितवनतर्फको नहरमा पठाइन्छ ।
खगेरी सिँचाइ प्रणालीमा खोलाबाट पानी ल्याउन पम्प प्रयोग गर्नुपर्ने अवस्था नरहेकाले विद्युत् खर्च तुलनात्मक रूपमा न्यून छ । नहरको नियमित मर्मत र झारपात सफा गर्नुपर्नेबाहेक ठूलो खर्च नहुने कार्यालय प्रमुख चालिसे बताउनुहुन्छ । तर नारायणी नदीबाट पानी तान्न विद्युत् पम्प सञ्चालन गर्नुपर्ने भएकाले त्यसतर्फ ठूलो रकम खर्च हुने गरेको उहाँको भनाइ छ ।
‘दुवै पम्प निरन्तर सञ्चालन गर्दा महिनामा करिब ४२ लाख रुपैयाँसम्म विद्युत् महसुल आउँछ’, चालिसेले भन्नुभयो, ‘पानीको माग र वर्षाको अवस्थाअनुसार पम्प सञ्चालन गर्ने गरेका छौँ ।’
आयोजनाले सामान्यतया असार १२ गतेदेखि असोज ३० गतेसम्म बर्खायाममा नहर सञ्चालन गर्ने गरेको छ । खेतमा पानीको आवश्यकता भएमा वर्षाको अवस्था हेरेर पम्प सञ्चालन गरिन्छ । पर्याप्त वर्षा भएका बेला भने पम्प चलाउन आवश्यक नपर्ने कार्यालयले जनाएको छ ।
‘पानी परेको बेला पम्प सञ्चालन गर्नुपर्दैन । तर पानी नपरेर खेतमा सिँचाइ आवश्यक भयो भने मागअनुसार निरन्तर पानी छाड्छौँ’, चालिसेले भन्नुभयो । बर्खायाममा मात्रै नभई हिउँदमा समेत किसानको मागअनुसार नहर सञ्चालन गर्ने गरिएको छ । गहुँ, मकैलगायतका हिउँदे बालीलाई सिँचाइ आवश्यक परेमा पानी उपलब्ध गराइन्छ ।
आयोजनाबाट पश्चिम चितवनका भरतपुर महानगरपालिकाअन्तर्गत गीतानगर, पटिहानी, जगतपुर, पार्वतीपुर, मंगलपुर, गुञ्जनगर, शारदानगरलगायतका क्षेत्रमा सिँचाइ सुविधा पुग्दै आएको छ । नहरमा पानी छाडिएपछि खेतबारीमा मात्र नभई आसपासका पोखरी, इनार तथा धारामा समेत पानीको उपलब्धता बढ्ने गरेको स्थानीय किसानको अनुभव छ ।
यही सिँचाइ प्रणालीमा भर पर्दै पश्चिम चितवनका किसानले धान रोपाइँ गर्दै आएका छन् । वर्षा कम हुँदा वा लामो समय पानी नपर्दा नहरको पानी किसानका लागि थप महत्वपूर्ण हुने गरेको छ । तर पछिल्लो समय खेतीयोग्य जमिन प्लटिङ तथा शहरीकरण हुने क्रम बढेपछि आयोजनाको सिँचाइ क्षेत्र भने क्रमशः खुम्चिँदै गएको छ । नहरको क्षेत्रसमेत विभिन्न स्थानमा अतिक्रमणमा परेको कार्यालयको भनाइ छ । खेतीयोग्य जमिन बस्ती तथा प्लटिङमा परिणत हुँदा सिँचाइको माग र वास्तविक सिँचाइ क्षेत्रबीच समेत फरक देखिन थालेको उहाँ बताउनुहुन्छ ।
हाल खगेरी सिँचाइ प्रणालीबाट करिब ३ हजार ९ सय हेक्टर र नारायणी लिफ्ट सिँचाइ प्रणालीबाट करिब ४ हजार ७ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ । आयोजनाअन्तर्गत ‘बी’ मूल नहर २२ किलोमिटर, ‘सी’ नहर १४ किलोमिटर र लिंक नहर ५ सय मिटर लामो छ । तर नहरबाट सिँचाइ हुने क्षेत्र आसपासको खेतीयोग्य जमिन प्लटिङ हुँदै जाँदा सिँचाइको क्षेत्रफलसमेत घट्दै गएको कार्यालयले जनाएको छ ।
नारायणी लिफ्ट आयोजनामा विसं २०७९ मा नयाँ पम्प जडान गरिएको थियो । नयाँ पम्प जडान भएपछि पानी तान्ने तथा वितरण गर्ने प्रणालीलाई थप व्यवस्थित बनाइएको कार्यालयले जनाएको छ । पम्प सञ्चालन र नियन्त्रणका लागि कम्प्युटर प्रणालीसमेत प्रयोगमा ल्याइएको छ । कन्ट्रोल रुमबाट कम्प्युटर प्रणालीमार्फत पम्प सञ्चालन तथा नियन्त्रण गर्न सकिन्छ । आवश्यक परेको अवस्थामा भने म्यानुअल प्रणालीबाट पनि पम्प सञ्चालन गर्न सकिने व्यवस्था रहेको चालिसेले जानकारी दिनुभयो ।














प्रतिक्रिया