काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूविरुद्ध उठेका आरोपबारे निष्पक्ष र गहिरो छानबिन गर्न माग गरेका छन्। अनुसन्धानका क्रममा आफू दोषी प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट हटाइए पनि स्वीकार गर्ने उनले बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले आफूमाथि लागेका आरोपको सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका हुन्। आफूबाट कुनै गलत कार्य भएको प्रमाणित भए कानुनअनुसारको जुनसुकै सजाय भोग्न तयार रहेको उनको भनाइ छ।
उनले आफूलाई आवश्यक परे सांसद र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्न सकिने उल्लेख गर्दै आफ्नो व्यक्तिगत गल्तीको जिम्मेवारी पार्टी र सरकारले लिनुपर्ने अवस्था नरहेको बताएका छन्।
सुनारले यस प्रकरणमा निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिँदै घटनासँग जोडिएकी महिलामाथि सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट भइरहेको प्रचारप्रति असन्तुष्टि जनाएका छन्। महिलाको तस्बिर, अडियो तथा भिडियो सार्वजनिक गर्दै विभिन्न प्रकारका टिप्पणी गर्नु र उनको व्यक्तिगत जीवनलाई विवादमा तान्नु उचित नभएको उनले बताएका छन्।
उनका अनुसार कुनै गल्ती वा गैरकानुनी काम भएको भए त्यसको छानबिन आफू केन्द्रित भएर प्रहरी तथा अदालतको कानुनी प्रक्रियामार्फत हुनुपर्छ। सम्बन्धित महिलालाई लक्षित गरी अनावश्यक टिप्पणी र आरोप लगाउने कार्य स्वीकार्य नहुने उनको धारणा छ।
सुनारले महिलामाथि भइरहेको अनावश्यक प्रचार र आक्रमण रोक्नुपर्नेमा जोड दिएका छन्। सम्बन्धित महिलाले आफू अन्यायमा परेको अवस्थामा कानुनी उपचार खोज्न सक्ने र आफ्नो जीवनबारे निर्णय गर्न सक्षम रहेको बताउँदाबताउँदै पनि उनलाई निरन्तर विवादमा तानिएको उनको दाबी छ।
आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन र कानुनी प्रक्रियाबाट हुने निर्णय स्वीकार गर्न तयार रहेको उल्लेख गर्दै सुनारले यस प्रकरणमा सम्बन्धित महिलाको व्यक्तिगत मर्यादा र अधिकारको समेत सम्मान गरिनुपर्ने बताएका छन्।














प्रतिक्रिया