काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा काठमाडौंमा सभा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८२र८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै, २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत एकीकृत वित्तीय विवरणसमेत छलफलपछि स्वीकृत गरेको छ।
सभाले बैंकको चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३।८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअनुसार बैंकले ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ ३४ पैसा बराबरको बोनस सेयर र ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ २३ पैसा नगद लाभांश वितरण गर्नेछ। दुवै जोड्दा कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ ५७ पैसा लाभांश वितरण हुनेछ।
बैंकले आर्थिक वर्ष २०६५र६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ। बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ। सभामा अध्यक्ष पाण्डेले शेयरधनीबाट प्राप्त सुझावअनुसार बैंकका गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थागत सुशासन र नियामकीय अनुपालनलाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा बैंकको समग्र कार्यसम्पादन थप सुदृढ बनाउने बताए।
सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।











प्रतिक्रिया