रौतहट ।
नेपाली सेनाले बडा दशैंको अवसरमा रौतहटको चन्द्रपुरको एक स्थानमा परम्परागत लिङ्गे पिङ निर्माण गरेर आपसी आत्मीयता बढाएको छ । परम्परागतरुपमा बडादशैको समयमा चल्दै आएको पिङ लोप हुदै गएको अवस्थामा जगेर्ना गर्ने उद्देश्यले श्री नारायणदल गणले चन्द्रपुर नगरपालिका–४ शान्ति टोलको एकता मैदानमा लिङ्गे पिङ निर्माण गरेको हो ।
नेपाली मौलिक परम्परा तथा लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पिङ निर्माण गरिएको नेपाली सेनाले जनाएको छ । एक दशक अघि सम्म शहरी र ग्रामिण भेगका गाउँ बस्तिका घरमा दसैँ सुरु हुनुभन्दा अघि देखिने पिङ समय बदलिएसंगै भएको आधुनिकताको प्रभाव र प्रविधिका कारण हराउँदै जान थालेपछि जोगाउन नेपाली सेनाले पिङ निर्माण गरेर दशैको रौनकता बढाएको छ । परम्परागत संस्कृतिको जगेर्ना गर्न र दसैँको मौलिक रौनक फर्काउन पिङ निर्माण गरिएको आयोजकले जनाएको छ ।
पिङ निर्माण भएपछि बस्तिका बासिन्दाले लिङ्गे पिङ खेलेर दशैको रौनकता बढाएका छन् । नेपाली सेनाले चन्द्रपुर–४ शान्ति टोलस्थित एकता मैदानमा बाँस, काठ र डोरीको प्रयोग गरी परम्परागत शैलीमा लिङ्गे पिङ तयार गरिएपछि स्थानीय वासीमा दसैँको उत्साह थपिएको छ । दसैँमा कम्तीमा एकपटक भए पनि भुइँ छाड्नुपर्छ भन्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहँदै आएको छ । नेपाली समाजमा दसैँ र पिङ एकअर्काका परिपूरक मानिन्छन् । पिङ खेल्नु मनोरञ्जन मात्र नभई सामाजिक एकता, आपसी सद्भाव र भाइचाराको प्रतीकको रुपमा लिने गरिन्छ ।
बालबालिका, युवादेखि वृद्धवृद्धासम्म एकै ठाउँमा भेला भएर पिङ खेल्दा समुदायमा आत्मीयता बढ्ने र नयाँ पुस्तालाई पुर्खादेखि चलिआएको संस्कृतिबारे जानकारी मिल्ने विश्वास लिइएको छ । सेनाले निर्माण गरेको लिङ्ग पिङ बाट स्थानीयवासीलाई चाडपर्वको उल्लास दिनुका साथै क्षेत्रमा आन्तरिक पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया