गण्डकी प्रदेशको अलपत्र क्रिकेट मैदानले उब्जाएको प्रश्न

0
Shares

पोखरा । गण्डकी प्रदेशको गौरवको योजना ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ निर्माणको योजना अलपत्र परेको छ । संघीयतापश्चात् प्रदेश सरकारले आफ्नै लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने गुरुयोजना बनाएको थियो । पोखरा महानगरपालिका वडा नम्बर ३३, भरतपोखरीस्थित पशुपतिघाटमा १ अर्ब ६३ करोड रुपैयाँको लगानीमा रंगशाला निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रदेश सरकारले तयार गरेको थियो ।


बीआरएस इन्जिनियरिङ सोलुसन प्रालिले १६ लाख रुपैयाँमा ४ महिनामा डीपीआर तयार गरेको १ सय २३ रोपनीमा १८ हजार दर्शक क्षमताको प्यारापिटसहितको अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने योजना अहिले अलपत्र परेको छ । नदीछेउको जग्गा भएको र सेती नदीले धार परिवर्तन गरी त्यहाँको आधा जग्गा नै बगाएपछि त्यहाँ नबनाउने पक्का भएको थियो । त्यसपछि तनहुँ शुक्लागण्डकी नगरपालिकास्थित गाउँफर्कोदय विद्यालयको जग्गामा मैदान बनाउने गरी योजना अघि बढेको थियो । तर, त्यहीँ रहेको क्रसरका कारण विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेपछि अहिले त्यहाँ पनि मैदान बनाउने काम अलपत्र परेको छ ।

गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल गण्डकी सरकारले योजना ल्याए पनि त्यो पूरा हुन नसकेको बताउँछन् । उनले योजना ल्याउने र प्रदेश सरकारले आफूले सबै गरेको सुनाउने र स्थानीय तहले सहयोग नगरेको बताउने गरेको जनाए । ‘गर्ने कसले हो ? सधैँ अन्योलको भुमरीमा क्रिकेटलाई राखेर हुन्छ ? हामीले यहाँ क्रिकेट रंगशाला बनाउन निकै प्रयत्न ग¥यौं तर सकेनौं । प्रदेश सरकारले नै बनाउने भनेको योजनासमेत अलपत्र परेको छ’ उनले भने, ‘प्रदेश र स्थानीय तहले जसरी चासो दिनुपर्ने हो त्यसरी नदिएकै कारण यो अवस्था आएको हो ।’

यस्तै तत्कालीन खेलकुद महाशाखा प्रमुख प्रकाश देवकोटाका अनुसार क्रिकेट मैदानका लागि निकै प्रयास भए पनि सबैभन्दा ठूलो समस्या नै जग्गा प्राप्तिको रहेको छ ।

‘पशुपतिघाट होस् वा गाउँफर्कोदय विद्यालयको जमिन नै किन नहोस्, योजना अलपत्र परिसकेको छ । यसमा सबैभन्दा समस्या जग्गा प्राप्तिमा देखिन्छ’, उनले भने, ‘पोखरामा सेती नदीको कटानले जग्गा बगाएपछि योजना पूरा भएन र शुक्लागण्डकी आएको थियो । यहाँ पनि क्रसरका कारण विवाद भएकाले काम अघि बढ्न सकेन ।’

यस्तै तनहुँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेका अनुसार स्थानीय खेलकुदका सरोकारवालासँग छलफल र समन्वय नगर्दा क्रिकेट मैदान अलपत्र परेको हो । तनहुँमा जग्गा भए पनि त्यसको व्यवस्थापनतर्फ ध्यान दिन नसक्दा अहिले समस्या आइरहेको छ । जहाँ क्रिकेट मैदान बनाउने योजना भएको थियो उक्त ठाउँमा नदीजन्य वस्तु आवश्यकभन्दा बढी निकाली बेचेको भन्दै अख्तियारसम्म मुद्दा परेका कारण समस्या परेको उनी सुनाउँछन् । ‘हामी पनि जानकार छैनौं । बारम्बार मन्त्रालयमा कुरा उठाएका छौं ।

पूर्वाधारका कुरा सामाजिक विकास मन्त्रालयमा जान्छ, हाम्रो सम्बन्ध हुँदैन । हामीलाई पनि सूचना गरेर थाहा हुन्छ’, उनले भने, ‘कम्तीमा पूर्वाधार खर्च गर्ने नभए पनि ११ जिल्लामै जग्गा कहाँ छ, कस्तो छ भन्ने अध्ययन भयो भने बरु आर्थिक सहयोग जुटाउने काममा हामी पनि लाग्ने थियौं ।’

नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटाले पोखराको क्रिकेट विकासका लागि पूर्वाधारमा ध्यान दिन आवश्यक रहेको सुनाए । ‘क्रिकेटका लागि पूर्वाधार आवश्यक छ । गण्डकी प्रदेशमा हामी चाहान्छौं– एउटा क्रिकेट रंगशाला बनोस्’, उनले भने, ‘हिजो यहीँबाट मैले ढुंगा र झाडु लगाएर क्रिकेट सिकाएको छु, यो मैदान अब त्यस्तो नहोस् । यहाँ पनि ठूला प्रतियोगिता होस् ।’ टमाटाकै पहलमा २०७६ सालमा भएको १३ औं साफ च्याम्पियनसिप अन्तर्गत महिला क्रिकेट पोखरा ल्याउन सम्भव भएको थियो ।

यस्तै गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले प्रदेश सरकारको सपना नै आफ्नै लगानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने रहेको सुनाउँदै केही बाधा–अड्चनका कारण अहिलेसम्म सफल नभएको सुनाइन् । ‘तनहुँमा जुन जग्गा छ, त्यसका लागि हामीले बजेट पनि विनियोजन गरेका छौं । यहाँ केही समस्याका कारण यो सफल हुन सकेन तर प्रदेश सरकार क्रिकेट खेलको विकासका लागि हिजोबाटै सकारात्मक छ’, उनले भनिन् ।

२०७७ सालमै बीआरएस सोलुसन इन्जिनियरिङले १६ लाखको लागतमा डीपीआर तयार गरेको थियो । प्रदेश सरकारले बहुबर्से योजनामा राखेर प्रत्येक वर्ष बजेट विनियोजन गर्दै संरचना बनाउने योजना बनाएको थियो । योजनाअनुसार टी–२०, एक दिवसीय र टेस्ट म्याच खेल्न मिल्ने गरी ७ वटा पिच बन्ने डीपीआरमा छ । १ सय २० भीभीआईपी सिट, १ हजार २ सय भीआईपी र स्पेसल सिट, ९ सयजना खेलाडी अट्ने कक्ष, १ सयजना अट्ने मिडिया कक्ष रंगशालामा हुनेछन् । ७० सवारी अट्ने भीआईपी पार्किङ, ४ सय क्षमताको गाडी पार्किङ र ६ सयवटा मोटरसाइकल अट्ने पार्किङ बनाइने डीपीआरमा उल्लेख छ ।