नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै


काठमाडौँ ।

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले आफ्नो शक्तिबाट ब्रह्माण्डको सृष्टि गरेकी हुन्। आठ हात भएकी अष्टभूजा देवीको वाहन सिंह रहेको छ।

देवीको पूजा आराधना गर्नाले आयु, यश, बल र आरोग्य वृद्धि हुने विश्वास गरिन्छ।यस दिन देवीलाई कुभिण्डोको बलि तथा मालपुवा प्रसाद चढाउने परम्परा रहेको छ। बिहानैदेखि देशभरका प्रमुख नवदुर्गा मन्दिर तथा शक्तिपीठहरूमा दर्शन र पूजाआजाका लागि भक्तजनहरूको भीड लागेको छ।