गुल्मी । गाउँबाट मानिसहरू शहरतर्फ बसाइँ सर्न थालेपछि वर्षौंदेखि बाँझिँदै गएको जमिन गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघाको थुक्का टोलमा फेरि हराभरा हुन थालेको छ । कुनै समय खेतीपाती नहुने र बाँझिँदैै गएको जमिनमा अहिले स्थानीय जातका केराका बोट लहरै देखिन थालेका छन् । बाँझो जमिनलाई सदुपयोग गर्दै स्थानीय कृषकले थालेको केराखेतीले गाउँमा हरियाली मात्र बढाएको छैन, कृषि पेसाप्रति स्थानीयको आकर्षणसमेत बढाएको छ । सेउघाको थुक्का टोलमा करिब ३२ वर्षदेखि बाँझिएको जमिनमा अहिले केराका बोटले हरियाली छाएको छ ।
गतवर्ष भगवती कृषि फर्मले करिब २० रोपनी बाँझो जग्गा भाडामा लिएर व्यावसायिक रूपमा केराखेती शुरु गरेपछि यस क्षेत्रमा लामो समयदेखि उपयोगविहीन रहेको जमिनले नयाँ स्वरूप पाएको हो । भगवती कृषि फर्मका सञ्चालक झवि पाण्डेका अनुसार केराखेती शुरु गर्दा पहिलो चरणमा स्थानीय जातका करिब ५ सय बोट लगाइएको थियो । त्यसबाट उत्साहजनक सम्भावना देखिएपछि अहिले केराका बोटको संख्या थपेर खेतीलाई विस्तार गरिएको छ । गतवर्षको फागुनमा रोपिएका केराका बोटले अहिले उत्पादन दिन थालेका छन् ।
लामो समय बाँझिएको जमिनमा लगाइएको केराले छोटो समयमै उत्पादन दिन थालेपछि पाण्डे उत्साहित छन् । उनका लागि यो केवल एउटा व्यावसायिक खेती मात्र होइन, गाउँमा बाँझिँदै गएको जमिनलाई पुनः उत्पादनसँग जोड्ने प्रयास पनि हो । पाण्डेले गाउँमा बाँझो रहेको जमिनलाई खेतीयोग्य बनाउँदै अन्य कृषकलाई पनि कृषि पेसामा आकर्षित गर्ने उद्देश्यले केराखेती विस्तार गरेको बताए । गाउँमा केही गर्न सकियो भने आफ्नै ठाउँमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न आफूले कृषि कर्मलाई निरन्तरता दिएको उनको भनाइ छ ।
व्यावसायिक प्रयास
सेउघामा स्थानीय जातको केरा घरघरमा उत्पादन हुँदै आए पनि ठूलो परिमाणमा व्यावसायिक उत्पादन भने पहिलोपटक विस्तार हुन थालेको हो । पाण्डेसँगै स्थानीय गोपाल पन्थी, सुमन पन्थी र हिमलाल पन्थीले पनि केराखेती गर्दै आएका छन् । गोपाल पन्थीले करिब ४ सय बोट, सुमन पन्थीले ४ सय बोट र हिमलाल पन्थीले २ सय ५० बोट केरा लगाएका छन् ।
उनीहरूले छुट्टाछुट्टै स्थानमा केराखेती गर्दै आएका छन् ।यी चार कृषकले थालेको व्यावसायिक केराखेतीले अन्य स्थानीयलाई समेत खेतीतर्फ आकर्षित गरेको छ । अहिले गाउँका विभिन्न घरमा समेत सय–डेढ सय बोटसम्म केरा लगाउन थालिएको छ । केराखेती विस्तार हुँदै जाँदा करिब १ सय ५० घरपरिवारले यसबाट आम्दानी लिन थालेका छन् । एकैपटक ठूलो क्षेत्रफलमा खेती गर्न नसक्ने परिवारले पनि आफ्नो घरबारी र उपलब्ध जमिनमा थोरै–थोरै बोट लगाएर उत्पादन गर्न थालेका छन् ।
यसले गाउँमा केराखेतीलाई क्रमशः आम्दानीको स्रोतका रूपमा स्थापित गर्दै लगेको कृषक गोपाल पन्थीले बताए । गाउँमा नगदे बालीका रुपमा छिटो उत्पादन दिने केरा भएकाले यसतर्फ धेरैको आकर्षण बन्दै गएको पन्थीले बताए ।
सडकछेउमै बिक्री
सेउघामा उत्पादन भएको स्थानीय जातको केरा अहिले तम्घास–छल्दी सडकअन्तर्गत रैदी क्षेत्रमा दैनिक बिक्रीका लागि राख्ने गरिएको छ । स्थानीय कृषकले आफूले उत्पादन गरेको केरा सडकछेउमै बिक्री गर्न थालेपछि बजारसम्म पु¥याउने झन्झट पनि केही कम भएको छ । स्थानीय स्तरबाट बोटमै केरा किनेरसमेत टेकलाल पन्थी, केशरबहादुर कुँवर, सुमन पन्थीले सडकछेउमा राखेर बिक्री गर्ने गरेका छन् । यसले उनीहरुलाई आम्दानीको स्रोतसमेत बढाएको छ ।
घरमै उत्पादन गरेको केरा बिक्री गरेर प्राप्त हुने आम्दानीले दैनिक घरखर्च चलाउन सहयोग पुगेको स्थानीय कृषकहरूको भनाइ छ । थोरै जमिनमा लगाएको केराले पनि नियमित रूपमा उत्पादन दिन थालेपछि कृषकहरू थप उत्साहित भएका छन् । स्थानीय जातको केराको माग बजारमा राम्रो रहेको कृषक टेकलाल पन्थीले बताए । स्वादिलो हुने भएकाले उपभोक्ताले स्थानीय जातको केरा रुचाउने र बजारमा मूल्यसमेत राम्रो पाउने गरेको उनीहरूको भनाइ छ ।
गाउँघरमा पहिलेदेखि नै घरायसी प्रयोजनका लागि केरा उत्पादन हुँदै आए पनि त्यसलाई व्यावसायिक उत्पादनसँग जोड्न नसक्दा ठूलो आर्थिक लाभ लिन सकिएको थिएन । अहिले भने सामूहिक रूपमा धेरै कृषकले खेती विस्तार गर्न थालेपछि स्थानीय केराले बजार पाउने सम्भावना बढेको छ ।
तरकारीबाट केरासम्म
भगवती कृषि फर्मका सञ्चालक झवि पाण्डेले कृषि क्षेत्रमा काम गर्न थालेको करिब ६ वर्ष भएको छ । उनले पाँच वर्षअघि फर्म दर्ता गरेर तरकारी खेती गर्दै आएका हुन् । तम्घासमा खाद्यान्नको थोक बिक्रीको व्यवसायसमेत गर्दै आएका पाण्डेले व्यवसायबाट बचेको समयलाई सदुपयोग गर्दै आफ्नै गाउँमा कृषि कर्मलाई अगाडि बढाउँदै आएका छन् । मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि उनले पछिल्लो समय केराखेतीलाई पनि विस्तार गरेका हुन् ।
तरकारी खेतीसँगै केराखेती विस्तार गर्ने उनको निर्णयले फर्मको कृषि गतिविधि थप फराकिलो बनेको छ । कृषिमा सम्भावना देखेपछि बाँझो जमिन भाडामा लिएर खेती विस्तार गरेको उनले बताए । उनले सञ्चालन गरेको कृषि फर्ममा स्थानीय केही व्यक्तिले रोजगारीसमेत पाएका छन् । आफ्नै गाउँमा केही गर्न सकियो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्यले कृषि क्षेत्रमा निरन्तर लागिरहेको पाण्डेको भनाइ छ । गाउँका युवा तथा अन्य कृषकलाई कृषि पेसामै टिकाइराख्न आफूले अगुवा कृषकको भूमिकामा काम गर्दै आएको उनले बताए । कृषिबाट आम्दानी लिन सकिने वातावरण निर्माण गर्न सके युवाहरूलाई रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता केही हदसम्म कम गर्न सकिने उनको विश्वास छ ।
गाउँमा जनशक्ति कम हुँदै जाँदा खेती गर्ने मानिसको अभाव, रोजगारीका लागि युवाको बाहिरिने क्रम र परम्परागत कृषि प्रणालीप्रतिको घट्दो आकर्षणका कारण धेरै जमिन उपयोगविहीन बन्दै गएको अवस्थामा सेउघाका कृषकले बाँझो जमिनलाई भाडामा लिएर केराखेती गर्नु कृषि क्षेत्रका लागि उदाहरणीय प्रयास बनेको छ ।
जिल्लाभित्रै केराको माग रहे पनि स्थानीय उत्पादनले बजारको माग धान्न सकेको छैन । अहिले सेउघामा वार्षिक १५ लाख बढीको केरा उत्पादन गर्ने लक्ष्यका साथ यहाँका कृषकहरु लागिपरेका छन् । बजारमा स्थानीय जातको केराको माग राम्रो रहेको अवस्थामा जिल्लाभित्रै यसको उत्पादन विस्तार गर्न सके बाहिरबाट आउने केरालाई केही हदसम्म प्रतिस्थापन गर्न सकिने सम्भावना रहेको कृषक गोपाल पन्थीले बताए । यसबाट स्थानीय कृषकको आम्दानी बढ्नुका साथै जिल्लाको पैसा बाहिर जानबाट रोक्नसमेत सहयोग पुग्न सक्छ ।
सेउघामा शुरु भएको केराखेतीले यही सम्भावनातर्फ संकेत गरेको छ । केही कृषकले थालेको प्रयास अहिले घरघरमा फैलिँदै गएको छ । २० रोपनी बाँझो जमिनबाट शुरु भएको व्यावसायिक प्रयासले गाउँका अन्य कृषकलाई समेत केराखेतीतर्फ आकर्षित गरेको छ । स्थानीय जातको केराको स्वाद र गुणस्तरका कारण उपभोक्ताको रोजाइमा पर्ने भएकाले यसको व्यावसायिक उत्पादनलाई व्यवस्थित गर्न सके कृषकले राम्रो लाभ लिन सक्ने सम्भावना छ ।
हरियालीसँगै रोजगारी र आम्दानी
सेउघाको थुक्का टोलमा अहिले केराका बोटले जमिनको स्वरूप नै परिवर्तन गरिदिएको छ । दशकौँसम्म बाँझो रहेको जमिनमा हरियाली देखिन थालेपछि स्थानीयमा समेत सकारात्मक सन्देश गएको छ । केराखेतीले जमिनलाई उत्पादनसँग जोड्नुका साथै स्थानीय स्तरमा रोजगारी र आम्दानीको अवसरसमेत सिर्जना गर्न थालेको छ । थोरै जमिनबाट शुरु भएको खेती घरघरमा विस्तार हुँदै जानुले कृषिप्रतिको स्थानीय आकर्षण बढेको देखिन्छ ।
वर्षौंदेखि बाँझिएको जमिनमा पलाएको केराको हरियालीले अहिले सेउघाका कृषकमा नयाँ आशा जगाएको छ । एउटा फर्मबाट शुरु भएको केराखेती विस्तार हुँदै घरघरमा पुग्न थालेपछि गाउँको बाँझो जमिन उत्पादनको आधार बन्ने अपेक्षा गरिएको छ । गुल्मीमा बाहिरबाट करोडौँ रुपैयाँको केरा भित्रिने अवस्थालाई स्थानीय उत्पादनले प्रतिस्थापन गर्ने हो भने यस्ता प्रयासलाई अझै विस्तार र व्यवस्थित गर्नुपर्ने देखिन्छ ।











प्रतिक्रिया