पुराना दलमा युवा पुस्ताको हस्तक्षेप जरुरी

0
Shares

झन्डै चार दशक लामो समयको आलोपालोको सत्ता समिरकणपछि पुराना राजनीतिक दलहरुको दशा खराब बन्दै गएको छ । लामो समयको सत्ताको भोग भोगेर रमाउँदै गरेकाहरुको यो पतनोन्मुख अवस्थाले आम कार्यकर्तालगायतका फाइदा लुट्न पल्केकाहरुको दुर्दशा शुरु भएको छ । साँच्चै भन्ने हो भने पुराना सर्वाधिक ठूला पार्टीको विशेषता धारण गरिसकेका राजनीतिक दलहरूलाई अबका दिनमा उठेर पूर्ववत् रुपमा ठडिनको लागि फलामकै चिउरा चपाउनुसरहको कठिन परिस्थिति सिर्जना भएको छ ।

यदि वर्तमान सरकारले पनि पुरानै राजनीतिक दलको जस्तै नीति अपनाएर ‘मिलेर खाऔँ भाले’को नीति अपनाएका भएचाहिँ पुराना दलको पनि पालो हराउने थिएन । तर वर्तमान सरकारले त्यसो नगरेर बरु विगतका भ्रष्टहरूलाई पाता कस्ने काम गरेको हुनाले आम नेपाली जनताका मनका कुरा केही मात्रमा भए पनि पूरा हुँदै छन् भन्ने लाग्नु स्वाभाविक नै हो । यसैले पनि अब पुराना राजनीतिक दलको काम देखिँदैन, नेपालको राजनीतिमा ।

स्थानीय चुनावको पूर्वसन्ध्यालाई लक्षित गरेर पुराना राजनीतिक दलहरूका महाअधिवेशन शुरु हुँदै छन् । महाअधिवेशनसँगै अबको सत्ताको बागडोर आ–आफ्ना हातमा आउने आशाका साथै नेपाली जनता र आम कार्यकर्तालाई सान्त्वना दिनको लागि अफबाह फैलाउँदै छन् । ‘अब त हामी साधु बिरालो बनेर आएका छौँ, अबका दिनमा हामीलाई विश्वास गरेर स्थानीय चुनावमा मतदान गरी जिताऊ, त्यसपछि हामी फेरि बलिया बनेर तिमी जनता र देश लुट्नको लागि विविध राजनीतिक दलहरूसँग विविध चरणमा सम्झौता गर्छौं र लुट्नको लागि तानाबाना मिलाउँछौँ’ भन्नेजस्ता आशय उनीहरूका मानसमा रहेका छन् ।

पुराना राजनीतिक दलहरू साँच्चै सुधारिएर देशको उन्नतिका लागि काम गर्ने कसम खाँदै छन् भने त्यहाँ नयाँ पुस्ताको प्रवेश जरुरी छ । यतिन्जेल ती दलका शीर्ष तहमा रहेर कमाउ धन्दाको च्यानल मिलाउने चरित्र बोकी आधा शताब्दी उमेर पार गरेकाहरुलाई पन्साएर भ्रष्टाचारी मानस नभएका तर राजनीतिमा चाख राख्ने युवावर्गले जबरजस्ती नभई रचनात्मक हस्तक्षेप गर्न जरुरी भइसकेको छ । पुराना राजनीतिक दलहरूप्रति आस्था र विश्वास राख्ने आजका आम युवावर्गमध्येका धेरैजसोको मानसमा भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउनुपर्छ भन्ने विचार रहेको पाइँदैन । यदि अबका दिनमा पनि पुरानै नेता र कार्यकर्ता हाबी भएर आ–आफ्ना राजनीतिक दलप्रति आस्था राख्ने युवावर्गलाई विगतमा जस्तै राजनीति भनेको कमाउ धन्दा हो भन्ने पाठ पढाउन खोज्नु त झन् महान् अपराध नै हुनेछ ।

रचनात्मक हस्तक्षेप भन्नाले आजको विज्ञान र प्रविधिको युगमा राजनीतिमा लागेका बूढा पुस्ताले भन्दा आजको युवा पुस्ताले अधिक मात्रमा दखल हासिल गरेका छन् । समग्र राजनीतिक गतिविधिहरूका हकमा भन्ने हो भने कार्यकर्तालाई आदेश दिने र काम लगाउनेबाहेक सबै काम प्रविधिको अधिकतम उपयोग गरेर पूरा गर्न सकिन्छ । तर प्रविधिसम्बन्धीको काम वा ज्ञान बूढा पुस्तामा अपवादबाहेकका शतप्रतिशत व्यक्तिमा भएको कमजोर पक्ष मान्नुपर्ने हुन्छ । त्यसकारणले गर्दा आजका युवापुस्तालाई राजनीतिक हस्तक्षेप गर्नको लागि बहुतै सजिलो हुनेछ । युवावर्गले सही हस्तक्षेप नगरेका वा गर्न नसकेका खण्डमा पुराना राजनीतिक दलको अस्तित्व क्रमशः धराशयी भएरै जाने कुरा निश्चितप्रायः रहेको छ ।

पुराना राजनीतिक दलहरू धराशयी हुँदै जानुमा धेरैजसो आन्तरिक कारणहरू नै जिम्मेवार छन् । पहिलो आन्तरिक कारण भनेको राजनीतिलाई पारदर्शी र स्वच्छ बनाउनुको साटो भ्रष्टाचार, आफन्तवाद, कृपावादजस्ता रोगहरूले राजनीतिक दलको घेरो अझै साँघुरो बनाउँदै लगेर मन नपरेकालाई शीर्ष तहबाटै बहिष्कारको नीति अख्तियार गर्नाले हो । राजनीतिक सिद्धान्तलाई सिरानी हालेर मनलाग्दी तन्त्र अपनाउने नीति पनि शीर्ष तहबाटै भएको गलत हर्कत हो ।

राजनीतिक दलमा आबद्ध भएका हरेक असन्तुष्ट स्वरलाई सही तरिकाले सम्बोधन गरेर सन्तुष्ट तुल्याउने प्रयासमा लाग्नुको साटो विभिन्न आरोप, प्रत्यारोप गरेर असन्तुष्ट पक्षलाई अझै खुइल्याउने सबैभन्दा घातक प्रवृत्ति हो, जुन प्रवृत्ति पुराना ठानिएका पार्टीहरूका सुन्दर गहना बन्न पुगे । सिद्धान्तको तुलनामा पैसा हाबी हुँदै जानाले त्यही विन्दुबाट राजनीतिक प्रदूषण बढ्दै जान थालेको कुरा कसैलाई धमिलो पानीमा माछा मार्ने अवसर बन्यो भने विदेशीको चाहना पनि पूरा भयो ।

शीर्ष नेताले आफू आदर्श नेता वा राजनेताको रुपमा स्थापित हुन सकेर आफूजस्तै योग्य नेता (आफ्नो योग्य उत्तराधिकारी) उत्पादन गनुपर्ने भए पनि अरु कसैलाई एक कदम पनि ढिम्किन नदिएर आफैँ हाबी भइरहनुपर्छ भन्ने साँघुरो विचारको र सो अनुसारको व्यवहारको सिकार बन्न कैयौँ इमानदार कार्यकर्तासमेत विवश भए । यसरी पुरानो राजनीतिक दलभित्र सफाइको प्रयासभन्दा पनि एकपछि अर्को राजनीतिक विकृति अर्थात् फोहोरको थुप्रो लाग्दै जान थाल्यो ।

राजनीतिक नेतृत्वको आडमा कमाउ धन्दा फस्टाउँदै जान थालेपछिको चरम विन्दुमा पुग्दै गर्दाको बेला त्यो फोहोरबाट निस्कन थालेको दुर्गन्धले सबैको नाकलाई असर नपारी छोडेन । मान्छेको स्वभाव वा बानी कस्तो हुन्छ भने, जब कुनै गन्हाउने वस्तुको दुर्गन्ध फैलिएर असर गर्न थाल्छ तब त्यो वस्तु पत्ता लगाएर त्यसलाई दुर्गन्ध हट्ने गरी व्यवस्थापन गर्न खोज्ने बानी नै सही बानी हो । जसको फलस्वरुप भदौ १०, २०८२ सालको जेन्जी आन्दोलन र त्यसपछिका दिनमा ती फोहोरका अनन्त कन्टेनर खोजेर भए पनि तिनलाई सफा गरी आमूल परिवर्तनको बाटोमा दृढताका साथ अगाडि बढाउँदै लैजान लागेको छ ।

पुराना र पतनोन्मुख दिशातिर धकेलिँदै गरेका राजनीतिक दलभित्र तिनै बूढा वा पुराना पुस्ताका जो आएर गफ ठोके पनि पूर्वको स्वर्णकालतिरको लाइनमा उभ्याउन सक्ने क्षमता राख्ने छैनन भनेर ग्यारेन्टीका साथ भन्न सकिन्छ । पूर्वनेतृत्वको तुलनामा आफूले उन्नाइसको तुलनामा बीस पु¥याएको सम्मको फेहरिस्त लगाउने कुरासम्म सत्य होला तर विगतको त्यो विश्वास, आशा, भरोसाजस्ता विश्वास जित्न सक्ने आधारहरू खडा गर्न नै उनीहरू सक्षम बन्ने छैनन् ।

आजका दिनमा हामी तीन करोड नेपालीजन विभिन्न राजनीतिक विश्वासका धरातलमा टेक्दै गर्दा तिनले अरु राजनीतिक दलका तुलनामा बलियो, पारदर्शी, स्वच्छ वा सेवाले भरिएको भावना बोकेको समुन्नत राजनीतिक दल स्थापनार्थ कति निःस्वार्थ सेवाको भावना र तिनबाट सिर्जित कर्मले कहाँनेर तादात्म्य पाउने हुन् ? भन्ने कुरा नै चासोको विषय बन्नुपर्ने हुन्छ । पुराना राजनीतिक दलभित्र त्यस्तो युवावर्गको आगमन होस् कि जसलाई ती राजनीतिक दललाई स्वच्छ, पारदर्शी, आम कार्यकर्ताको गुनासो सुन्ने र त्यसलाई सम्बोधन गरेर असन्तुष्टि हटाउने काममा सघाउ पु¥याउने अवसर प्राप्त होस् । विगतको ती राजनीतिक दलहरूको इतिहास हेर्दा ती विशुद्ध राजनीतिक दल मात्र नभएर कालोबजारी अपनाउने व्यापारी हुन् । मान्छे बेचेर पैसा कमाउनेजस्ता आपराधिक मनोदशाले ग्रस्त भएका केही मान्छेहरूको जत्था मात्रै बनेका छन् । त्यति मात्र होइन कि अब आउँदा कालखण्डमा पनि तिनले सोही तरिका अवलम्बन गर्ने र देश लुट्ने धुनमै रहेका जस्तो प्रतीत हुन्छ ।

पुरानो राजनीतिक दल नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारीको आगमनले एमाले पार्टीको कुनै कुनाको उन्नति होला भन्ने कुरा सोच्न पनि सकिँदैन । किनभने उनी पनि केपी शर्मा ओलीकै थोरै भए पनि शिष्य हुन् । गुरु ओलीले गरेका अहितकारक कामको विरोध गरेर वा विद्रोह गरेर एमाले पार्टीलाई नयाँ र लोकप्रिय बनाउने शिराबाट उनले लैजान सक्लिन् भनेर पत्याउन सकिँदैन । बरु भण्डारीको स्थानमा एउटा असन्तुष्ट युवाले ओगटेर विद्रोह गर्न सक्ला कि भन्ने आशा राख्न सकिने थियो । यस्तै नेपाली काङग्रेस पार्टीभित्र पनि शेरबहादुरको स्थानमा गगन आएका होलान तर शेरबहादुरकै शिष्य गगनले पार्टीलाई साँच्चै विश्वास गर्नलायकको बनाएर लैजान सक्ने ह्याउ अवश्य छैन । उनी पनि पार्टीमा आबद्ध भएका युवाको आवाज सुन्ने र वर्तमानको परिस्थितिलाई आँकलन गरेर पार्टी हाँक्न सक्ने अवस्थामा छैनन् ।

किनभने उनका आम कार्यकर्ता त पैसामुखी भइसकेका छन् । कार्यकर्ताको त्यो बानी उनी आफैँले बसाएका हुन् । तर आफ्नै विचारबाट उत्प्रेरित भएर आबद्ध भएकोले भने धोका दिँदैन । ती पुराना राजनीतिक दलका शीर्ष नेताकै सोच पैसा भएपछि सबैथोक गर्न सकिन्छ भन्ने रहेको छ । जेन्जी आन्दोलनबाट केही पाठ सिके होला भनौँ भने पनि तत्कालै वा जेन्जी आन्दोलनको केही दिन वा एक महिनासम्म त केही मात्र चेत फिरेको हो कि जस्तो लाग्थ्यो तर एक महिना बित्न नपाउँदै उनीहरू पुनः पुरानै सोचमा फर्किन थाले । किनभने धेरै वर्षदेखि उनीहरूको मानसमा त्यही सोच बलियो हुँदै आएको छ । त्यसलाई चाहेर पनि उनीहरूले निमिट्यान्न हुने गरी मेटाउन र नयाँ विचार सिर्जना गर्न सक्दैनन् ।

नेपाली जनता र नेपालको भलाइको हकमा भन्ने हो भने पुराना राजनीतिक दलहरू चाँडै उठेर, किचलो मच्चाएर राजनीतिलाई अस्थिर बनाउने प्रयास गर्नुभन्दा अबका केही दशक उठ्नै नसकेर थला परी बसेकै राम्रो हुन्छ । त्यसरी बस्दा उनीहरूमा नयाँ चेत पनि पलाउन सक्छ कि भन्ने आशा गर्न सकिन्छ । नयाँ चेत नपलाए पनि कम्तीमा भ्रष्टाचारबाट मुक्त भएको शासन व्यवस्था स्थापित भएर केही मात्रामा भए पनि फल्न र फुल्न थालेपछि मात्रै पुराना राजनीतिक दल उठे भने स्थापित भइसकेका मूल्य र मान्यतालाई हटाएर मनपर्दी गर्ने अवसर यिनलाई कदापि मिल्ने छैन ।

हुन त यिनले त्यस्ता क्रान्तिकारी युवालाई राजनीतिक दलमा प्रवेशको अवसर नै दिने छैनन् । प्रवेशको अवसर दिए पनि परिवर्तन ल्याउने गरी काम गर्ने मौका नदिएर पनि आजको अवस्थाबाट उठ्न अझै विलम्ब हुनेछ । अहिले आएर यिनले नयाँ नियमको फेहरिस्त फलाक्दै गरेको सुनिन्छ । जसका अनुसार पार्टी अध्यक्षले अनुमति दिएपछि मात्रै कसैले पनि बोल्न पाइने भन्नेजस्ता राणा शासकीय शैलीका नियम लादेर पनि युवा प्रवेश अनि पार्टीको क्रान्तिकारी परिवर्तनलाई अगाडि बढ्न दिने छाँट देखिँदैन ।