केवाइसी अपडेटको बहानामा ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

0
Shares

रौतहट ।

बैंक तथा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता र डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्‍याएर रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाको बैगनिया घर भई गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, सोही स्थानमा बस्ने २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्।

उनीहरूलेअनधिकृत पहुँच पुर्‍याएर बैंकबाट सर्वसाधारणको करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोप रहेको छ । पक्राउ परेका व्यक्तिहरूको साथ बाट प्रहरीले एक लाख ६२ हजार २१० नेपाली रुपैयाँ र तीन हजार २३६ भारतीय रुपैयाँ बरामद गर्नुका साथै सात थान मोबाइल, ११ थान सिमकार्ड, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरिएका ३० थान भौचर, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, एक थान पेनड्राइभ र दुई थान मेमोरी कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार गौरमा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार गत असोज २३ गते गौर नगरपालिका–३ पोखरिया टोल र वडा नं. ५ कोइरी टोलवाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार बैंक तथा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता र डिजिटल वालेटको अनलाइन ठगीसम्बन्धी २२ वटा उजुरी प्राप्त भएका छन्। प्रहरी उपरीक्षक रिजालका अनुसार ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको छ।

ठगीको कुल रकम र अन्य संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आरोपितहरूले समूह बनाइ विभिन्न मोबाइल नम्बरमा सम्पर्क गरी सम्बन्धित व्यक्तिले मोबाइल बैंकिङ प्रयोग गर्ने गरेको जानकारी लिने र त्यसपछि आफू बैंक वा ई–सेवाको कर्मचारी भएको भन्दै केवाइसी अपडेट गर्नुपर्ने बहाना बनाएर सर्वसाधारण ठगी गरेको हो। फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गरी भिडियो कल गर्ने, मोबाइलको स्क्रिन शेयर गर्न लगाउने र गुगल फारम भर्न लगाएर बैंकिङ विवरण प्राप्त गरी रकम निकालेर ठगी गरेको प्रहरीको भनाइ छ।

सर्वसाधारणको बैंक खाताको विवरण प्रयोग गरी पीडितको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्‍याएर रकम आफन्त वा अन्य व्यक्तिका बैंक खाता र क्युआर कोडमार्फत उनीहरूले रकम स्थानान्तरण गर्ने गरेको आरोपमा पक्राउ गरिएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिनुभयो। प्रहरीले ठगीको रकमको हिसाबकिताब, खातावालालाई फोन गर्दा प्रयोग गरिने संवाद तथा मोबाइलको स्क्रिन शेयर गराउने तरिकाबारे लेखिएका डायरी र कापीसमेत नियन्त्रणमा लिएको छ।

प्रभु बैंकको १६ हजार रुपैयाँको एक थान चेक, ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको एक थान चेक तथा विभिन्न बैंकिङ विवरण उल्लेख गरिएका कागजात पनि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न मुख्य योजनाकार तथा अन्य व्यक्तिहरूको पहिचान भइसकेकोले चाँडै उनीहरू लाई पक्राउ गरिने छ। छ।