काठमाडौँ ।
बूढीगण्डकी नदीमा आएको भीषण बाढीको वास्तविक कारण पहिल्याउन सरकारले ३ जना भूगर्भविद्को टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ । बाढीको उद्गमस्थल अझै अस्पष्ट रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खटाएको उक्त टोलीले स्थलगत अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार गत भदौ १० गते रसुवा–भोटेकोशीमा तिब्बत क्षेत्रको हिमनदी खसेर आएको बाढी र अहिलेको बूढीगण्डकी बाढीको प्रकृति उस्तै देखिएको छ । भोटेकोशीमा ठूलो मानवीय क्षति भए पनि बूढीगण्डकीमा समयमै पूर्वसूचना दिइएकाले हालसम्म मानवीय क्षतिको खबर आएको छैन, यद्यपि भौतिक पूर्वाधारमा भने ठूलो क्षति पुगेको छ ।
नेपाली सेनाको श्री नम्बर ३ बाहिनी अड्डालाई बिहान ५ः५५ बजे बूढीगण्डकी नदी थुनिएको प्रारम्भिक सूचना प्राप्त भएको थियो । लगत्तै गोरखास्थित रुद्रध्वज गणको सुरक्षा पोष्ट बाङ्गसिङ्गबाट बिहान ६ः१५ बजे खटिएको रेकी टोलीले चुमनुव्री गाउँपालिका–३ फिलिममा सुक्खा पहिरो गएको यकिन गरेको थियो । टोलीले समयमै तटीय क्षेत्रका बासिन्दालाई खबर गरेपछि ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै बूढीगण्डकी बाढीपछि हवाई तथा स्थलमार्गबाट सेनाको फौज खटाइएको र जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको बताउनुभएको छ । साथै, काठमाडौँबाट ‘कम्पोजिट क्विक रिएक्सन टिम’ समेत हवाई साधनमार्फत उक्त क्षेत्रमा तैनाथ गरिएको छ ।
सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार खोज तथा उद्धारमा ४ वटा हेलिकोप्टर र पैदल सैनिक टोली परिचालन गरी हालसम्म ९ जना विदेशीसहित ८४ जनाको सकुशल उद्धार गरिएको छ ।
विपद्लगत्तै सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन राहत सामग्री र उद्धार टोली पु¥याएको छ । प्राधिकरणले साँझ जारी गरेको सूचना अनुसार प्रभावित क्षेत्रमा ५० थान टेन्ट, ५० त्रिपाल, २०० म्याट्रेस, २०० कम्बल, २०० स्लिपिङब्याग, १०० सोलार लाइट, १० जेनेरेटर, १,३२० ज्याकेट, २० हाइजिन किट, फुड बास्केट, १० बेबी बास्केट र २० रासन ब्याग पठाइसकिएको छ । स्थानीय प्रशासनलाई आवश्यकता अनुसार थप सामग्री उपलब्ध गराउन निर्देशनसमेत दिइएको छ ।
यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत प्रदेश तथा स्थानीय तहसँग समन्वय गरी आवश्यक आकस्मिक उपचार तथा स्वास्थ्य सहायता निरन्तर अनुगमन र सुनिश्चित गरिरहेको छ ।











प्रतिक्रिया