सरकारको ६ महिना : परिवर्तनको रक्षा र नयाँ युगको जिम्मेवारी

0
Shares

वि.सं. २०८२ चैत्र १३ गते बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । नेपालको राजनीतिक इतिहासमा कल्पना नै नगरिएको जेन्जी आन्दोलन भएको पनि १३ महिना भएको छ । जेन्जी आन्दोलनपछि नयाँ सरकार बनेको यो अवधि समयका हिसाबले लामो होइन, तर राजनीतिक परिवर्तन र जनताको मनोविज्ञानका हिसाबले निकै महत्वपूर्ण रहेको छ । यो अवधिले नेपाली राजनीतिमा एउटा स्पष्ट सन्देश दिएको छ– अब पुरानै शैली, पुरानै सोच र पुरानै नेतृत्वको भरमा राजनीति चल्न सक्दैन । सयमले हरेक कुरामा डिजिटल युग रोजिसकेको छ ।

लामो समयदेखि स्थापित भनिएका वा ऐतिहासिक योगदान पु¥याएका राजनीतिक दलहरू आज जनताको दृष्टिकोणबाट विश्वासको संकटमा परेका छन् । उनीहरूको राजनीतिक प्रभाव क्रमशः कमजोर बन्दै गएको छ भने नयाँ राजनीतिक शक्तिहरूले अर्थपूर्ण उपस्थिति देखाउन थालेका छन् । पुराना विचार र राजनीतिक संस्कारप्रति असन्तुष्टि बढिरहेका बेला नयाँ पुस्ता र युवाहरूले राज्य सञ्चालनको जिम्मेवारी पाएका छन् । जुन उमेर समूहका मानिसहरूलाई हिजोका शासकहरुले राजनीतिमा खासै स्थान दिँदैनथे, आज त्यही पुस्ताका प्रतिनिधिहरूले सरकार सञ्चालन गरिरहेका छन् । यसलाई सामान्य नेतृत्व परिवर्तनको रुपमा मात्र होइन, यसलाई नेपाली समाजको बदलिँदो राजनीतिक चेतना, आकांक्षा र अपेक्षाको अभिव्यक्तिको रुपमा समेत लिनुपर्ने हुन्छ ।

अझै भन्नुपर्दा, हिजोसम्म आफूलाई राजनीतिका ठेकेदार ठान्नेहरू आज राजनीतिको मूलधारबाट किनारामा पुगेका छन् । यद्यपि उनीहरू अझै पनि पुरानै भाषामा नयाँ परिस्थितिको व्याख्या गर्ने प्रयास गरिरहेका छन् । उनीहरु आफूभित्रकै नयाँ आवाजलाई पनि सुन्न तयार भइरहेका देखिँदैनन् । गगनजस्ता ५० हाराहारीका निर्वाचित नेतृत्वलाई समेत स्वीकार्न चाहिरहेका छैनन् । तर समय बदलिइसकेको छ । जनताको चेतना बदलिएको छ । सूचना र प्रविधिको विस्तारले नागरिकलाई पहिलेभन्दा धेरै सचेत र प्रश्न गर्न सक्ने बनाएको छ । अब नेताले भाषण गरेर मात्र जनतालाई प्रभावित पार्ने अवस्था छैन । जनताले काम खोजिरहेका छन्, परिणाम खोजिरहेका छन् र आफ्नो जीवनमा परिवर्तनको अनुभूति गर्न चाहिरहेका छन् ।

बालेन नेतृत्वको सरकार गठन भएपछि जनताले सरकारबाट ठूलो अपेक्षा राखेका छन् । परिवर्तनको लामो प्रतीक्षापछि आएको सरकार भएका कारणले होला, यो सरकारप्रतिको भरोसा सामान्य सरकारप्रतिको भन्दा फरक देखिएको छ । यसकारण यो सरकारलाई बहाना बनाउने कुनै सुविधा छैन । यो सरकार हिजोका सरकारहरुले गर्ने बहानालाई चिरेर जन्मिएको शक्ति हो । अतः यो सरकारलाई अघिल्ला सरकारहरुलाई दोष दिएर लामो समय बिताउने छुट पनि छैन । जनताले विगतको हिसाब खोजिरहेका छन्, तर त्यसभन्दा बढी उनीहरू आफ्नो भविष्य रोजिरहेका छन् । आज सरकारले जनताका व्यक्त र अव्यक्त दुवै भावनालाई बुझ्न सक्नुपर्छ । जनताले देखिने समस्या मात्र होइन, लामो समयदेखि मनमा बोकेर हिँडेको निराशा, अपमान र असमानताको अनुभूतिलाई पनि सम्बोधन गर्न सक्नुपर्दछ ।

नेपालमा अझै अवसर र पहुँचको वितरणमा ठूलो असमानता छ । राज्यका स्रोत र अवसर सीमित व्यक्तिहरूको वरिपरि केन्द्रित छ । त्यसैले युवा सरकारले सबै नागरिकले समान अवसर पाउने गरी कार्य गर्न सक्नुपर्दछ । वर्ग, क्षेत्र, पहुँच, राजनीतिक सम्बन्ध वा व्यक्तिगत चिनजानका आधारमा होइन, योग्यता र आवश्यकताका आधारमा अवसर पाउने प्रणाली स्थापित गरिनुपर्दछ । यसतर्फ सरकार अघि बढिरहेको छ वा छैन भन्ने कुरा सम्बन्धित पक्षलाई नै जिम्मा दिऊँ । सरकारले युवालाई मात्र नागरिक देख्ने, प्रौढलाई बोझ ठान्नेजस्तो व्यवहार ग¥यो भने नयाँ फर्निचरमा पनि धमिरो लाग्न बेर लाग्दैन । गम्भीर भएर बुझ्नु आवश्यक छ ।

निर्वाचनअघि रास्वपाले जनतासामु गरेका प्रतिबद्धताहरू अब परीक्षणको चरणमा छन् । चुनावका बेला गरिएका बाचा र सरकार सञ्चालन गर्दा गरिने व्यवहारबीच अन्तर देखियो भने जनताको भरोसा टुट्नेछ । जनताले नयाँ राजनीतिक शक्तिलाई केवल नयाँ अनुहारका कारण समर्थन गरेका होइनन् । उनीहरूले नयाँ सोच, नयाँ संस्कार र नयाँ परिणामको अपेक्षा गरेका हुन् । त्यसैले सरकारका लागि सबैभन्दा ठूलो चुनौती आफ्नै प्रतिबद्धतालाई व्यवहारमा उतार्नुमा छ ।

सानो प्रतिबद्धतालाई नै हेरौं, विदेशमा गएका नेपालीलाई स्वदेश फर्काउने नीति आफैँमा सकारात्मक हो । तर विदेश गएका नागरिकलाई फर्कन आग्रह गर्नुअघि आज स्वदेशमै रहेका युवालाई विदेश जान नपर्ने वातावरण सिर्जना गर्नु अझ आवश्यक छ । रोजगारी, उद्यम, लगानी, उत्पादन र सम्मानजनक जीवनको अवसर नेपालमै उपलब्ध गराउन सकियो भने मात्र स्वदेश फर्काउने अभियान सार्थक हुनेछ । युवा विदेश जानु उसको रहर मात्र होइन, देशभित्र अवसर नदेख्नुको परिणाम पनि हो । त्यसैले यो सरकारले युवालाई ‘विदेश नजाऊ’ भनेर आग्रह गर्ने मात्र होइन, ‘नेपालमै बस्दा भविष्य सुरक्षित छ’ भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।

जेन्जी आन्दोलन र यो सरकार जन्मनुको मुख्य कारक भ्रष्टाचारविरुद्धको सशक्त आवाज थियो । तसर्थ भ्रष्टाचारका विरुद्ध सरकार निर्मम छ भन्ने विश्वास जनतामा जगाउन सक्नु सरकारको अर्को ठूलो दायित्व बनेको छ । विगतमा भएका भ्रष्टाचारका घटनाको अनुसन्धान र दोषीमाथि कारबाही त आवश्यक छ नै, तर विगतको भ्रष्टाचारको फोहोर सफा गर्नु मात्र पर्याप्त हुँदैन । आज र अबउप्रान्त मुलुकमा कसैले कुनै पनि प्रकारको भ्रष्टाचार गर्नेछैन भन्ने विश्वास जगाउनु आवश्यक छ ।

तसर्थ सर्वप्रथम यो सरकार र भ्रष्टाचारको कुनै साइनो छैन भनेर सन्देश दिन सक्नुपर्दछ । पहिलो पाइलोको रुपमा, सरकारी कार्यालयमा सामान्य सेवा लिन जाने नागरिकले घुस नदिई काम हुन्छ भन्ने अनुभूति गर्न थालेको दिन भ्रष्टाचारविरुद्धको अभियान सफल भएको मान्न सकिन्छ । भ्रष्टाचार नियन्त्रण केवल ठूला काण्डको अनुसन्धानमा मात्र सीमित हुनु हुँदैन । सानो तहदेखि माथिल्लो तहसम्म पारदर्शिता, जवाफदेहिता र कानुनको समान प्रयोग हुनुपर्छ । यसको लागि न्यायपालिकाको पनि सहयोग अपरिहार्य छ । यस्ता मुद्दामा वर्षौं बिताउने अभ्यासले नागरिकमा अर्कै आशंका जन्मने गरेको तथ्यलाई पनि विश्लेषण गर्नु आवश्यक छ । कानुन सबैका लागि समान हो भन्ने अनुभूति नागरिकले गर्न सके मात्र राज्यप्रति वास्तविक विश्वास निर्माण हुन्छ ।

पक्कै पनि जेन्जी आन्दोलनपछि राजनीतिक अनुहारमा ठूलो परिवर्तन भएको छ । तर अहिले पनि एउटा महत्वपूर्ण प्रश्न बाँकी छ– के जनताले आफ्नो दैनिक जीवनमा परिवर्तनको अनुभूति गर्न थालेका छन् त ? युवा नेतृत्वको सरकारप्रति मानिसमा केही आशा र भरोसा बढेको छ भने केही क्षेत्रमा अझै गहिरो सन्देह रहेको देखिन्छ । पहिलो तथ्य लगानीकर्तामा आज पनि आत्मविश्वास जाग्न सकेको छैन । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएर बसेको अवस्थामा पनि निजी क्षेत्रले ऋण लिएर लगानी गर्न अझै डराइरहेका छन् ।

राजनीतिक स्थिरता आर्थिक विकासको पूर्वसर्त हो भनिन्छ तर नेतृत्व परिवर्तन मात्र पर्याप्त हुँदो रहेनछ । लगानीको सुरक्षा, नीतिगत स्थिरता, प्रशासनिक सहजता र व्यवसायमैत्री वातावरण आवश्यक पर्ने रहेछ । सरकार यी विषयहरुमा शुरुकै दिनदेखि गम्भीर देखिए पनि उसले अझै विश्वास दिलाउन सकिरहेको देखिँदैन । देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले निजी क्षेत्रलाई शंकाको दृष्टिले होइन, विकासको साझेदारका रूपमा हेर्नुपर्दछ ।

परिवर्तनको वास्तविक अर्थ त्यति बेला मात्र देखिन्छ, जब युवाले रोजगारी पाउँछन्, व्यवसायीले लगानी गर्ने आँट गर्छन्, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँछन् र सामान्य नागरिकले आफ्नो भविष्यप्रति आशावादी बन्न सक्छन् । नेपाल नयाँ युगमा प्रवेश गरेको छ । नयाँ र गैरपरम्परागत राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूले शासन सञ्चालन गर्ने अवसर पाएका छन् । तर यो उनीहरूको अवसर मात्र होइन, निर्वाह गर्नुपर्ने ठूलो जिम्मेवारी पनि हो ।

उनीहरू सफल भए भने मात्र नयाँ पुस्ताप्रतिको विश्वास बलियो हुनेछ । उनीहरु असफल भए भने परिवर्तनप्रतिको जनविश्वास नै कमजोर हुन सक्छ । त्यसैले यो सरकारलाई सफल बनाउने जिम्मेवारी सबैको हो । यसको अर्थ सरकारका गलत कामको आलोचना गर्नुहुँदैन भन्ने होइन । लोकतन्त्रमा सरकारको आलोचना आवश्यक छ । तर आलोचना र विरोधबीचको अन्तर बुझ्नुपर्दछ । सरकारलाई सही बाटोमा ल्याउन गरिने रचनात्मक आलोचना लोकतन्त्रको शक्ति हो तर केवल सरकार असफल होस् भन्ने उद्देश्यले गरिने खुट्टा तानातानको राजनीति लोकतन्त्रकै धमिरा हो ।

आज नेपालले राजनीतिक चुनौतीसँगै प्राकृतिक संकटको पनि सामना गरिरहेको छ । भोटेकोसीमा आएको बाढीले अकल्पनीय मानवीय र आर्थिक क्षति पु¥याएको छ । यस्ता विपत्तिको समयमा आपसी आरोप–प्रत्यारोपभन्दा माथि उठेर राष्ट्रिय एकता र सहकार्य बढाउनु आवश्यक हुन्छ । प्रधानमन्त्री राष्ट्रसंघमा हाम्रा संकटका विषयमा गम्भीर ध्यानाकर्षण गराउन सफल भएका छन् । प्राकृतिक विपत्ति, जलवायु परिवर्तन र कमजोर पूर्वाधारका कारण नेपालले भविष्यमा अझ ठूला चुनौतीहरुको सामना गर्नुपर्ने हुन सक्छ । त्यसैले राजनीतिक दलहरूबीच मात्र होइन, सरकार, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकबीच समेत सहकार्यको संस्कार विकास हुनुपर्छ ।

मुलुक नयाँ युगमा प्रवेश गरिसकेको अवस्थामा पुरानो विचार र पुरानो राजनीतिक मानसिकताले अब स्थान पाउन सक्दैन । यसको अर्थ पुराना राजनीतिक दलहरू समाप्त हुनुपर्छ भन्ने होइन । उनीहरूले आफूलाई समयानुकूल परिवर्तन गर्न सक्नुपर्दछ । पुराना दलहरूसँग अझै पनि ठूलो संगठन, अनुभव र राजनीतिक इतिहास छ । तर उनीहरूले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन, नयाँ विचार स्वीकार गर्न र आफ्नो कार्यशैली परिवर्तन गर्न सकेनन् भने इतिहासमा उनीहरूको स्थान क्रमशः सीमित हुँदै जानेछ । फेरि उही पुरानो डम्फु बजाइरहने र नयाँ पुस्तालाई असफल बनाउनमा मात्र केन्द्रित भइरहने राजनीति अब टिक्नेवाला छैन । आज आत्मावोध हुनै पर्छ कि, नयाँ नेतृत्व असफल हुँदा केवल एउटा सरकार मात्र असफल हुँदैन, परिवर्तनप्रतिको जनताको विश्वाससमेत कमजोर हुनेछ । अर्थात्, नयाँ युग र युवा नेतृत्वलाई असफल बनाउनु भनेको नेपालको दीर्घकालीन भविष्यलाई समेत अनिश्चित बनाउनु हो ।

आजको आवश्यकता सरकारलाई अन्धसमर्थन गर्नु होइन, सही काममा सहयोग र गलत काममा खबरदारी गर्नु हो । अब राजनीतिक दलहरू संकीर्ण दलीय स्वार्थभन्दा माथि उठ्न सक्नुपर्दछ । नागरिक समाजले पनि आफ्नो प्रभावकारी जिम्मेवारी निर्वाह गर्नुपर्दछ । सञ्चारमाध्यमले तथ्यमा आधारित भएर सरकारको मूल्यांकन गर्नुपर्छ र नागरिकले पनि जिम्मेवार ढंगले आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ । अर्थात् हामीले परिवर्तनको माग ग¥यौं । परिवर्तन आयो । अब त्यो परिवर्तनलाई संस्थागत गर्ने जिम्मेवारी पनि हाम्रै हो ।

अब प्रश्न केवल ‘सरकार कसको हो ?’ भन्ने होइन । प्रश्न ‘यो सरकारमार्फत कस्तो नेपाल निर्माण गर्ने ?’ भन्ने हो । नेपाललाई असफल हुनबाट जोगाउन सबैले राजनीतिक परिपक्वता देखाउनु आवश्यक छ । जेन्जी आन्दोलनले एउटा ढोका खोलेको छ । त्यो ढोकाबाट नेपाल नयाँ युगमा प्रवेश गरेको छ । अब त्यस युगलाई सफल बनाउने जिम्मेवारी सरकारको मात्र होइन– राजनीतिक दल, युवा पुस्ता, नागरिक समाज, निजी क्षेत्र र प्रत्येक नेपाली नागरिकको हो । त्यसैले अब गाली होइन, जिम्मेवारी रोजौं । खुट्टा तान्ने होइन, सही बाटो देखाऔँ । सङ्कीर्ण दलीय स्वार्थभन्दा माथि उठौँ । परिवर्तनको सम्मान गरौँ । सरकारका सकारात्मक काममा सहयोग गरौँ र गलत काममा खबरदारी गरौँ । सचेत बनौँ, इमानदार बनौँ र जिम्मेवार बनौँ । किनकि नयाँ युगमा प्रवेश गर्नु मात्र उपलब्धि होइन, नयाँ युगलाई सफल बनाउनु नै हाम्रो वास्तविक परीक्षा हो ।
(लेखक काफ्ले अधिवक्ता हुनुहुन्छ ।)