दसैंका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्दा अतिरिक्त शुल्क नलाग्ने


काठमाडौं ।

दसैंका बेला खाना पकाउने ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था गरिएको छ।नेपाल एलपी ग्यास उद्योग संघको समन्वयमा असोज ३१ गतेसम्म उपभोक्ताले जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्।

यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। उपभोक्ताले भरिएको ग्यासको तोकिएको मूल्य मात्र बुझाउनुपर्नेछ।काठमाडौंको सिफलचौर, पेप्सीकोला, बालाजु औद्योगिक क्षेत्र, सुकेधारा, कलंकी र ललितपुरको हरिसिद्धिबाट विभिन्न ब्रान्डका ग्यास वितरण तथा साटफेर गरिनेछ।संघका अनुसार बिहान ९ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म सिलिन्डर साट्न सकिनेछ।

संघका अध्यक्ष दिवान चन्दले लाइनमा बसेका सबै उपभोक्तालाई ग्यास उपलब्ध गराउने प्रयास गरिने बताएका छन्।फरक ब्रान्डका सिलिन्डर साट्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्थाले दसैंका बेला उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।