धादिङ ।
घर पुग्ने आशामा शुक्रवार यात्रामा निस्किएका हजारौँ यात्रुको बाटोमै दुई रात बित्ने भएको छ । दशैँको मुखमा परिवारसँग भेटघाट गर्न हिँडेका यात्रु, बिरामी बोकेका सवारी र गन्तव्यमा सामान पु¥याउन निस्किएका मालवाहक गाडी पृथ्वी राजमार्गमै रोकिएका छन् । धादिङको गजुरी गाउँपालिका–५ गलौंदीमा त्रिशूली नदीको कटानले सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग शनिवार साँझसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
घर पुग्ने हतारोमा निस्किएका यात्रुका लागि अहिले राजमार्गको यात्रा कहिले टुङ्गिने हो भन्ने अनिश्चित बनेको छ । सवारीसाधनको लामो लाम, थकित अनुहार र गन्तव्यमा पुग्न नसक्दाको छटपटीले गलौंदी क्षेत्रको अवस्था कष्टकर बनेको छ । बालबालिका, ज्येष्ठ नागरिक र बिरामी यात्रु बढी समस्यामा परेका छन् । दुई रातसम्म सडक खुल्ने प्रतीक्षामा बस्नुपर्ने अवस्थाले यात्रुको शारीरिक थकानसँगै मानसिक तनाबसमेत बढाएको छ ।
सडक खुलाउन १२ वटा स्काभेटर र लोडर परिचालन गरेर काम भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । सडकको भित्तापट्टिको भाग काटेर वैकल्पिक मार्ग बनाउने प्रयास भइरहेको भए पनि त्रिशूली नदीको कटानले सडकको ठूलो भाग क्षति पु¥याएकाले काम चुनौतीपूर्ण बनेको छ । सवारी सञ्चालन गर्न सकिने अवस्था बनाउन निरन्तर काम भइरहे पनि यात्रुले तत्कालै सहज रूपमा यात्रा अघि बढाउन पाएका छैनन् ।
गलौंदीदेखि घाटबेँसी निस्कने भित्री सडक प्रयोग गरेर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन थालिएको छ । तर, गलौंदीतर्फको उकालो र घाटबेँसीतर्फको हिलो सडकका कारण विशेषगरी मालवाहक सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ । साना सवारीका लागि प्रयोग भइरहेको वैकल्पिक सडकसमेत त्रिशूली नदीको कटानका कारण प्रभावित भएकाले मुख्य राजमार्ग खुलाउन थप सडक कटान गर्नुपर्ने अवस्था आएको छ ।
नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार गलौंदीमा ब्याक कटिङ गरेर सडक खुलाउने काम भइरहेको छ । राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउन आइतबारसम्म समय लाग्नसक्ने भएकाले शनिवार राति पनि यात्रुहरू बाटोमै रोकिनुपर्ने अवस्था देखिएको छ ।
दशैँ नजिकिँदै गर्दा घर फर्किने यात्रुको चाप बढेको समयमा सडक अवरुद्ध हुँदा यात्राको पीडा थपिएको छ । लामो समय सवारीसाधनमै बस्नुपर्दा खाना, खानेपानी र शौचालयजस्ता आधारभूत सुविधासमेत यात्रुका लागि समस्या बनेका छन् । समयमै गन्तव्यमा पुग्न नसक्दा परिवारसँगको भेटघाटदेखि दैनिक कामकाजसम्म प्रभावित भएको छ ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले अति आवश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ । सडकको अवस्था र वैकल्पिक मार्गको कठिनाइ बुझेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ । राजमार्ग खुलाउन रातदिन काम भइरहे पनि दुई रातदेखि बाटोमै रोकिएका यात्रुका लागि प्रतीक्षा अझै लम्बिएको छ । घर पुग्ने उत्साह बोकेर निस्किएका यात्रु अहिले सुरक्षित रूपमा गन्तव्यमा पुग्ने दिनको प्रतीक्षामा छन् ।
गन्तव्यमा पुग्नै पर्नेहरूका लागि मुग्लिनबाट आँबुखैरेनी गोरखा हुँदै धादिङबेँसी–परेवाटार मासटार सडक, अर्काे धादिङबेँसीबाट सुनौलाबजार हुँदै गल्छी सडक र नौबिसेबाट हेटौँडातर्फ सडक पनि प्रयोग गर्न सकिने छ ।











प्रतिक्रिया