इन्टरनेट शुल्क नबढेको प्राधिकरणको स्पष्टोक्ति, बढी शुल्क लिए कारबाही


काठमाडौँ ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने सेवा प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ।

प्राधिकरणले हालसम्म इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने प्रस्ताव प्राप्त नभएको र शुल्क बढाउन स्वीकृति पनि नदिएको जनाएको छ।

प्राधिकरणका अनुसार पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गर्न, स्वीकृत दरभन्दा बढी शुल्क लिन तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्न पाइने छैन। यस्तो कार्य गरेको पाइएमा दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिनेछ।

प्राधिकरणले सेवा प्रदायकले बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरेको पाइएमा उजुरी गर्न उपभोक्तालाई आग्रह गरेको छ। साथै, उपभोक्ताको हकहित संरक्षण र स्वच्छ प्रतिस्पर्धा कायम गर्न प्रचलित नियमअनुसार सेवा शुल्क लिन सबै प्रदायकलाई सचेत गराएको छ।