उपत्यकाका ६ केन्द्रबाट जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने


काठमाडौं ।

दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका ६ स्थानबाट जुनसुकै कम्पनीका खाली सिलिन्डर साट्न सकिने व्यवस्था गरिने भएको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार घटस्थापनादेखि फूलपातीसम्म उपभोक्ताले आफूसँग भएको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्नेछन्। यसका लागि उपभोक्ताले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन भने भरिएको ग्यास सिलिन्डरको तोकिएको मूल्य भने तिर्नुपर्नेछ।

संघका अनुसार काठमाडौं उपत्यकाका विभिन्न ६ केन्द्रबाट यस्तो सुविधा उपलब्ध गराउने तयारी गरिएको छ।

सिलिन्डर साट्न सकिने स्थानमा बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलंकीस्थित साइबाबा तथा श्रीकृष्ण ग्यासको गोदाम र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदाम रहेका छन्।

ग्यास वितरणका लागि बिहान ९ः३० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको संघले जनाएको छ। नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा यो व्यवस्था कार्यान्वयन गर्न लागिएको हो।

संघका अध्यक्ष दिवान चन्दले चाडपर्वका बेला उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले एक साताका लागि जुनसुकै कम्पनीका सिलिन्डर साट्न सकिने व्यवस्था गर्न लागिएको बताए।

उनका अनुसार हाल बजारमा ५८ वटा ग्यास उद्योगका ५८ ब्रान्डका सिलिन्डर प्रचलनमा छन्। फरक कम्पनीको सिलिन्डर साट्नुपर्दा उपभोक्ताले तीन सय रुपैयाँसम्म अतिरिक्त रकम तिर्नुपर्ने अवस्था रहेकाले नयाँ व्यवस्थाले राहत पुग्ने अपेक्षा गरिएको छ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले पनि उद्योगीसँगको छलफलपछि उपभोक्तालाई सहज बनाउन यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिएका छन्।

विशेषगरी घरमा एउटा मात्र सिलिन्डर भएका परिवारलाई चाडपर्वका बेला ग्यास खोज्दै पसलपसल धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले यो व्यवस्था गर्न लागिएको हो। उपत्यकामा बजारमा प्रचलनमा रहेका कुनै पनि कम्पनीको खाली सिलिन्डर बुझाएर उपलब्ध ब्रान्डको भरिएको सिलिन्डर लिन सकिनेछ।

तर, सुविधाको दुरुपयोग रोक्न प्रत्येक वास्तविक उपभोक्तालाई एकवटा मात्र सिलिन्डर साट्न दिइने व्यवस्था गरिनेछ। सेवा लिन आउने व्यक्तिको पहिचान खुल्ने विवरण र मोबाइल नम्बरसमेत अभिलेखमा राखिने संघले जनाएको छ।