काठमाडौं।
एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत देशका विभिन्न जिल्लाका ६ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री तथा आवश्यक उपकरण सहयोग गरेको छ।
बैंकले ललितपुर, कालिकोट, डोटी, अछाम र गोरखाका विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले पानी शुद्धिकरण प्लान्ट, विद्यालय पोशाक, झोला, प्रिन्टर, ल्यापटप, डेस्कटप कम्प्युटर, प्रोजेक्टरलगायतका शैक्षिक सामग्री उपलब्ध गराएको हो।
ललितपुरको गोदावरी नगरपालिका–१, गोदामचौरस्थित श्री दमाइटार आधारभूत विद्यालयमा अध्ययनरत ९९ भन्दा बढी विद्यार्थीलाई लक्षित गरी बैंकले पानी शुद्धिकरण प्लान्ट र विद्यालय पोशाक उपलब्ध गराएको छ। आश्विन २१ गते आयोजित कार्यक्रममा बैंकका काठमाडौं साउथ सर्कल हेड उज्ज्वल रिमाल, चापागाउँ शाखा प्रमुख तुलसी ढुंगाना तथा सीएसआर तथा फाइनान्सियल इन्क्लुजन इन्चार्ज ठाकुर श्रेष्ठले विद्यालयका प्रधानाध्यापक अमृतनाथ गौतमलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।
त्यस्तै, कालिकोटको नरहरीनाथ गाउँपालिका–६ स्थित श्री नन्दादेवी माध्यमिक विद्यालयका ४७२ भन्दा बढी विद्यार्थीका लागि विद्यालय पोशाक, झोला तथा अन्य शैक्षिक सामग्री प्रदान गरिएको छ। आश्विन १९ गते बैंकका कालिकोट शाखा प्रमुख प्रकाश शाहीले विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापालाई सामग्री हस्तान्तरण गरेका थिए।
डोटीको शिखर नगरपालिका–५, तिजालीस्थित श्री राधाकृष्ण माध्यमिक विद्यालयलाई पनि बैंकले झोला, एक थान प्रोजेक्टर तथा शैक्षिक सामग्री सहयोग गरेको छ। आश्विन १५ गते बैंकका दिपायल शाखा प्रमुख सुधिर भण्डारीले विद्यालयका उपप्रधानाध्यापक सुरेन्द्र भट्टलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। विद्यालयमा ३०४ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
यसैगरी, अछामको बान्नीगढी जयगढस्थित श्री नन्दा माध्यमिक विद्यालय र श्री राष्ट्रभाषा माध्यमिक विद्यालयलाई बैंकले सूचना प्रविधिसम्बन्धी सामग्री उपलब्ध गराएको छ। आश्विन १३ गते बैंकका साँफेबगर शाखा प्रमुख सुरेन्द्रबहादुर थापाले दुवै विद्यालयका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गरेका थिए। प्रत्येक विद्यालयलाई दुई थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरिएको बैंकले जनाएको छ।
गोरखा नगरपालिका–३, नरेश्वरस्थित श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई पनि बैंकले झोला तथा विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ। आश्विन ६ गते आयोजित कार्यक्रममा बैंकका पोखरा सर्कल हेड श्वेता शेरचन तुलाचन र गोरखा शाखा प्रमुख दीपेन्द्र रेग्मीले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक गणेशराज सापकोटालाई सामग्री हस्तान्तरण गरेका थिए। उक्त विद्यालयमा १८५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
बैंकका अनुसार विभिन्न विद्यालयलाई उपलब्ध गराइएको सहयोगले विद्यार्थीको पठनपाठनमा सहजता ल्याउनुका साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।
एन आई सी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।











प्रतिक्रिया