सशस्त्र प्रहरी बल, नेपालद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, २८ हजारभन्दा बढी जनशक्ति प्रविधिसहित परिचालन


काठमाडौं ।

सशस्त्र प्रहरी बल, नेपालले दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ। असोज २२ गतेदेखि लागू भएको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत देशभर २८ हजार १ सय २६ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ।

आवश्यकता परेको अवस्थामा तत्काल परिचालन गर्न सकिने गरी थप ४ हजार ५ सय जनशक्ति तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

चाडपर्वका समयमा सीमावर्ती क्षेत्र तथा अन्य स्थानमा हुन सक्ने आपराधिक गतिविधि र अप्रिय घटना रोक्न आवश्यक स्रोतसाधन तथा प्रविधिसहित सुरक्षा तैनाथी बढाइएको छ। सीमा क्षेत्रमा सीमा अपराध नियन्त्रणसँगै नेपाल प्रवेश गर्ने पर्यटक तथा नेपाली नागरिकको सुरक्षित र सहज आवागमनका लागि विशेष व्यवस्था गरिएको छ।

नागरिकलाई आवश्यक सहयोग तथा विपद्का बेला उद्धारमा सहजीकरण गर्न भारत र चीनतर्फका समकक्षी सुरक्षा निकायसँग समन्वय गरी १ सय ४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा नागरिक स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष स्थापना गरिएको छ। सीमावर्ती क्षेत्रमा समकक्षी सुरक्षा निकायसँगको समन्वयमा संयुक्त गस्तीसमेत सञ्चालन भइरहेको छ।

अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागूऔषध पहिचानका लागि झापाको काँकडभिट्टा, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा तालिमप्राप्त स्निफिङ डगसहितको के–९ टोली परिचालन गरिएको छ।

चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणसँगै मुख्य राजमार्गमा दुर्घटना न्यूनीकरण र तत्काल उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितको आकस्मिक उद्धार टोली परिचालन गरिएको छ।

ठूला दुर्घटना वा विपद्मा एकैपटक धेरै घाइतेलाई अस्पताल पुर्‍याउनुपर्ने अवस्था आउन सक्ने भएकाले सातै प्रदेश तथा काठमाडौं उपत्यकासहित १६ स्थानमा मास क्याजुअल्टी भेइकल (एमसीभी) समेत तैनाथ गरिएको छ।

प्राकृतिक तथा मानवसिर्जित विपद्का समयमा तत्काल उद्धार तथा राहतका लागि देशभर ५५ वटा अस्थायी मनसुन विपद् प्रतिकार्य बेस र १६ वटा स्थायी विपद् बेसमा आवश्यक स्रोतसाधनसहित तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको छ।

सुरक्षा योजनाअन्तर्गत दैनिक ४ सय १५ स्थानमा पिकेट, ४ सय १८ स्थानमा चेक प्वाइन्ट, ६ सय १ वटा पैदल गस्ती, ५ सय ५५ वटा मोबाइल गस्ती र १ सय ८२ वटा लामो दूरीका गस्ती सञ्चालन हुनेछन्।

त्यस्तै, १ सय ४६ वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी), १४ वटा बम डिस्पोजल टोली, ३७ वटा एम्बुलेन्स, २ सय ५१ वटा विपद् उद्धार टोली र ११ स्थानमा गोताखोर टोली २४सै घण्टा तयारी अवस्थामा रहनेछन्।

सीमावर्ती क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दैनिक ५ सय ४ वटा सीमा नाका पिकेट, ४२ वटा सीमा लिङ्क पेट्रोल र ६ वटा बोर्डर इन्टर्‍याक्सन टिम (बीआईटी) परिचालन गरिएको छ। चाडपर्व अवधिभर आवश्यकताअनुसार समकक्षी सुरक्षा निकायसँग ९ सय २४ वटा संयुक्त सीमा गस्ती सञ्चालन गर्ने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सुरक्षा निगरानीमा प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिइएको छ। संवेदनशील स्थानको निगरानीका लागि आवश्यकताअनुसार २१ वटा ड्रोन परिचालन गरिनेछ। सीमा नाकाका महत्वपूर्ण स्थानमा जडान गरिएका ४ सय १२ वटा सीसीटिभी क्यामेरामार्फत सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, बाहिनी, गण तथा सम्बन्धित युनिटबाट २४सै घण्टा निगरानी गरिने व्यवस्था मिलाइएको छ।

समग्र सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि देशभर ९४ वटा अनुगमन टोलीसमेत परिचालन गरिनेछ।

सशस्त्र प्रहरीले चाडपर्वका क्रममा आपत् वा विपद्मा परेका नागरिकलाई सहयोग आवश्यक परे टोल फ्री नम्बर १११४ तथा सीमा हटलाइन नम्बर ९८५१२६०७३० मा सम्पर्क गर्न आग्रह गरेको छ।