काठमाडौं ।
नेपालको लघुवित्त क्षेत्रका वर्तमान चुनौती, सम्भावना तथा आगामी दिशाबारे छलफल गर्न तेस्रो बीएफआईएन वार्षिक लघुवित्त सम्मेलन–२०२६ आयोजना हुने भएको छ।
बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) र नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन (एनएमबीए) को सहकार्यमा सम्मेलन आगामी अक्टोबर ९ अर्थात् असोज २३ गते ललितपुरको ग्वार्कोस्थित होटल रोयल ट्युलिपमा आयोजना हुँदैछ।
सम्मेलनमा लघुवित्त क्षेत्रका सञ्चालक समिति सदस्य, वरिष्ठ व्यवस्थापक, नियामक निकायका प्रतिनिधि, उद्योगका विज्ञ तथा अन्य सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ।
नेपालको लघुवित्त क्षेत्रले वित्तीय पहुँच विस्तार र सामाजिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेले पनि पछिल्लो समय संस्थागत दिगोपन, कर्जा गुणस्तर, नियामकीय अपेक्षा, जोखिम व्यवस्थापन तथा प्रविधिको प्रयोगजस्ता चुनौती सामना गरिरहेको छ। सम्मेलनमा यिनै विषयमा छलफल गर्दै लघुवित्त क्षेत्रलाई थप जिम्मेवार, दिगो र सबल बनाउने उपायबारे बहस गरिनेछ।
सम्मेलनमा लघुवित्त संस्थाको सामाजिक उद्देश्य र दिगोपन मजबुत बनाउने, कर्जाको गुणस्तर सुधार गर्ने, संस्थागत जोखिम व्यवस्थापन तथा वित्तीय अनुशासन बढाउने विषयमा छलफल हुनेछ। साथै डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता (एआई) तथा नयाँ वित्तीय उत्पादनको प्रयोगमार्फत सेवा प्रवाह, जोखिम व्यवस्थापन र वित्तीय पहुँचलाई थप प्रभावकारी बनाउने विषयसमेत उठाइनेछ।
सम्मेलनको विशेष सत्रका रूपमा ‘नेपाल–बंगलादेश : सिकाइ र तुलना–बंगलादेशको ४० वर्षभन्दा लामो अनुभवबाट नेपालले के सिक्न सक्छ?’ विषयमा छलफल हुनेछ। उक्त सत्रमा बंगलादेशको लामो लघुवित्त अनुभव, सफल तथा असफल अभ्यास र त्यसबाट नेपालले अपनाउन सक्ने विषयबारे चर्चा गरिनेछ।
उक्त सत्रमा बंगलादेशको ढाकास्थित ग्रामीण बैंकका उपमहाप्रबन्धक ए. के. एम. सज्जाद हुसेन सहभागी हुनेछन्। सत्रमा महिलाको सहभागिता, महिला नेतृत्वमा उद्यमशीलता तथा बंगलादेशमा लघुकर्जाबाट व्यापक वित्तीय पहुँचतर्फ भएको विकासक्रमबारे समेत छलफल हुनेछ।
त्यस्तै, वित्तीय संस्थामा प्रविधिको प्रयोगसँगै बढ्दै गएको साइबर अपराध तथा ठगीबारे पनि छुट्टै सत्र सञ्चालन गरिनेछ। प्रविधिमा आधारित वित्तीय अपराधका नयाँ जोखिम र त्यसबाट बच्न वित्तीय संस्थाले अपनाउनुपर्ने तयारी तथा सुरक्षाका उपायबारे छलफल गरिने आयोजकले जनाएको छ।
सम्मेलनमा ‘नेपालको लघुवित्त क्षेत्रको अवस्था : वर्तमान मूल्यांकन, नीति र आगामी बाटो’ विषयमा पनि विशेष छलफल हुनेछ। यस सत्रमा लघुवित्तको सामाजिक उद्देश्य, ग्रामीण तथा तल्लो तहमा परेको सामाजिक–आर्थिक प्रभाव, व्यवसायिक मोडलको दिगोपन, सञ्चालन दक्षता तथा नीतिगत र नियामकीय व्यवस्थाबारे समीक्षा गरिनेछ।
त्यसैगरी, परम्परागत लघुकर्जाभन्दा बाहिर ग्रामीण उद्यम विकास, सस्तो आवास, लघुबीमा लगायतका क्षेत्रमा सेवा विस्तार तथा व्यवसायिक विविधीकरणको सम्भावनाबारे समेत छलफल हुनेछ।
अर्को महत्वपूर्ण सत्र ‘नेपालका लघुवित्त संस्थाको सुदृढीकरण र भविष्यको परिकल्पना’ विषयमा केन्द्रित हुनेछ। यसमा कर्जाको गुणस्तर, संस्थाको वित्तीय अवस्था सुधार, कर्जा पुनर्संरचना, जोखिमका लागि छुट्याइने रकम, ग्राहक संरक्षण, कर्जा अनुशासन, एकभन्दा बढी संस्थाबाट कर्जा लिने प्रवृत्ति, जिम्मेवार व्यवसाय विस्तार तथा डिजिटल प्रविधि र एआईको प्रयोगबारे छलफल गरिनेछ।
त्यस क्रममा विप्रेषणमा आधारित कर्जा, जलवायु तथा कृषि वित्त, शिक्षा कर्जा र आवश्यकताअनुसारको लघु–आवास कर्जाजस्ता नयाँ वित्तीय उत्पादनको सम्भावनाबारे पनि चर्चा हुने आयोजकले जनाएको छ।
सम्मेलनमा नेपालको लघुवित्त क्षेत्र तथा नियामकीय निकायका वरिष्ठ अधिकारी र सञ्चालक तहका प्रतिनिधिको सहभागिता रहनेछ। नेपाल राष्ट्र बैंकका अधिकारी, नेपाल प्रहरीको साइबर ब्युरोका प्रतिनिधि तथा प्रविधि र नवप्रवर्तन क्षेत्रका विज्ञ पनि सहभागी हुनेछन्। बंगलादेशलगायत अन्य देशका विज्ञ तथा सरोकारवालाबाट अन्तर्राष्ट्रिय अनुभवसमेत प्रस्तुत गरिनेछ।
सम्मेलनले लघुवित्त क्षेत्रका व्यवसायी, नियामक, नीतिनिर्माता तथा विकास साझेदारबीच अर्थपूर्ण संवादको वातावरण तयार गर्दै नेपालमा सुदृढ, जिम्मेवार, दिगो र प्रविधिमैत्री लघुवित्त क्षेत्र निर्माणमा योगदान पुर्याउने आयोजकको अपेक्षा छ।











प्रतिक्रिया