काठमाडौ ।
काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित १० स्वास्थ्य प्रवर्धन केन्द्रमा औषधिको चरम अभाव देखिएको छ । महानगरपालिकाले समयमै औषधि उपलब्ध गराउन नसक्दा स्वास्थ्य बीमा गरेका बिरामीको नियमित चाप हुने ती केन्द्रमा उपचारका लागि आउने बिरामीको संख्या घट्न थालेको छ ।
औषधि अभावका कारण सुगर, प्रेसर,मिर्गौला, कोलेस्टेरोल लगायत नियमित औषधि सेवन गर्नुपर्ने बिरामी सबैभन्दा बढी प्रभावित भएका छन् । कतिपय बिरामी स्वास्थ्य प्रवर्धन केन्द्रमा चिकित्सकलाई देखाए पनि आवश्यक औषधि नपाएपछि खाली हात फर्किन बाध्य छन् । औषधि नपाइने भएपछि कतिपय बिरामी केन्द्रमै जान छाडेका छन्।
स्वास्थ्य प्रवर्धन केन्द्रका फार्मेसीसमेत औषधिविहीन बन्न थालेका छन् । नियमित रूपमा सात-आठ थरीसम्म औषधि सेवन गर्नुपर्ने बिरामीले आवश्यकताअनुसारको औषधि नपाउँदा एक–दुई थरी औषधि मात्र लिएर फर्किनुपर्ने अवस्था रहेको सर्वसाधारणले बताएका छन्।
स्वास्थ्य प्रवर्धन केन्द्रबाट सामान्यतया विभिन्न रोगका बिरामीलाई तीन महिनासम्मको औषधि उपलब्ध गराउने व्यवस्था भए पनि औषधि अभावका कारण लामो समयदेखि एक महिनाको औषधि मात्र वितरण हुँदै आएको थियो। अहिले भने एक महिनाको औषधि समेत पाउन छाडेको बिरामीको गुनासो छ।
औषधि अभावको प्रत्यक्ष असर स्वास्थ्य प्रवर्धन केन्द्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा समेत परेको छ। बिरामीको चाप घटेपछि केन्द्रमा स्वास्थ्यकर्मीहरू फुर्सदिला बन्न थालेका छन्।
काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपक केसीले अनलाईन टेन्डरमा समस्या भएको कारण टेन्डर प्रक्रिया अघि बढाउन नसकिएको बताउनुभएको छ । उहाँका अनुसार औषधि खरिदका लागि बुधबार टेन्डर आह्वान गरिएको छ ।
काठमाडौं महानगरपालिकाले वडा नम्बर ७, ८, १०, १२, १४, १६, १९, २६, २७ र ३० मा सञ्चालित स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत स्वास्थ्य बीमाअन्तर्गत उपचार तथा औषधि वितरण सेवा प्रदान गर्दै आएको छ ।











प्रतिक्रिया