काठमाडौं।
अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिकै चिकित्सा परिवहन (एयर एम्बुलेन्स) विमान बेपत्ता भएको छ। विमानमा सवार सबै ६ जनाको मृत्यु भएको आशंका गरिएको छ।
बर्मुडाबाट बोस्टनतर्फ उडेको उक्त विमान शनिबार म्यासाचुसेट्सको नान्टकेट टापुको तट नजिकै सम्पर्कविहीन भएको थियो। विमान सञ्चालन गर्ने कम्पनी ल्याटिच्युड एयर एम्बुलेन्सले विमानमा सवार चार चालक दलका सदस्य, एक बिरामी र उनका परिवारका एक सदस्यको मृत्यु भएको आशंका गरिएको जनाएको छ।
कम्पनीले विज्ञप्तिमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै विमानमा सवार आफ्ना चार कर्मचारीसहित बिरामी र परिवारका सदस्यलाई गुमाएको हुन सक्ने जनाएको छ।
अमेरिकी तटरक्षक दलले आइतबार साँझ नान्टकेट टापुको तटमा विमानमा सवार व्यक्तिहरूको खोजी अभियान समाप्त गरेको छ। यसअघि शनिबार अधिकारीहरूले समुद्रमा हराएको विमानसँग सम्बन्धित भग्नावशेष फेला पारेका थिए।
उडान ट्र्याकिङ सेवा फ्लाइटअवेयरका अनुसार विमानले शुक्रबार राति स्थानीय समयअनुसार ११ः४० बजे बर्मुडाको एल.एफ. वेड अन्तर्राष्ट्रिय विमानस्थलबाट बोस्टनका लागि उडान भरेको थियो।
विमान शनिबार बिहान करिब १ः३० बजे बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका थियो। तर, अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शनिबार बिहान करिब १ बजे विमानसँगको सम्पर्क गुमाएको थियो।
घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया