सुभ अवसर ग्राम नेपालको सामाजिक लेखापरीक्षण सम्पन्न, सेवा विस्तारमा जोड


काठमाडौँ।

सुभ अवसर ग्राम नेपालको सामाजिक लेखा परिक्षण एक कार्यक्रमका बीच आईतवार अनामनगरमा सम्पन्न भयो ।
कार्यक्रममा समाजकल्याण परिषदका कार्यक्रम तथा योजना विभागका प्रमुख संजय मल्लिकले गैह्र सरकारी संस्थाहरुले आफ्ना परियोजनाहरु मार्फत गरिएका कामहरुको अभिलेखिकरण गरि स्थानिय सरकारसँग सहकार्य गर्नु आवश्यक छ भन्नुभयो । सोही अवसरमा उहाँले बिषगत ज्ञान र सीपका लागि पहलो प्राथमिकतामा शिक्षा दिनुपर्ने कुरा औल्याउनुभयो । गतबर्ष ७५ अरब रुपैया सहयोग नेपालका लागि प्राप्त भएको बिषयमा विभागीय प्रमुखका नाताले आफैले स्वीकृति दिएको जानकारी दिँदै प्राप्त सहयोगको सदुपयोगको विवरण सहितको उपलब्धी पनि सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सामाजिक लेखा परिक्षण गर्दा प्रतिवेदनको एक एक प्रति सरोकारवाला निकाय तथा व्यक्तिलाई उपलब्ध गराई आवश्यक राय सल्लाह लिनुले संस्थाको कामप्रति विश्वसनीयत बढ्ने बताउनुभयो । सुभ अवसर ग्राम नेपालका अध्यक्ष सानु अमात्यले लेखा परिक्षण कार्यक्रमा संस्थाले गरेका गतिविधिलाई नियाली सकारात्मक सल्लाह तथा सुझा दिनु आग्रह गर्नुभयो ।

अध्यक्ष अमात्यले यस संस्थाले बाल संरक्षण, विपद् तथा विस्थापनमा परेका परिवारलाई सहयोग, व्यावसायिक सीप विकास र स्वरोजगारका क्षेत्रमा गरेको प्रयासलाई सरोकारवालाले सकारात्मक रूपमा मूल्याङ्कन गरेको छ । संस्थाको सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुतिका क्रममा उहाले कार्यक्रमको पहुँच विस्तारसँगै लाभग्राहीलाई निरन्तर सहयोग र अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

सरोकारवालाले विपद् तथा विस्थापनका अवस्थामा घर छाड्न बाध्य भएका बालबालिका र परिवारलाई समेत संस्थाले आवश्यक सहयोग पु¥याउने प्रयास गरेको बताउनुभयो । हाल सञ्चालन भइरहेका कार्यक्रमप्रति सन्तुष्टि व्यक्त गर्दै उहाँहरूले आगामी दिनमा सेवा विस्तारका लागि थप आर्थिक तथा प्राविधिक सहयोग आवश्यक रहेको औँल्याउनुभयो । पर्याप्त बजेट उपलब्ध भएमा कार्यक्रमको पहुँच र प्रभावकारिता बढाउन सकिने उहाँहरूको भनाइ थियो ।

लेखा परिक्षण पप्रतिवेदन माथी प्रकाश पार्दै लेखा परिक्षण प्रतिवेदन प्रस्तुतिका सहजकर्ता विकास थापाले संस्थाको सञ्चालक समिति, व्यवस्थापन समूह तथा कर्मचारीको भूमिका, कार्यप्रक्रिया र संस्थागत संरचनाको समीक्षा गरिएको छ । संस्थाले प्रशासनिक, मानव संसाधन व्यवस्थापन तथा बाल संरक्षणसम्बन्धी नीति तयार गरेको पाइएको छ । बाल संरक्षण नीतिअन्तर्गत घटना तथा केस व्यवस्थापनका कार्यविधि बनाइएको र मानव बेचबिखनविरुद्धको टोलीले घटनाको पहिचानदेखि अनुगमनसम्मका प्रक्रिया निर्धारित कार्यविधिअनुसार सञ्चालन गरेको प्रतिवेदनमा समेटिएको बताउनुभयो ।

केस व्यवस्थापनका क्रममा आवश्यक फाराम प्रयोग गर्ने, अभिलेख राख्ने, परामर्शदातासँग समन्वय गर्ने र लाभग्राहीको अवस्थाबारे नियमित अनुगमन गर्ने अभ्यासलाई बाल संरक्षणका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्नुभएको थियो । संस्थाले सरकारी तथा गैरसरकारी निकाय, बाल संरक्षणसम्बन्धी सञ्जाल र साझेदार संस्थासँग समन्वय गर्दै आएको पनि प्रतिवेदनमा उल्लेख छ । जीएसआई र बीएससी नेपाललगायत साझेदारबाट कार्यक्रम सञ्चालनमा सहयोग प्राप्त भएको जानकारी गराउनुभयो ।

सोही अवसरमा उहाँले बालगृहमा रहेका बालबालिकाको समग्र विकासका लागि गुणस्तरीय शिक्षा, व्यावसायिक शिक्षा, मनोसामाजिक सेवा र जीवनोपयोगी सीपलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने कुरा औँल्याउनुभयो । बाल संरक्षण अधिकारी र परामर्शदातामार्फत बालबालिकाको आवश्यकता पहिचान, जोखिम मूल्याङ्कन, परामर्श तथा संरक्षणसम्बन्धी कार्यविधि पालना गर्ने अभ्यास रहेको अध्ययनमा पाइएको उहाँले जनाउनुभयो ।

बालबालिकालाई विद्यालयमा टिकाइराख्ने, उनीहरूको शैक्षिक अवस्था नियमित अनुगमन गर्ने र आवश्यकताअनुसार शिक्षक तथा विद्यालयसँग समन्वय गर्ने कार्यलाई अझ व्यवस्थित बनाउनुपर्ने सुझाव दिइएको छ । गृहकार्यमा सहयोग, सामूहिक अध्ययन, ट्युसन कक्षा तथा जीवनोपयोगी सीपका गतिविधि सञ्चालन भइरहेको प्रतिवेदनमा उल्लेख छ। विद्यालय छाड्ने जोखिममा रहेका बालबालिकालाई थप सहयोग गर्नुपर्नेमा पनि जोड दिइएको पाइएको पनि उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभएकोछ ।

बालगृहमा रहेका बालबालिकाको खेलकुद तथा मनोरञ्जनमा सहभागिता बढेको विषयलाई पनि सकारात्मक उपलब्धिका रूपमा प्रस्तुत गरिएको थियो । पहिले खेलकुदका अवसर सीमित रहे पनि अहिले भलिबल, क्रिकेटलगायत खेलमा बालबालिकाको सहभागिता बढेको र यसले उनीहरूमा उत्साह थपेको पाईएको थापाले बताउनुभयो ।

प्रतिवेदनले बालगृहभित्रको सेवा मात्र पर्याप्त नहुने उल्लेख गर्दै बालबालिकाको परिवार र समुदायलाई समेत संरक्षण प्रक्रियामा जोड्नुपर्ने आवश्यकता औँल्याएको छ । विपद्का समयमा प्रभावित परिवारलाई सहयोग गर्ने, पारिवारिक अवस्था बुझ्ने र आवश्यकताअनुसार सहायता उपलब्ध गराउने विषयलाई संस्थाको कार्यक्षेत्रसँग जोडेर हेरिएको छ । संस्थाको लक्ष्य बालगृहमा रहेका बालबालिकाको हेरचाहमा मात्र सीमित नभई समग्र विकास, पारिवारिक पुनःएकीकरण, शैक्षिक निरन्तरता र दीर्घकालीन संरक्षण सुनिश्चित गर्नु रहेको प्रतिवेदनमा उल्लेख छ ।

सामाजिक लेखापरीक्षणका क्रममा संस्थाले जोखिममा रहेका तथा संरक्षण सेवाबाट लाभान्वित महिला र युवतीलाई व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर बनाउने प्रयास गरेको पाइएको छ। संस्थाले तालिमसँगै व्यवसाय स्थापना र सञ्चालनका लागि समेत सहयोग गर्दै आएको छ। तर तालिमपछि कतिपय लाभग्राही सामाजिक, पारिवारिक तथा व्यक्तिगत कारणले संस्थाको प्रत्यक्ष सम्पर्कबाट बाहिरिने अवस्था रहेको सरोकारवालाले औँल्याउनुभयो ।

सोही अवसरमा सुभ अवसर ग्राम नेपालका कार्यक्रम परियोजना अधिकृत रञ्जना शर्माले “एकपटक तालिम दिएर वा व्यवसाय सञ्चालनका लागि सहयोग गरेर मात्रै जिम्मेवारी पूरा हुँदैन । तालिमपछि लाभग्राहीले सामना गर्ने सामाजिक तथा पारिवारिक चुनौतीलाई पनि ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो, “एक–दुई जनालाई मात्रै भए पनि निरन्तर सहयोग र अनुगमन गर्न सकियो भने संस्थाको उद्देश्य अझ प्रभावकारी हुन्छ ।”

संस्थाले आठवटा व्यवसाय स्थापना गर्न सहयोग गरेको पनि अध्ययनमा प्रस्तुत गरिएको छ । तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न व्यवसाय स्थापना पछिको अनुगमन, बजार पहुँच र आम्दानीको निरन्तरतामा थप ध्यान दिनुपर्ने सुझाव दिइएको छ । एक लाभग्राहीले सिलाइकटाइ तालिमले जीवनमा परिवर्तन ल्याउने आशा जगाएको र तालिमपछि काठमाडौँमा सिलाइसम्बन्धी काम गर्ने तथा आफूले सिकेको सीप अरूलाई पनि सिकाउने चाहना व्यक्त गरेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनले ओबीएनको व्यावसायिक तालिम केन्द्रमा रहेका भौतिक तथा प्राविधिक स्रोतलाई थप प्रभावकारी रूपमा उपयोग गर्न सकिने सम्भावना औँल्याएको छ । केन्द्रमा बहुउद्देश्यीय हल, कम्प्युटर कक्ष, सिलाइकटाइका उपकरण तथा अन्य पूर्वाधार रहेकाले संस्थाका आफ्नै कार्यक्रमबाहेक अन्य सामाजिक संस्था र सरकारी निकायसँगको सहकार्यमा पनि उपयोग गर्न सकिने सुझाव दिइएको छ ।