पोखरा । पोखरा महानगरपालिका पूर्णरुपमा जलेको एक वर्ष पूरा भइसकेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीले देशभर विध्वंस मच्चाउँदा पोखरा महानगरपालिकाको भवन पनि जलाइयो ।
पोखराको न्यूरोडस्थित महानगरको भवन जलेपछि अहिले नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको भवनमा भाडामा महानगरको प्रशासकीय काम चलिरहेको छ । मासिक ७ लाख ५४ हजार रुपैयाँ भाडामा चलिरहेको महानगरपालिकाले आफ्नै भवन बनाउने सुरसार भने देखाएको छैन । ३ वर्षका लागि सम्झौता गरी महानगरले नयाँबजारबाट सेवा दिइरहँदा पोखरा–१७, बिरौटामा निर्माण गरिने भनिएको भवनको समेत अझै टुंगो लाग्न सकेको छैन ।
शुरुमा २ अर्ब रुपैयाँको लगानीमा भवन बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन बनाई अघि बढेको महानगरपालिकाले आर्थिक स्रोत जुटाउन सकेन । खुम्चिएर ६० देखि ६५ करोड रुपैयाँको भवन बनाउने योजनामा अघि बढे पनि त्यो समेत अझै अन्योलमा रहेको देखिन्छ ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङका अनुसार नयाँ बन्ने भवन प्रक्रियामै रहेको छ तर कहिले बन्छ भन्ने यकिन भने छैन । महानगरपालिकाले शुरुवातमा मुख्य प्रशासकीय भवन न्यूरोडमै रहेको (जेनजी आन्दोलनमा जलेको) भवनमा निर्माण गर्ने र हाल
नयाँबजारस्थित स्वास्थ्य प्रवद्र्धन केन्द्रमा अन्य शाखाका भवन निर्माण गर्ने योजना बनाएपछि त्यो सफल हुन नसकेको उनले बताइन् ।
उनले आफू महानगरपालिकाको पहिलो कार्यकालमा हुँदा जग्गा खोजी भएको सोही कार्यकालको अन्तिम समयमा पुरानो महानगरपालिकाको भवनलाई पुनर्निर्माण गरी प्रमुख प्रशासकीय भवन बनाउने अनि पुरानो दमकल मार्ग (नयाँबजार र न्यूरोडको बीचमा रहेको स्थान) मा अन्य शाखा निर्माण गर्ने योजनासमेत सुनाइन् । तर जेनजी आन्दोलनले क्षति पुगेपछि अहिले वडा १७ बिरौटामा महानगरपालिकाको भवन बनाउने कार्य अघि बढेको हो ।
‘पहिलो कार्यकालमा हामीले कार्यालयलाई मुख्य कार्यालय (हाल जलेको) र अन्य महाशाखाहरु महानगरकै नाममा रहेको पुरानो दमकलको जग्गामा बनाउने योजना थियो । त्यही अनुसार योजना अघि बढाइयो । विभिन्न कारणले बनाउन सकिएन । दमकल मार्गमा १ करोड २५ लाख रुपैयाँ परिचालन खर्च लागेको र शिलान्यास पनि भएको होे’, गुरुङले थपिन्, ‘महानगरको मुख्य कार्यालय बनाउने योजना बनाएर हामीले बोलपत्र आह्वान पनि गरेका हौं, त्यत्तिकैमा कार्यकाल सकियो, त्यहाँ बनाउन सकिएन । म दोस्रो कार्यकालमा आउँदा त्यहाँ सम्भवन भएन । जेनजी आन्दोलन हुनुअघि हामीले वडा नम्बर १७ मा भवन बनाउने निर्णय गरेर प्रक्रिया थालेका हौं ।’
प्रक्रिया अगाडि बढिरहँदा केही कारणले शिलान्यास गर्न नसकेको उनको भनाइ छ । हाल महानगरपालिका राष्ट्रिय वाणिज्य बैंकको भवनमा भाडामा रहँदा नागरिकलाई सेवा प्रवाह गर्नमा समस्या आइरहेको उनी बताउँछिन् । एकै ठाउँबाट सेवा प्रदान गर्न सकेमा सेवाग्राहीलाई सहज हुने र नागरिक खुसी भएमा मात्रै आफूहरुलाई सन्तुष्टि मिल्ने उनले सुनाइन् ।
उता पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले नयाँ डीपीआर तयार भएको र त्यसलाई कार्यपालिकाले स्वीकृत नगरेसम्म काम अघि नबढ्ने सुनाए । डीपीआर स्वीकृत भएपछि भवन निर्माणको शिलान्याश गरिने उनी सुनाउँछन् । पोखरा–१७ मा भवन बनाउनका लागि डीपीआर तयार भए पनि महानगरपालिकाले खर्च स्रोत जुटाउन नसक्दा काम शुरु गर्न नसकेको तिवारीले पुष्टि गरे ।
२ अर्ब रुपैयाँ लागतको भवनका लागि दुई वर्षअघि नै डीपीआर तयार भए पनि स्रोत जुटाउन नसक्दा त्यसै छाडिएको थियो । महानगरपालिकाको शुरुमा दुईवटा भवन बनाउने योजना थियो । बीचमा फेरि थप गरी तीनवटा भवन बनाउने योजना बनाएकोमा महानगर सफल हुन नसक्दा अन्तिममा एउटा मात्रै भवन बनाउने निर्णयमा पुगेको हो । यसका लागि शुरुको डीपीआर पुनः संशोधन गरिएको तिवारीले जानकारी दिए ।
‘अहिलेको डीपीआरलाई कार्यपालिकाले स्वीकृत गर्नुपर्छ, जुन अहिलेसम्म हुन सकेको छैन । कार्यपालिकाले डीपीआर स्वीकृत गरिसकेपछि भवनको शिलान्यास गर्ने योजना महानगरको छ । अब बन्ने भवन करिब ६५ करोड रुपैयाँको हुनेछ । २ अर्बको भवन बनाउने भनियो, स्रोत जुटेन । संघ र प्रदेश सरकारबाट आएन, महानगरपालिकाको स्रोत छैन’, तिवारीले भने ।
अब बन्ने भवनबाट सबै सेवा भने उपलब्ध हुनेछैन । महानगरपालिकाको कृषि र स्वास्थ्य महाशाखाको आफ्नै भवन भएकाले स्वास्थ्य र कृषिको सेवा त्यहीँबाट हुनेछ । स्वास्थ्य सेवा साबिकको लेखनाथ नगरपालिकाको भवनबाट हुनेछ भने कृषिको मालेपाटनको भवनबाट हुनेछ ।











प्रतिक्रिया