कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, वैधानिकता विवादले चर्कियो आन्तरिक संकट


काठमाडौं ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। सभापति गगनकुमार थापा नेतृत्वको पक्षले दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन समारोह आयोजना गर्दै महाधिवेशनको तयारी पूरा भएको जनाएको छ।

तर, महाधिवेशन सुरु हुनुअघि नै कांग्रेसभित्र नेतृत्वको वैधानिकता र महाधिवेशन प्रक्रियालाई लिएर विवाद चर्किएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन र त्यसबाट बनेको थापा नेतृत्वलाई अस्वीकार गर्दै समानान्तर संगठनात्मक प्रक्रिया अघि बढाएको छ।

थापा पक्षले भने आफूलाई वैधानिक नेतृत्व दाबी गर्दै १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने तयारी गरेको छ। विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलाग्दै महाधिवेशन अघि बढाउनु उचित नभएको देउवा पक्षको तर्क छ।

यसैबीच पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट अधिकांश नेता थापा पक्षको महाधिवेशनमा सहभागी हुने भएका छन् भने नेता शेखर कोइराला तत्काल कुनै पक्षमा नलागी तटस्थ रहने अवस्थामा छन्। यद्यपि कोइराला समूहका केही नेता थापा पक्षको महाधिवेशनमा सहभागी भएका छन्।

थापा पक्षको महाधिवेशनसँगै देउवा पक्षले पनि वडा तहबाट समानान्तर संगठनात्मक प्रक्रिया अघि बढाएर आगामी मंसिरमा आफ्नो महाधिवेशन गर्ने तयारी गरेको छ। यसले कांग्रेसभित्रको विवाद नेतृत्व चयनमा मात्र सीमित नभई पार्टीको वैधानिकता, संगठनात्मक एकता र आगामी राजनीतिक दिशासँग समेत जोडिएको देखिएको छ।

आजको उद्घाटन समारोहमा विभिन्न तहबाट आएका प्रतिनिधिको सहभागितालाई थापा पक्षको संगठनात्मक शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ। महाधिवेशनको मुख्य चुनौती भनेको नयाँ नेतृत्व चयनपछि समानान्तर गतिविधिमा रहेका पक्षलाई एउटै संगठनात्मक संरचनामा समेट्नु हुनेछ।