सवारी मोडिफिकेसन र सुरक्षा उपकरणमा कडाइ


काठमाडौं ।

सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको अनधिकृत स्वरूप परिवर्तन तथा गुणस्तरहीन हेल्मेट, सिटबेल्टलगायत सुरक्षा उपकरणको प्रयोगमा कडाइ गर्ने भएको छ।

सङ्घीय संसद्मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले राष्ट्रिय सडक सुरक्षा परिषद्लाई सवारीसाधनको मोडिफिकेसन, उत्पादन, पैठारी तथा बडी बिल्डिङको अनुगमन र मूल्याङ्कन गर्ने अधिकार प्रस्ताव गरेको छ।

विधेयकमा हेल्मेट, सिटबेल्टलगायत सुरक्षा उपकरणको डिजाइन र प्रयोगको अनुगमन तथा सवारी मर्मत गर्ने वर्कशप र कारखानाको मापदण्डसमेत निगरानी गर्ने व्यवस्था छ। सार्वजनिक सवारीसाधनको यान्त्रिक तथा भौतिक अवस्था र जाँचपास प्रक्रियालाई पनि थप कडाइ गर्ने प्रस्ताव गरिएको छ।

परिषद्ले अनुगमनका क्रममा देखिएका कमीकमजोरी र आवश्यक सुधारबारे नेपाल सरकारलाई सिफारिस गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ।