काठमाडौं ।
चाडपर्व, आपत्कालीन अवस्था वा विपद्का समयमा स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीमाथि सरकारले कडा कारबाही गर्ने भएको छ।
सङ्घीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ मा स्वीकृत हवाई भाडादरभन्दा बढी रकम असुल्नेलाई कसुर मानिने व्यवस्था गरिएको छ।
विधेयकको दफा ४७ को खण्ड (ड) अनुसार प्राधिकरणले स्वीकृत गरेको दरभन्दा बढी भाडा लिएर उडान सञ्चालन गरेमा त्यस्तो कार्य कानुनबमोजिम कसुर हुनेछ।
यस्तो कसुर प्रमाणित भएमा दफा ४८ अनुसार वायुसेवा सञ्चालक वा सम्बन्धित व्यक्तिलाई ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिबाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यस्तै, एकपटक कारबाहीमा परिसकेको व्यक्ति वा संस्थाले पुनः सोही कसुर दोहोर्याएमा अघिल्लो जरिबानाको दोब्बर रकम जरिबाना हुने व्यवस्था विधेयकमा राखिएको छ।
प्रस्तावित व्यवस्थाले चाडपर्व, मौसम खराबी तथा विपद्का समयमा स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने र टिकटमा कालोबजारी गर्ने प्रवृत्ति नियन्त्रण गर्न खोजेको छ।











प्रतिक्रिया