सात वर्षमा सेजबाट साढे चार अर्बको निर्यात


काठमाडौं । 

विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना भएका उद्योगले सात वर्षमा चार अर्ब ५० करोड ४२ लाख रुपैयाँ बराबरको सामान निर्यात गरेका छन्। विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८२/८३ सम्म उक्त मूल्य बराबरको सामान निर्यात भएको हो।

सो अवधिमा सेजका उद्योगले तीन अर्ब १८ करोड १९ लाख रुपैयाँ बराबरको उत्पादन आन्तरिक बजारमा बिक्री गरेका छन्। सेजमा उत्पादित चुनढुङ्गा, बल्ब, कार्पेट, स्टिलका भाँडा, ट्याङ्की, प्लास्टिकका सामग्री, ग्रेनाइट र फर्नेस आयललगायतका सामान मुख्यतः भारत निर्यात हुँदै आएका छन्।

आव २०८२/८३ मा मात्रै एक अर्ब तीन करोड १८ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको प्राधिकरणले जनाएको छ। भैरहवा सेजमा २६ उद्योगले सञ्चालनका लागि अनुमति लिएकोमा १३ उद्योग सञ्चालनमा छन्। छ उद्योग निर्माणाधीन र सात उद्योग सम्झौताको प्रक्रियामा छन्। सेजका उद्योगबाट करिब ७५० जनाले रोजगारी पाएका छन्।

सरकारले सातै प्रदेशमा सेज स्थापना गर्ने घोषणा गरे पनि हालसम्म भैरहवा सेज मात्र पूर्ण रूपमा सञ्चालनमा आएको छ। विराटनगर, गोरखा, कैलाली र नुवाकोटमा निर्माणसमेत सुरु नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

यसैबीच, निर्यातसम्बन्धी अनिवार्य व्यवस्था पालना नगरेपछि भैरहवा सेजमा सञ्चालित पञ्चकन्या एसएस एक्सपोर्ट प्रालिसँगको सम्झौता रद्द गरिएको प्राधिकरणले जनाएको छ। उद्योग स्थापना भएको चार वर्षभित्र कम्तीमा १५ प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था भए पनि निर्यात नगरेपछि सम्झौता रद्द गरिएको हो।