सुन्दरता र अदृश्य त्रासदीको दोसाँधमा कर्णालीको रारा

0
Shares

मुगु । कर्णाली प्रदेशको प्राकृतिक गहना र नेपालको सबैभन्दा ठूलो तालका रूपमा परिचित रारा ताल यति बेला सुन्दरतासँगै एउटा अदृश्य त्रासदी र भयको केन्द्र बनेको छ । लगातारको अविरल वर्षा, जलाधार क्षेत्रमा आएको परिवर्तन र जलवायु परिवर्तनका विश्वव्यापी प्रभावका कारण रारा तालमा पानीको सतह अस्वाभाविक रूपमा वृद्धि भइरहेको छ । यसले ताल फुट्न सक्ने वा यसको प्राकृतिक निकास (खत्याड खोला) ले ठूलो रूप लिई तटीय क्षेत्रलाई कटान गर्न सक्ने त्रास मुगुका स्थानीय बासिन्दाहरूमा छाएको छ ।

खास गरी सदरमुकाम गमगढीसहित झ्यारी, टोप्ला, खत्याड र सोरु गाउँपालिकाका तटीय एवं आसपासका बस्तीहरूका सर्वसाधारण यति बेला सम्भावित प्राकृतिक विपत्तिका कारण रातभर निदाउन छाडेका छन् । एकातिर प्राकृतिक सम्पदाको संरक्षण र पर्यटनको प्रवद्र्धनको कुरा भइरहँदा अर्कातिर यहाँका हजारौँ नागरिकको जनजीवन भने प्राकृतिक जोखिमको दोसाँधमा उभिएको छ ।

रारा ताल समुद्री सतहबाट २,९९० मिटरको उचाइमा अवस्थित छ । करिब १०.८ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो तालको अधिकतम गहिराइ १६७ मिटर रहेको छ । सामान्यतया राराको निकास पश्चिमतिर खत्याड खोला भएर बग्छ । तर, पछिल्ला वर्षहरूमा मनसुनको ढाँचामा आएको व्यापक परिवर्तन, अल्पकालीन अतिवृष्टि र मर्मत–सम्भार तथा प्राकृतिक निकास प्रणालीमा आएको अवरोधका कारण तालमा पानीको चाप बढ्दो छ ।

मुगुका उच्च पहाडी भूगोलमा भइरहेको अविरल वर्षाले रारा जलाधार क्षेत्रका साना–ठूला दर्जनौँ खोलानालाहरू (जस्तै– ठाकुरजी खोला, झ्यारी खोला आदिबाट ठूलो परिमाणमा धमिलो पानी र लेदो तालमा मिसिइरहेको छ । तालको प्राकृतिक जलधारण क्षमता उच्च भए तापनि लगातारको वर्षाले निकास क्षमताभन्दा बढी पानी जम्मा हुँदा पानीको सतह जोखिमपूर्ण विन्दुसम्म पुगेको छ ।

रारा तालको निकास प्रणाली र सम्भावित विपद्को सीधा असर मुगुका धेरैजसो गाउँपालिकाहरूमा पर्ने देखिन्छ । सदरमुकाम गमगढी व्यापारिक तथा प्रशासनिक केन्द्र गमगढीनजिकैका ढलान र पहिरोग्रस्त भूगोलका कारण उच्च जोखिममा छ । झ्यारी र टोप्ला बस्तीसमेत राराको सीधै तल्लो तटमा रहेका झ्यारी र टोप्ला गाउँहरूमा पानीको सतह बढ्नेबित्तिकै बाढी र पहिरोको त्रास फैलिन्छ । यहाँका खेतीयोग्य जमिन र घरधुरीहरू प्रत्यक्ष जोखिममा छन् ।

राराको निकास खत्याड खोला भएर बग्ने भएकाले खत्याड क्षेत्रका फाँटहरू र बस्तीहरूमा कटान र बाढीको तीव्र खतरा रहन्छ र कर्णाली नदीको तटमा रहेको राराको तल्लो जलाधार क्षेत्र सोरुमा पनि पानीको बहाव बढेसँगै नदी कटानको जोखिम चुलिएको छ । स्थानीय बृखबहादुर रोकाया भन्छन्, ‘हामीले परापूर्वकालदेखि रारालाई पुज्दै आएका हौँ तर पछिल्ला वर्षहरूमा वर्षाको रूप फेरिएको छ । थोरै समयमा धेरै पानी पर्छ, राराको ढल र निकासले धान्न नसक्दा ताल भरिएर गाउँतर्फ सोझिने हो कि भन्ने डरले टोप्ला र झ्यारीका मानिसहरू रातभर जाग्राम बस्छन् ।’

हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर तीव्र गतिमा देखिएको छ । तापमान वृद्धिले गर्दा मौसमको चक्र बिग्रिएको छ । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जैविक विविधता धनी भए पनि जलाधार व्यवस्थापनमा आधुनिक प्राविधिक अध्ययनको कमी रहेको विश्लेषकहरूको ठम्याइ छ ।

तालको निकास विन्दुमा प्राकृतिक रूपमा रहेका ढुंगा, माटो र लेदो थुप्रिनाले पानी बग्ने गति सुस्त भएको छ । यदि कुनै ठूलो भूक्षय वा पहिरो तालमा खसेको खण्डमा उत्पन्न हुने तरङ्गले तालको किनार फुटाउने वा निकासलाई एक्कासि फराकिलो बनाई विनाशकारी बाढी ल्याउने खतरा प्राविधिकहरू औंल्याउँछन् ।

राराको जलस्तर, ऐतिहासिक वर्षाको आँकडा र प्रभावित क्षेत्रको नक्साङ्कन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बहस सिर्जना गर्नु आजको आवश्यकता हो । सम्भावित विपद्बाट बचाउन र राराको अस्तित्व रक्षा गर्न विभिन्न कदमहरू तत्काल चाल्नुपर्ने देखिन्छ । शुरुवाती चेतावनी प्रणालीको स्थापनाको खाँचो छ । रारा र खत्याड खोलामा जलस्तर मापन गर्ने स्वचालित यन्त्र राखी जोखिमको पूर्वसूचना दिने व्यवस्था मिलाउनु जरुरी छ ।

तालको प्राकृतिक निकासलाई क्षति नपु¥याई लेदो र अवरोधहरू हटाएर जलप्रवाह सुचारु गर्नुपर्छ । तटीय क्षेत्रमा तटबन्ध निर्माणको आवश्यकता छ । यसका लागि झ्यारी, टोप्ला, खत्याड र सोरुका जोखिमयुक्त क्षेत्रमा पर्खाल तथा तटबन्ध निर्माण गनुपर्छ । रारावरिपरिको भूक्षय रोक्न व्यापक वृक्षरोपण र भू–संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय तहले उद्धार र राहतको पूर्वतयारी चुस्त राख्ने व्यवस्था गर्नुपर्छ ।

रारा ताल नेपालको पहिचान र कर्णालीको समृद्धिको आधार हो । तर वातावरणीय बेवास्ता र जलवायु परिवर्तनका कारण यो सुन्दर तालवरपरका बस्तीहरूका लागि त्रासको कारण बन्नु अत्यन्तै दुःखद हो । गमगढी, झ्यारी, टोप्ला, खत्याड र सोरुका बासिन्दाहरूको भयलाई केवल अफवाह मानेर पन्छाउन मिल्दैन । सरकार, वातावरणविद्, प्राविधिक र सञ्चारकर्मीहरू मिलेर राराको वैज्ञानिक अध्ययन, जलस्तर व्यवस्थापन र तटीय क्षेत्रको सुरक्षामा तुरुन्तै ध्यान दिनु अपरिहार्य भइसकेको छ । समयमै कदम नचाले पछि पछुताउनुबाहेक केही बाँकी रहनेछैन ।