काठमाडौं।
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन भएको छ। ९१ वर्षको उमेरमा उनको बिहीबार बिहान निधन भएको हो।
विसं १९९२ मा धनुषाको एकराहीमा जन्मिएका डा. भट्टाचार्य नेपाली चिकित्सा क्षेत्रका अग्रज चिकित्सकका रूपमा परिचित थिए।
उनले प्रारम्भिक शिक्षा घरमै लिएपछि थप अध्ययनका लागि भारतको दरभंगा पुगेका थिए। भारतको नर्थब्रुक स्कुलबाट म्याट्रिकुलेसन र रामकृष्ण मिसन विद्यापीठबाट इन्टरमिडिएट अध्ययन गरेका उनले लखनउस्थित किङ जर्ज मेडिकल कलेजबाट विसं २०१४ मा एमबीबीएस उत्तीर्ण गरेका थिए।
चिकित्सा अध्ययन पूरा गरी नेपाल फर्किएपछि उनले वीर अस्पतालबाट चिकित्सकीय सेवा सुरु गरेका थिए। पछि शल्य चिकित्सामा विशेषज्ञता हासिल गरेका उनी नेपालका अग्रज सर्जनका रूपमा स्थापित भएका थिए।
नेपाली चिकित्सा क्षेत्रमा लामो समय योगदान दिएका डा. भट्टाचार्यले वीर अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) तथा नेपाल मेडिकल काउन्सिलको विकासमा महत्वपूर्ण योगदान पुर्याएको नेपाल चिकित्सक संघले जनाएको छ।
यसैबीच, नेपाल चिकित्सक संघले बिहीबार शोक वक्तव्य जारी गर्दै आफ्ना पूर्वअध्यक्ष एवं वरिष्ठ शल्य चिकित्सक डा. भट्टाचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।संघले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।











प्रतिक्रिया