काठमाडौँ।
चाडपर्व नजिकिँदै जाँदा सवारी साधन दर्ताको काममा बढेको चाप र सेवाग्राहीले भोग्दै आएका समस्याका विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र काठमाडौँ जिल्ला प्रशासन कार्यालयबीच छलफल भएको छ।
नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारी साधन दर्ता प्रक्रियामा देखिएका समस्या तथा त्यसको समाधानका विषयमा छलफल गरेको हो।
छलफलका क्रममा महासचिव मल्लले चाडपर्व नजिकिँदै गर्दा यातायात व्यवस्था कार्यालयमा सवारी दर्ताको चाप बढेको र उपलब्ध जनशक्ति सीमित हुँदा सेवाग्राही तथा कम्पनीका प्रतिनिधिको काम समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको बताए।
कम्पनीका प्रतिनिधिले आवश्यक कागजातसहित सवारी दर्तासम्बन्धी काममा सहजीकरण गर्दै आए पनि कार्यालयको नियमित प्रक्रिया तथा कर्मचारीको कार्यचापका कारण काम सम्पन्न हुन अपेक्षाभन्दा बढी समय लाग्ने गरेको उनले बताए। यस्तो समस्या समाधानका लागि तत्काल आवश्यक समन्वय र सहयोग गर्न उनले प्रशासनसँग आग्रह गरे।
छलफलमा नाडाका सचिव तथा दुईपाङ्ग्रे सवारी समिति सभापति मेघराज पौडेलले असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग नाडाका प्रतिनिधिले भेट गरी सवारी दर्तामा देखिएको समस्या समाधानका विषयमा छलफल गरिसकेको जानकारी दिए।
छलफलपछि प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सवारी दर्तासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयसँग आवश्यक छलफल तथा समन्वय गर्ने बताए।
भेटमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य विमल साह तथा नाडा दुईपाङ्ग्रे सवारी समितिका सदस्य योगेन गुरुङ र दीपक रौनियारको समेत उपस्थिति थियो।











प्रतिक्रिया