आइफोन १८ खरिदमा एनसेलको विशेष बन्डल अफर, डेटा र कलसहित ओटीटी सब्सक्रिप्सन


काठमाडौँ।

एनसेलले आइफोन १८ का नयाँ मोडल खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ।

एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि उक्त योजना ल्याएको हो।

कम्पनीका अनुसार यो अफर एनसेलका हालका प्रयोगकर्ता तथा नयाँ एनसेल सिम लिने ग्राहकले समेत प्राप्त गर्न सक्नेछन्।

योजनाअन्तर्गत आइफोन खरिद गर्ने ग्राहकले असीमित डेटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएस तथा प्रिमियम कन्टेन्ट उपलब्ध हुने लायन्सगेटको ओटीटी सब्सक्रिप्सन पाउनेछन्।

एनसेलका अनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स खरिद गर्ने पहिलो २०० जना ग्राहकले यी सुविधा तीन महिनासम्म निःशुल्क प्राप्त गर्नेछन्। त्यस्तै, आइफोन डुओ खरिद गर्ने पहिलो १०० जना ग्राहकले सोही सुविधा छ महिनासम्म अतिरिक्त शुल्कबिना प्रयोग गर्न पाउनेछन्।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा नयाँ आइफोन खरिदकर्ताका लागि योजना ल्याइएको बताए।

उनका अनुसार प्रिमियम डिभाइससँग मोबाइल सेवा जोडेर ग्राहकलाई कनेक्टिभिटी तथा मनोरञ्जनको सुविधा उपलब्ध गराउने उद्देश्यले बन्डल प्याकेज ल्याइएको हो।