इजरायली कार्टुनिस्ट नेपालमा, कला र दृश्य सञ्चारबारे अनुभव आदानप्रदान


काठमाडौं

इजरायलका तीन चर्चित कार्टुनिस्ट नेपाल आएर नेपाली कार्टुनिस्ट, विद्यार्थी तथा कलाकारसँग कला, कार्टुन र दृश्य सञ्चारका विविध पक्षबारे अनुभव आदानप्रदान गरेका छन्। इजरायल दूतावासको सहजीकरणमा निसिम हेज्कियाउ (नुस्को), प्रा. इतामार डाउबे र उरी फिन्क तीनदिने भ्रमणका क्रममा असोज १२ देखि १४ गतेसम्म नेपालमा रहेका थिए।

भ्रमणका क्रममा असोज १२ गते काठमाडौंमा ‘हाइएस्ट एन्ड लोएस्ट अन अर्थ’ (पृथ्वीको सबैभन्दा अग्लो र होचो स्थान) विषयमा इजरायली–नेपाली कार्टुन प्रदर्शनी आयोजना गरिएको थियो। प्रदर्शनीमा इजरायल र नेपालका कार्टुनिस्टका क्यारिकेचर तथा कार्टुन समावेश थिए। इजरायलीतर्फका कार्टुन निसिम हेज्कियाउले संयोजन गरेका थिए भने नेपालीतर्फको प्रदर्शनीमा कार्टुनिस्ट क्लब अफ नेपालका राजेश केसी र रवि मिश्रले नेतृत्व गरेका थिए।

प्रदर्शनीमा इजरायलको मृत सागर र नेपालको सगरमाथालाई विश्वका क्रमशः सबैभन्दा होचा र अग्ला भूभागका रूपमा प्रस्तुत गर्दै कला र कार्टुनमार्फत दुई देशलाई जोड्ने प्रयास गरिएको थियो।

कार्यक्रममा इजरायलका कार्यवाहक राजदूत जानान बेबारले कला र सिर्जनशीलताका माध्यमबाट दुई देशका नागरिकबीचको सम्बन्ध थप नजिक बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बताइन्। कार्टुनले सरल रेखा, सिर्जनात्मक विचार तथा हास्यका माध्यमबाट समाज र विश्वलाई फरक दृष्टिकोणबाट हेर्न प्रेरित गर्ने उनको भनाइ थियो। प्रदर्शनीका क्रममा इजरायली कलाकारहरूले सहभागीका प्रत्यक्ष क्यारिकेचरसमेत बनाए। उक्त सत्रमा सहभागीले आफ्नै क्यारिकेचर बनाउने अवसर पाएका थिए।

नेपाल भ्रमणका क्रममा इजरायली कलाकारहरूले नेपाली कार्टुनिस्टसँग समेत अन्तरक्रिया गरेका थिए। कार्टुनिस्ट क्लब अफ नेपालसँग आबद्ध कलाकारसँग भएको छलफलमा उनीहरूले कार्टुन र सिर्जनाको आफ्ना अनुभव तथा कार्यशैलीबारे जानकारी आदानप्रदान गर्नुका साथै भविष्यमा सहकार्यको सम्भावनाबारे छलफल गरेका थिए। भ्रमणमा रहेका कलाकारहरूले त्रिभुवन विश्वविद्यालय र दिव्यभूमि मल्टिपल कलेजमा पत्रकारिता तथा आमसञ्चारका विद्यार्थीका लागि व्याख्यान तथा अन्तरक्रियात्मक सत्रसमेत सञ्चालन गरेका थिए। ‘द नोशन अफ मोसन’, ‘एभ्रीवन क्यान मेक कमिक्स’ र ‘अन द फेस अफ क्यारिकेचर पोर्ट्रेट’ विषयमा सञ्चालन गरिएका सत्रमा कार्टुन, कमिक्स, क्यारिकेचर तथा दृश्य सञ्चारका विभिन्न पक्षबारे विद्यार्थीलाई जानकारी दिइएको थियो।

इजरायली कलाकार निसिम हेज्कियाउ (नुस्को) ले नेपालमा यस्तो विशेष प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताएका थिए। उनले नेपाललाई सुन्दर र मैत्रीपूर्ण देशका रूपमा उल्लेख गरेका थिए। हेज्कियाउ सन् २००१ देखि तेल अभिभमा आयोजना हुने एनिमिक्स–द इन्टरनेसनल फेस्टिभल अफ एनिमेसन, कमिक्स एन्ड क्यारिकेचरका कलात्मक निर्देशकका रूपमा कार्यरत छन्। प्रा. इतामार डाउबे शेन्कार कलेजमा दृश्य सञ्चार, एनिमेसन तथा गेम डिजाइन अध्यापन गर्छन् र येदिओथ अहरोनोथका सम्पादकीय क्यारिकेचरिस्ट हुन्। उरी फिन्क इजरायलको चर्चित कमिक शृंखला ‘ज्बेङ’का सर्जक तथा इजरायली कार्टुनिस्ट्स एन्ड कमिक्स आर्टिस्ट्सका अध्यक्ष हुन्। उनी मारिभ दैनिकका राजनीतिक कार्टुनिस्टसमेत हुन्।

प्रदर्शनी, कलाकारबीचको अन्तरक्रिया तथा विद्यार्थी लक्षित व्याख्यानले नेपाल र इजरायलबीच कार्टुन, कमिक्स तथा दृश्य सञ्चारका क्षेत्रमा अनुभव र सिर्जनात्मक अभ्यास आदानप्रदानको अवसर दिएको आयोजकले जनाएको छ।