काठमाडौँ।
सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच ४ करोड अमेरिकी डलर बराबरको ‘रिस्क सेयरिङ्ग ‘ जोखिम साझेदारी सुविधासम्बन्धी सम्झौता भएको छ।
आईएफसीको स्मल लोन ग्यारेन्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत भएको उक्त सम्झौताअनुसार सिद्धार्थ बैंकले प्रवाह गर्ने लघु, साना तथा मझौला उद्यम (एमएसएमई) कर्जामा निहित जोखिमको ५० प्रतिशत हिस्सा आईएफसीले वहन गर्नेछ। यसबाट देशभरका साना तथा मझौला व्यवसायमा कर्जा विस्तार गर्ने बैंकको क्षमता थप बलियो हुने अपेक्षा गरिएको छ।
नेपालमा आईएफसीले जोखिम साझेदारीका लागि गरेको यो पहिलो पहल भएको बैंकले जनाएको छ। सम्झौताले विशेषगरी चुनौतीपूर्ण आर्थिक परिस्थितिबाट गुज्रिरहेका साना तथा मझौला व्यवसायीलाई कर्जा पहुँच विस्तार गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।
सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले आईएफसीसँगको ४ करोड अमेरिकी डलरको जोखिम साझेदारी सुविधा बैंकको एमएसएमई कर्जा पोर्टफोलियो विस्तारका लागि महत्वपूर्ण कदम भएको बताएका छन्।
उनका अनुसार विवेकपूर्ण कर्जा मापदण्ड कायम राख्दै एमएसएमई क्षेत्रमा कर्जा विस्तार गर्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने तथा रोजगारी सिर्जना गर्दै नेपालको समावेशी आर्थिक वृद्धिमा योगदान पुर्याउने बैंकको लक्ष्य छ।
आईएफसी र सिद्धार्थ बैंकबीचको सहकार्य लामो समयदेखि जारी छ। सन् २०१४ मा सिद्धार्थ बैंक आईएफसीको ग्लोबल ट्रेड फाइनान्स प्रोग्राममा आबद्ध भएको थियो। त्यसपछि बैंकले अन्तर्राष्ट्रिय करेस्पोन्डेन्ट बैंकहरूको सञ्जालसँग जोडिन थप सहजता प्राप्त गरेको जनाएको छ।
त्यस्तै, सन् २०२३ मा सिद्धार्थ बैंकले आईएफसीबाट ५ करोड ५० लाख अमेरिकी डलर बराबरको सिन्डिकेटेड कर्जा सुविधा प्राप्त गरेको थियो। बैंकका अनुसार उक्त कर्जा नेपालको वित्तीय क्षेत्रमा आईएफसीबाट प्रवाह भएको ठूलो विदेशी मुद्राको सिन्डिकेटेड कर्जामध्ये एक थियो।
यसका अतिरिक्त बैंकले जोखिम व्यवस्थापन, लैङ्गिक वित्त, डिजिटल वित्त तथा जलवायु वित्तका क्षेत्रमा संस्थागत क्षमता अभिवृद्धिका लागि आईएफसीसँग परामर्श सेवामार्फत सहकार्य गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि आईएफसीसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ।











प्रतिक्रिया