काठमाडौं।
नेपाली महिलाको सशक्तीकरणका सवाललाई विभिन्न सञ्चारमाध्यममार्फत उजागर गर्दै लैङ्गिक समानता, समावेशिता र महिला अधिकारका विषयमा नीतिगत तहको ध्यानाकर्षण गराउने उद्देश्यले ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना सञ्चालन गरिएको छ ।
नेपाल सरकार, युरोपियन युनियन र संयुक्त राष्ट्रसङ्घ नेपालद्वारा सञ्चालित उक्त परियोजना कर्णाली प्रदेशका १०, मधेश प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १० गरी तीन प्रदेशका ३२ स्थानीय तहमा सञ्चालन भइरहेको छ ।
परियोजनाले महिलालाई पछाडि पार्ने सामाजिक कुरीति, हानिकारक अभ्यास तथा विभेदकारी परम्परा अन्त्य गर्दै भेदभावमुक्त समाज निर्माण, महिलाको आर्थिक सशक्तीकरण र शासन प्रणालीको सुदृढीकरणका क्षेत्रमा काम गरिरहेको छ ।
परियोजनाअन्तर्गत तीन प्रदेशका २६ जना सञ्चारकर्मीले महिला सशक्तीकरण, लैङ्गिक विभेदविरुद्धका अभ्यास, सामाजिक कुरीति तथा समावेशितालगायतका विषयमा ४५ वटा लेख प्रकाशित गरेका छन् । सञ्चारमाध्यममार्फत महिला अधिकारका सवाललाई सार्वजनिक बहसमा ल्याउँदै नीति निर्माण तहका जिम्मेवार व्यक्तिहरूको ध्यानाकर्षण गराउने कामसमेत भएको छ ।
परियोजनाअन्तर्गत विगत दुई वर्षदेखि तीन प्रदेशमा कार्यरत सञ्चारकर्मीहरूले गरेका काम, उपलब्धि र अनुभवको समीक्षा गर्न आयोजित राष्ट्रिय समीक्षा कार्यशालामा सहभागी पत्रकारहरूले समाचार तथा लेख प्रकाशनका क्रममा भोगेका अनुभव र चुनौती सुनाएका थिए ।
कार्यशालामा जनकराज भट्टले परियोजनाअन्तर्गत भएका विभिन्न गतिविधि र तिनले पारेका सकारात्मक प्रभावबारे जानकारी गराउनुभयो ।
सो अवसरमा नेपाल टेलिभिजन तथा रेडियो नेपालका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले महिलाले घरपरिवारको जिम्मेवारी निर्वाह गर्दै पेसा तथा व्यवसायलाई समेत सँगसँगै अगाडि बढाउनुपर्ने चुनौती रहे पनि महिलाहरूले निरन्तर प्रयास गरिरहेको र यो क्रम बढ्दै गएको बताउनुभयो ।
महिलाले काम गर्न सक्दैनन् भन्ने धारणा राख्नुभन्दा पहिले उनीहरूलाई काम गर्ने अवसर दिनुपर्ने उहाँको भनाइ थियो । महिलालाई पेसागत रूपमा अगाडि बढाउन महिलामैत्री वातावरण निर्माण गर्नुका साथै उनीहरूको पारिवारिक तथा सामाजिक जिम्मेवारीलाई पनि ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
युरोपियन युनियनकी टिम लिडर ग्रीट्यू लोवागीले लैङ्गिक समानता कायम गर्न महिलाको शिक्षा, स्वास्थ्य तथा पेसा–व्यवसायमा पहुँच र अवसर विस्तार गर्नुपर्ने बताउनुभयो । महिलाको सशक्तीकरणका लागि सञ्चालित परियोजनामा युरोपियन युनियनले सहकार्य गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यशालामा विज्ञहरू अरुण कार्की, शिव भण्डारी, सन्त गाह, रमेशप्रसाद भुषाल र सोनिया अवालेलगायतले विभिन्न विषयमा सहभागी सञ्चारकर्मीलाई प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी सञ्चारकर्मी मधु शाहीले महिलाले पारिवारिक तथा सामाजिक जिम्मेवारी पूरा गर्दै आफ्नो पेसामा निरन्तरता दिन गर्नुपर्ने सङ्घर्ष र अनुभव सुनाउनुभयो ।
नेपाल प्रेस काउन्सिलका सदस्य रविराज बरालले सञ्चारकर्मीको पेसागत हित, पत्रकारिताको मर्यादा र सञ्चारकर्मीका पक्षमा काउन्सिलले निर्वाह गर्ने दायित्वबारे चर्चा गर्नुभएको थियो ।
कार्यशालामा महिला सशक्तीकरणका सवाललाई समाचार र लेखमार्फत निरन्तर उठान गर्नुपर्ने, स्थानीय तहमा देखिएका लैङ्गिक विभेदका घटनालाई उजागर गर्दै नीतिगत सुधारका लागि सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो ।











प्रतिक्रिया