काठमाडौं।
ऋण तिर्न बाँकी रहेको भन्दै टर्कीमा इरानी यात्रुवाहक विमानलाई उडान गर्नबाट रोकिएको छ।
बीबीसी पर्सियनले इरानी समाचार संस्था तस्निमलाई उद्धृत गर्दै उक्त विमान इरानको निजी वायुसेवा कम्पनी क्यास्पियन एयरलाइन्सको रहेको जनाएको छ।
अदालतको आदेशपछि इस्तानबुल विमानस्थलमा विमान रोकिएको हो। बोइङ ७३७–५०० मोडलको उक्त विमान इस्तानबुलबाट इरानको राजधानी तेहरानका लागि उडान भर्ने तयारीमा थियो। तर अदालतको आदेशपछि विमानलाई उड्न नदिइएको र त्यसमा रहेका यात्रुलाई ओर्लन लगाइएको बताइएको छ।
उड्डयनसम्बन्धी सञ्चारमाध्यम तामसेल गजेटामका अनुसार क्यास्पियन एयरलाइन्सले करिब ३० लाख युरो ऋण तिर्न बाँकी रहेको थियो। सोही ऋण असुलीका लागि विमान नियन्त्रणमा लिन अदालतबाट आदेश जारी भएको जनाइएको छ।
यस विषयमा क्यास्पियन एयरलाइन्सको जनसम्पर्क विभागले भने विमानको सञ्चालनमा प्रशासनिक समस्याका कारण अस्थायी असर परेको जनाएको छ।
कम्पनीले समस्या समाधानका लागि कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइएको र नियन्त्रणमा लिइएको विमान मंगलबार नै इरान फर्कने बताएको छ।
विमानलाई किन र कसको दाबीका आधारमा नियन्त्रणमा लिइएको हो भन्ने विषयमा थप विवरण भने सार्वजनिक भइसकेको छैन।











प्रतिक्रिया