रेबिजको जोखिम कायमै, दैनिक ७ सयसम्म खोप लगाउन अस्पताल पुग्छन्


काठमाडौं ।

नेपालमा रेबिजको जोखिम अझै उच्च देखिएको छ। आर्थिक वर्ष २०८१/०८२ मा मात्रै देशभर २ लाख २३ हजार ५१० वटा रेबिजसम्बन्धी घटना रिपोर्ट भएका छन्। तीमध्ये ९६ प्रतिशत घटना कुकुरको टोकाइसँग सम्बन्धित रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।

विश्व रेबिज दिवसका अवसरमा आज (सेप्टेम्बर २८) नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी ‘सँगै हुँदा अझ सशक्त’ भन्ने नाराका साथ यस वर्षको दिवस मनाइयो।

नेपाल सरकारले सन् २०३० सम्म मानव रेबिजबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको भए पनि रेबिजविरुद्धको खोप लगाउन स्वास्थ्य संस्थामा आउनेको संख्या उच्च छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा. अनुप बाँस्तोलाका अनुसार अस्पतालमा दैनिक औसत ६०० देखि ७०० जनासम्म रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन्।

नेपालमा हुने मानव रेबिजका करिब ९९ प्रतिशत घटना कुकुरको टोकाइबाट हुने गरेको तथ्यांक छ। कुकुरबाहेक स्याल, बिरालो, बाँदर र फ्याउरोजस्ता संक्रमित जनावरबाट पनि रेबिज सर्न सक्छ। संक्रमित जनावरको टोकाइ, कोताराइ वा घाउमा र्‍यालको सम्पर्कबाट मानिसमा भाइरस सर्न सक्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार रेबिजका कारण विश्वभर हरेक वर्ष करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ। एसियामा मात्रै वार्षिक करिब ३५ हजार मानिसले रेबिजका कारण ज्यान गुमाउने गरेका छन्। रेबिजबाट बच्न जोखिममा परेपछि समयमै उपचार गर्नु अत्यन्त महत्वपूर्ण मानिन्छ।

सरकारी तथ्यांकअनुसार नेपालको करिब आधा जनसंख्या रेबिजको उच्च जोखिम क्षेत्रमा र एक चौथाइ जनसंख्या मध्यम जोखिम क्षेत्रमा बसोबास गर्छन्। विशेषगरी बालबालिका र कृषक बढी जोखिममा रहेका छन्। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचमा हुने कठिनाइ तथा संक्रमित जनावरसँगको सम्पर्कले जोखिम थप बढाउने गरेको छ।

हाल नेपालमा २८६ वटा सेवा केन्द्रबाट रेबिजविरुद्धको खोप उपलब्ध गराइँदै आएको छ। तर रेबिज नियन्त्रणका लागि खोपको उपलब्धतासँगै कुकुरको सामूहिक खोप अभियान, संक्रमित जनावरको पहिचान, जनचेतना अभिवृद्धि तथा टोकाइपछि तत्काल उपचारको व्यवस्था आवश्यक रहेको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन्।

रेबिजबाट बच्न के गर्ने ?

कुनै जनावरले टोकेमा वा कोतरेमा घाउलाई साबुन र सफा पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्छ। त्यसपछि तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर चिकित्सकको सल्लाहअनुसार रेबिजविरुद्धको खोप लगाउनुपर्छ। आवश्यक अवस्थामा रेबिज इम्युनोग्लोबुलिनसमेत प्रयोग गरिन्छ।

जनावर सामान्य देखिएको भन्दै टोकाइलाई बेवास्ता गर्नु जोखिमपूर्ण हुन सक्छ। रेबिजका लक्षण देखिएपछि रोग प्रायः घातक हुने भएकाले संक्रमण हुनुअघि नै रोकथाम गर्नु सबैभन्दा प्रभावकारी उपाय मानिन्छ।

नेपालले सन् २०३० सम्म मानव रेबिजबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य हासिल गर्न मानव तथा पशु स्वास्थ्य क्षेत्रबीचको समन्वय, कुकुरमा खोप अभियान विस्तार र समुदायस्तरमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

हरेक वर्ष सेप्टेम्बर २८ मा विश्व रेबिज दिवस मनाइन्छ। फ्रान्सेली वैज्ञानिक लुइस पाश्चरको स्मृति दिवसका रूपमा समेत मनाइने यो दिन रेबिजविरुद्धको पहिलो खोप विकासमा उनको योगदानसँग जोडिएको छ। सन् २००७ देखि ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले यो दिवस मनाउँदै आएको हो।