काठमाडौं
रोगको प्रकोप तथा महामारीको सूचना तत्काल संकलन, प्रवाह र विश्लेषण गरी नियन्त्रणका उपाय प्रभावकारी बनाउन स्वास्थ्य सेवा विभागले रोग निगरानी प्रणालीलाई देशभर विस्तार गर्ने भएको छ। यसका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मधेश, लुम्बिनी र कर्णाली प्रदेशका स्थानीय तहमा वितरण गर्न ३५४ वटा ट्याब्लेट स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरेको छ।
पाण्डमिक फण्डको आर्थिक सहयोगमा खरिद गरिएका ट्याब्लेट सोमबार स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रममा डब्लुएचओ नेपालका निमित्त प्रतिनिधि डा. एलिसन गोकोटानोले विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन्।
उक्त ट्याब्लेट तीन प्रदेशका स्थानीय तहमा कार्यरत र्यापिड रेस्पोन्स टिम (आरआरटी) का फोकल पर्सनले प्रयोग गर्नेछन्। यसअघि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका स्थानीय तहका आरआरटीलाई ट्याब्लेट उपलब्ध गराइसकिएको थियो। पछिल्लो हस्तान्तरणसँगै रोग निगरानीका लागि आवश्यक डिजिटल उपकरण सातवटै प्रदेशमा विस्तार हुने भएको छ।
विभागका निमित्त महानिर्देशक डा. पौडेलले रोग निगरानी प्रणालीलाई चुस्त, प्रभावकारी र विश्वसनीय बनाउन स्थानीय तहदेखि केन्द्रसम्म सूचना आदानप्रदान सहज बनाउन ट्याब्लेट उपलब्ध गराइएको बताए।
ट्याब्लेटमा ‘सोरमास’ अर्थात् सर्भिलेन्स, आउटब्रेक रेस्पोन्स म्यानेजमेन्ट एन्ड एनालाइसिस सिस्टम जडान गरिएको छ। कुनै पनि रोगको प्रकोप देखिनासाथ स्थानीय तहमा सक्रिय आरआरटीका प्रतिनिधिले उक्त प्रणालीमार्फत तत्काल सूचना प्रवाह गर्न सक्नेछन्। यसबाट रोगसम्बन्धी सूचना समयमै अद्यावधिक हुनुका साथै प्रकोप नियन्त्रणका लागि आवश्यक समन्वय र सहजीकरण छिटो गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डा. पौडेलका अनुसार यसअघि नेपालमा सूचकमा आधारित रोग निगरानी प्रणाली अभ्यासमा थियो। कोभिड–१९ महामारीपछि जनस्वास्थ्यसम्बन्धी घटना र जोखिमलाई तत्काल पहिचान गर्न घटनामा आधारित निगरानी प्रणाली आवश्यक देखिएपछि नयाँ प्रणाली लागू गरिएको हो।
‘विगतमा इन्डिकेटर बेसमा रोग निगरानी गर्ने गरेका थियौँ। अर्ली वार्निङ रिपोर्टिङ सिस्टमलाई केही परिमार्जन गरेर यो नयाँ प्रणाली लागू गरेका हौँ,’ उनले भने, ‘कोभिड–१९ आइसकेपछि हामीले इभेन्ट बेसमा जनस्वास्थ्यका रिपोर्ट हुनुपर्छ भन्ने महसुस गर्यौँ। सुरुमा यो प्रणाली सुदूरपश्चिम र गण्डकी प्रदेशबाट लागू भयो, अब देशभर यसको कार्यान्वयन हुने भएको छ।’
घटनामा आधारित निगरानी प्रणालीले नियमित तथ्यांक संकलनमा मात्र सीमित नभई असामान्य स्वास्थ्य घटना, रोगको प्रकोप तथा सम्भावित महामारीको संकेत तत्काल पहिचान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। स्थानीय तहबाट प्राप्त सूचना केन्द्रसम्म छिटो पुग्दा जोखिमको विश्लेषण, आवश्यक जनशक्ति परिचालन तथा नियन्त्रणका उपाय कार्यान्वयनमा सहजता आउने विभागको विश्वास छ।
नेपालले पाण्डमिक फण्डअन्तर्गत १८ मिलियन अमेरिकी डलर प्राप्त गरेको छ। उक्त रकमबाट जनस्वास्थ्यमा प्रभाव पार्ने रोगहरूको निगरानी तथा नियन्त्रण क्षमता अभिवृद्धि गर्न मुख्य तीन क्षेत्रमा काम गर्ने योजना रहेको छ।
यसअन्तर्गत जनस्वास्थ्यसँग सम्बन्धित रोग तथा महामारी व्यवस्थापनका लागि जनशक्तिलाई तालिम दिने, जनशक्ति व्यवस्थापन गर्ने र प्रयोगशालाको क्षमता विकास गर्ने कार्यक्रम समावेश छन्। सोही योजनाअन्तर्गत रोग निगरानी प्रणालीलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन ट्याब्लेट खरिद गरी स्थानीय तहसम्म वितरण गरिएको हो।
पाण्डमिक फण्डको रकम नेपालले प्राप्त गरे पनि यसको कार्यान्वयन संयुक्त राष्ट्रसंघीय निकायमार्फत हुने व्यवस्था छ। सोही व्यवस्थाअन्तर्गत डब्लुएचओले ट्याब्लेट खरिद गरी स्वास्थ्य सेवा विभागलाई उपलब्ध गराएको हो।
डिजिटल प्रणालीमार्फत स्थानीय तहमा देखिने स्वास्थ्य जोखिमको सूचना तत्काल केन्द्रसम्म पुर्याउन सकिएमा रोगको प्रकोप विस्तार हुनुअघि नै पहिचान र नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले संघ, प्रदेश र स्थानीय तहबीच जनस्वास्थ्य आपत्कालीन प्रतिकार्यमा समन्वय थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।











प्रतिक्रिया