
मानिसको जीवनमा केही यस्ता अकल्पित मोडहरू आउँदा रहेछन्, जसले जीवनभरिका लागि कहिल्यै नपुरिने घाउ र कहिल्यै नमेटिने पीडा दिएर जान्छन् । २०८१ साल असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण नागढुंगा–नौबीसे सडकखण्डमा पर्ने झ्याप्लेखोलामा आएको भीषण पहिरो केवल एउटा प्राकृतिक विपत्ति मात्र थिएन, मेरो परिवारका लागि त्यो एउटा कहिल्यै नब्युँझिने कालो सपना बन्यो ।
असोज १२ गते संसारभर ‘विश्व मुटु दिवस’ मनाइँदै गर्दा, त्यही दिन झ्याप्लेखोलाको पहिरोले मेरो मुटुको टुक्रा, मेरी प्यारी बहिनी पुष्पाकुमारी शर्मालाई सधैँका लागि खोसेर लग्यो । गोर्खा, बुटवल र चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सवारीसाधनहरू पहिरोमा पुरिँदा ३५ जना निर्दोष नागरिकसँगै चितवनबाट काठमाडौंका लागि छुटेको हायस (माइक्रोबस) मा सवार मेरी बहिनी पनि अस्ताउन पुगिन् ।
सानोमा आमासँगै उनलाई काखमा बोकेर, खेलाएर, हुर्काएका क्षणहरू आज पनि मेरा आँखाअगाडि झल्झली आउँछन् । तोते बोली बोल्दै साना–साना पाउ मेरा पछि–पछि लाग्ने त्यो सानी पुष्पा कसरी हेर्दाहेर्दै मेरो सबैभन्दा ठूलो हिम्मत र सहारा बनिन्, मैले पत्तै पाइनँ । उमेरले म जेठी भए पनि व्यवहारमा उनी मेरो मार्गदर्शक थिइन् । मेरो साथी, मेरो प्रेरणाको स्रोत र हरेक सुख–दुःखमा सही सुझाव दिने एउटा परिपक्व अभिभावक जस्तै थिइन्– पुष्पा । काम, व्यवहार र जीवनका उतार–चढावहरूमा उनले मलाई दिएको साथ र प्रोत्साहन नै मेरो जीवनको ठूलो शक्ति थियो ।
म आफैं पनि सञ्चारकर्मी भएकाले देशभरिका बाढी–पहिरोका समाचार अपडेट गरिरहेकी थिएँ । २०८१ असोज ११ गते ठाउँ–ठाउँमा पहिरो गएको समाचार अनलाइन पोर्टल ‘न्युज अफ नेपाल डट कम’ मा पोस्ट गर्दैगर्दा दिउँसो २ बजेतिर बहिनी काठमाडौं आउँछु भन्थी कहाँ पुगी होली भन्ने कौतुहल जाग्यो । उनलाई फोन गरें । ‘म त भर्खर कुरिनटार कटें’ भनिन् । काठमाडौं किन ढिलो हिँड्यौ भन्दा अफिसमा काम गरेर हिँड्दा ढिला भयो भनिन् ।
बेलुकापख उनको मोबाइलमा फोन लागेन । त्यसपछि बहिनीले दिएको माइक्रो चालकको फोनमा कल गर्दा आमासँग र मसँग गफ गरेकी थिइन् । राति ११ः४५ बजेतिर पनि उनीसँग मेरो फोनमा कुरा भएको थियो । कहाँ आइपुग्यो ? भनी सोद्धा ‘पहिरो गएर जाममा छु, ठूलो पानी परिरहेको छ, ठाउँ चाहिँ मलाई थाहा भएन’ भनिन् । माइक्रोचालकले पनि चिन्ता नलिन भन्दै आफू पनि मनमैजुमै बस्ने भएकाले बहिनीलाई घरै प¥याइदिन्छु भनेका थिए ।
फोनमा कुरा हुँदै गर्दा उनले भनेकी थिइन्– ‘दिदी, यहाँ त पहिरोले गाडी रोकिएको छ ।’ मैले पनि एउटा पत्रकारको सहज स्वभाव र ठट्यौली पारामा भनेकी थिएँ– ‘ल, त्यहाँको फोटो र भिडियो मलाई पठाऊ, म पोस्ट गर्छु ।’ तर, मलाई के थाहा– मेरो त्यो ठट्टा र बहिनीसँगको त्यो कुराकानी नै जीवनको अन्तिम संवाद बनिसकेको रहेछ !
१२ गते बिहान फोन सम्पर्क हुन सकेन । ठाउँ–ठाउँमा पहिरो जानु र फोन सम्पर्क पनि नहुँदा मेरा श्रीमान्, काका, मामा, सानोबुबा, भाइहरु लगायत आफन्तहरू खोजबिन गर्न गएका थिए । पहिरो गएका कारण थानकोटबाट अगाडि प्रहरीले जान दिएनन् । ‘हामीले उद्धार कार्य गरिरहेका छौं । हाम्रो सम्पर्कमा रहनुस्’ भनेर प्रहरीले घर फर्काइदिए ।
असोज १२ गते बेलुकाको त्यो विरक्तलाग्दो खबरले सबै कुरा एकाएक खोसेर लगे झैं लाग्यो । काठमाडौं छिर्ने मुख्य नाकामै पहिरोले गाडीहरू पुरेको खबर सुन्दा मनमा चिसो पसेको थियो । असोज १३ गते शिक्षण अस्पताल (टिचिङ हस्पिटल) पुग्दाको त्यो दृश्य म जीवनभर बिर्सन सक्दिनँ । अस्पतालको त्यो स्तब्ध वातावरण र क्षत–विक्षत अवस्थामा रहेका शवहरू देख्दा हाम्रो होस् उडेको थियो । सुरूमा त आफ्नै बहिनीलाई पहिचान गर्न पनि गाह्रो प¥यो । परिवारका सबैजना भावबिह्वल थियौं, रुनु र कराउनुको विकल्प हामीसँग केही थिएन ।
चितवनबाट काठमाडौं आउनुअघि उनले मलाई भनेकी थिइन्, ‘दिदी, म सोमबार पशुपतिनाथको दर्शन गर्न जानु छ है !’ तर समयको कस्तो दर्दनाक व्यङ्ग्य ! मेरी प्यारी बहिनी सोमबार नै पशुपति पुगिन् । तर पशुपतिनाथको दर्शन गर्न जीवित रूपमा होइन, आफ्नै अन्त्येष्टिका लागि निश्चेष्ट शव बनेर !
घटना घटेको करिब ६-७ दिनपछि मात्रै ३५ जना मृतकको आधिकारिक नामावलीको सूची सार्वजनिक भएको थियो । सञ्चारकर्मीको नाताले दैनिक सयौं समाचार पोस्ट गर्थें । तर, मृतकको नामावलीको सूचीमा १४औं नम्बरमा आफ्नै बहिनी पुष्पाको नाम देखेपछि त्यो समाचार सम्प्रेषण गर्न मलाई निकै गाह्रो भएको थियो ।
काँप्दै गरेका औंला र भक्कानिएको छाती लिएर आफ्नै बहिनीको निधनको खबर पोस्ट गर्दाको त्यो क्षण सम्झिँदा आज पनि मेरो मुटु सिरिङ्ग हुन्छ । दैवको कस्तो क्रूर खेल !
चाडपर्व आउँदा, कतै यात्रा गर्दा होस् या कसैका दिदी–बहिनीलाई देख्दा आँशु झरेको पत्तै पाउँदिनँ । अरूले किन रोएकी भनेपछि झसङ्ग हुन्छु । आमाले बहिनीलाई सम्झेर आँशु झार्दा विभिन्न घटनाक्रम सुनाएर उहाँलाई सम्झाउने गरेकी छु । तर, आफैंको कमजोरी लुकाउन सक्दिनँ, आँशु झरिहाल्छन् । सानो छँदा तेल लगाउने, काखमा राखेर खेलाउने गरेकी बहिनीलाई अन्तिम श्रद्धाञ्जली दिँदा सम्हालिन गाह्रो भएको थियो । यो कस्तो बाध्यतात्मक र बिर्सन नसकिने संयोग !
झ्याप्लेखोलाको त्यो पहिरोले पुष्पालाई मात्र खोसेन, मेरो जीवनको एउटा ठूलो आड र भरोसा पनि ढालेर गयो । तर, उनी शारीरिक रूपमा हामीमाझ नरहे पनि उनले मलाई दिएको माया, सुझाव, प्रेरणा र ती अनगिन्ती सम्झनाहरू मेरो हरेक सास र धड्कनमा जीवन्त रहनेछन् । उनको हँसिलो अनुहार नसम्झेको दिन छैन । विशेष गरी, पानी पर्दा बाढी–पहिरोका समाचार सम्प्रेषण गर्दा बहिनीको स्मृतिले मलाई पीडा हुन्छ । गाह्रो बनाउँछ ।
आफन्तजन र इष्टमित्रहरूको उपस्थितिमा पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गर्दै गर्दा मेरो मनले बारम्बार एउटै प्रश्न सोधिरहेको थियो– ‘यति कलिलो उमेरमा, यति धेरै सपना बाँकी छँदै किन उनले हामीलाई छोडेर जानुप¥यो ?’ अल्पायुमै अस्ताएकी मेरी प्यारी बहिनी पुष्पा, तिमी जहाँ भए पनि तिम्रो आत्माले शान्ति पाओस् । तिमी सधैं मेरो मुटुमा अमर रहनेछौ ! हार्दिक श्रद्धासुमन !











प्रतिक्रिया