चितवन।
देवघाटधामस्थित नारायणी नदी किनारमा निर्माणाधीन विद्युतीय शवदाह गृह बाढी र नदी कटानको उच्च जोखिममा परेको छ। निर्माणको काम अन्तिम चरणमा पुगेका बेला नारायणी नदीको बाढी भवन परिसरमै प्रवेश गरेपछि निर्माणाधीन संरचना क्षतिग्रस्त हुने जोखिम बढेको हो।
नारायणी नदीमा पानीको बहाव बढेसँगै बाढी शवदाह गृहको परिसरमा पसेको छ। देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सनद बरालका अनुसार दुई तले शवदाह गृहको जमिनमाथिको पहिलो तलासम्म बाढीको पानी पुगेको छ। भवनको पश्चिमतर्फबाट नारायणी नदीले कटानसमेत सुरु गरेपछि संरचना थप जोखिममा परेको उहाँले जानकारी दिनुभयो।
नदी किनारमा ग्राभेल भरेर क्षेत्र फराकिलो बनाएर शवदाह गृह निर्माण गरिएको हो। नदीको बहाव बढ्दा निर्माणस्थलको पश्चिमतर्फ कटान भइरहेकाले भवनको जग तथा संरचनामा असर पुग्न सक्ने अवस्था देखिएको छ। यसअघि साउनमा आएको बाढीका कारण पनि निर्माणस्थल नदी कटानको जोखिममा परेको थियो।
बाढी र कटानको जोखिमसँगै लामो समयदेखि निर्माणाधीन शवदाह गृहको कामसमेत थप अन्योलमा परेको छ। २०७५ माघ ३ गते मिलिनियम सिद्धगढी जेभीले निर्माणको ठेक्का पाएको थियो। सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थपिँदै आएको छ।
पछिल्लो म्यादअनुसार २०८१ पुस २९ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि तोकिएको अवधिमा काम पूरा हुन सकेको छैन। निर्माणको अन्तिम चरणमा पुगेको संरचना अहिले बाढी र नदी कटानको जोखिममा परेपछि बाँकी कामसमेत प्रभावित हुने अवस्था बनेको छ।
संघीय सरकारको बजेटबाट निर्माण भइरहेको शवदाह गृहका लागि ११ करोड २१ लाख ८ हजार ६ सय ४१ रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो। निर्माण सम्पन्न भएपछि देवघाटमा विद्युतीय माध्यमबाट शवदाह गर्ने सुविधा उपलब्ध हुने अपेक्षा गरिएको थियो।
तर निर्माणस्थल नै नदी कटानको जोखिममा परेपछि दीर्घकालीन सुरक्षाको विषयसमेत उठेको छ। नदी किनारमा निर्माण गरिएको संरचनालाई बाढी तथा कटानबाट जोगाउन आवश्यक संरक्षणका काम नगरिए निर्माण सम्पन्न भए पनि संरचनाको सुरक्षामा चुनौती रहने देखिएको छ।











प्रतिक्रिया