भविष्य र समृद्धिको आधार– मदन भण्डारी लोकमार्ग

188
Shares

उदयपुर । पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण शुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण गरिएको सडक उदयपुर जिल्लाका जनताको विकास तथा आर्थिक समृद्धिका लागि आधार तथा कोसे ढुंङ्गा साबित भएको छ । यातायातका क्षेत्रमा मात्र नभएर स्थानीय जनताको आर्थिक समृद्धि, रोजगारी, व्यापार व्यवसाय, उद्योगधन्दा, कृषि उत्पादन, कृषि उपजको बजारीकरण गर्नमा समेत ठूलो सहयोग पुगेको छ ।

उदयपुरको ८ पालिकामध्ये ६ वटा पालिकाको सडक यातायातको मुख्य मार्गका रुपमा रहेको मदन भण्डारी लोकमार्गका विभिन्न स्थान अहिले व्यावसायिक तथा व्यापारिक केन्द्रका रुपमा विकसित हुँदै गएका छन् ।

चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामाका अनुसार चौदण्डीगढी नगरपालिकाको वडा नं. ३, ४, ६, ७, ९ र १० मदनभण्डारी लोकमार्गमा पर्दछ । जुनसुकै विकास निर्माणमा पनि सडक पूर्वाधारको महत्वपूर्ण भूमिका हुन्छ । सडकलाई आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक, स्वास्थ्य, अन्य व्यापार व्यवसायलगायतका विकासका अनेकौँ कामको जननीका रुपमा लिइने लामाले बताउनुभयो ।
चौदण्डीगढी नपाका लागि मदन भण्डारी लोकमार्गले बहुआयामिक विकासमा सहयोग गरेको छ ।

कलकारखाना सञ्चालनमा सम्भावना बढ्दै गएको छ । यसले राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्दछ । सर्वसाधारण तथा सीप, क्षमता, ज्ञान भएकाहरुका लागि गरिखाने अवसर आएको छ । अविकसित गाउँहरुको स्तर बढेर बजारीकरण भइरहेको छ । बाहिरी जिल्लाबाट सुविधाको खोजीमा बसाइँ सराइ गरेर आउनेहरुको संख्या बढ्दै गएको छ ।

व्यापार व्यवसाय गर्न आउनेहरु पनि बढेका छन् । जनसंख्या बढ्दै गएको छ भने मानिसहरु व्यावसायिक हुँदै गएको पाइएको छ । सामाजिक क्षेत्रमा परिवर्तनका ढोकाहरु खुलेका छन् । केही गरौँ भन्ने सोच भएका स्थानीयले व्यापार व्यवसाय, कृषि उत्पादन, पर्यटन प्रवद्र्धन कार्यक्रममा सहभागिता बढाएका छन् । समष्टिगत रुपमा स्थानीय जनताको जीवनस्तर माथि उठ्दै गरेको अवस्था रहेको नगर प्रमुख लामाको भनाइ छ ।

सप्तरीको बरमझिया क्षेत्रका पेडा व्यापार गर्नेहरु चौदण्डीगढीको वडा नं. ३, ४, ६ र ७ मा पेडा पसल खोलेर बसेका छन्, जुन मदन भण्डारी लोकमार्गकै कारणले हो । खासगरी उदयपुरको पूर्वी सीमा बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालका र पश्चिमी सीमा कटारी नगरपालिकाका केही वडाका जनताले मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि बीच बाटोमा बास बस्दै खाजा–सामल बोकेर सदरमुकाम धाउनुपर्ने बाध्यता हटेर एक घण्टामै पुग्न सक्ने अवस्था रहेको स्थानीयको भनाइ छ ।

मदन भण्डारी लोकमार्ग निर्माण भएर सञ्चालन हुनुपूर्व यस क्षेत्रका नागरिकले दुई–तीन दिन लगाएर सदरमुकाम धाउनुपर्ने अवस्था थियो । बेलका नगरपालिकाको कोठुघाटबाट सदरमुकाम आउन पहिले करिब ४ घण्टाको यात्रा बसमा गर्नुपर्दथ्यो । ट्र्याक मात्र खोलिएको सडकबाट यात्रा गर्नुपर्दा स्थानीयले निकै सास्ती भोग्नुपर्दथ्यो तर अहिले कोठुघाटबाट सदरमुकाम पुग्न एक घण्टा मात्र लाग्छ ।

यस्तै उदयपुरको पश्चिमी सीमा कटारी बजारबाट सदरमुकाम गाईघाट आउनका लागि करिब ५ घण्टा लाग्थ्यो । कटारीबाट सिराहाको मिर्चैया बजार, गोल बजार, लाहान हुँदै गाईघाट पुग्नुपर्ने बाध्यता थियो । तर अहिले मदन भण्डारी लोकमार्ग हुँदै कटारीबाट गाईघाट पुग्न १ घण्टा मात्र लाग्छ । कटारी–४ कटारी बजारका भीमबहादुर पौडेलका अनुसार पहिले कुनै काम विशेषले सदरमुकाम जानुपर्दा कटारीबाट गाईघाट पुग्दा नै समय सकिन्थ्यो । कार्यालयको काम सकेर घर फर्कन भ्याइन्नथ्यो । बाध्यताले होटलमा बास बस्नुपर्ने अवस्था थियो । तर अहिले घरबाट बिहानको खाना खाएर सदरमुकाम पुगी सरकारी कार्यालयको वा अन्य काम सकेर साँझ बास बस्न घर फर्कन सकिन्छ ।

उदयपुरगढी–६ का वडाध्यक्ष कृष्णबहादुर खत्रीले मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि यहाँका स्थानीयको दैनिकी नै फेरिएको र सडक यातायातका कारण कृषिउपज सडक किनारामा राखेर व्यापार गर्न पाएको, होटल तथा पर्यटन व्यवसाय फस्टाएको, जनचेतना अभिवृद्धि भएको, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पनि सुधार हुनुका साथै स्थानीयको आर्थिक अवस्थामा सुधार आएको बताए ।

मदन भण्डारी लोकमार्गसँग नजोडिएको उदयपुरगढी–८ का वडाध्यक्ष थिरबहादुर राउतका अनुसार लोकमार्ग सञ्चालनमा आएपछि यस क्षेत्रको जग्गाको मूल्यवृद्धि भएको छ । विद्यार्थीका लागि बस सञ्चालनमा सहयोग पुगेको छ । उनले स्थानीय जनताको कृषि उत्पादन बजारसम्म पुग्न सकेको हुँदा यसले समग्रमा पालिकाको आर्थिक समृद्धिमा र आत्मनिर्भरतामा मद्दत पुगेको बताए ।

यसै गरी बेलका नगरपालका–९का वडाध्यक्ष भरत घिमिरेका अनुसार सडक पुल तथा अन्य पूर्वाधारहरु निर्माण भएपछि भोजपुर, खोटाङ, सोलुखुम्बुलगायतका जिल्लाबाट बसाइँ सरी आउनेको संख्या बढेको, स्थानीय कृषि उत्पादनको बजारीकरणमा सहयोग पुगेको छ । कृषिक्षेत्रलाई प्राथमिकताका साथ अघि बढाइएको हुँदा केही आर्थिक स्थितिमा पनि सुधार भएको छ । मुख्य रुपमा एग्रो टुरिज्मतिर स्थानीयको बढी ध्यान गएको छ भने पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको, कोशी टप्पु, पहाडी दृश्य अवलोकन गर्न आउनेहरु बढ्दै गएकोले बेलका नपाका केही क्षेत्रहरु पर्यटनको गन्तव्य बन्दै गएको उनले बताए ।

कटारी नगरपालिका–७ को रिस्कु मदन भण्डारी लोकमार्गले छुँदैन तर सो गाउँका मानिसहरुलाई ठूलो राहत भएको वडाध्यक्ष सुबिन ढुंगानाले बताए । उनले मदन भण्डारी लोकमार्गका कारण गाउँमा अटो, जीप, कार, बस तथा अन्य सवारीसाधनहरु पुग्न थालेकोले रातबिरात बिरामीलाई उपचारमा लैजान सहज भएको छ । पहिले कटारीबाट मिर्चैया हुँदै जनकपुर, विराटनगर, धरान, काठमाडौँ जानुपर्ने बाध्यता थियो भने अहिले मदन भण्डारी लोकमार्गका कारण सहज भएको उनले बताए ।

यस विषयमा चौदण्डीगढी नगरपालिका–६ का वडाध्यक्ष अम्बरबहादुर खड्काले मदन भण्डारी लोकमार्गले चौदण्डीगढी नपाको आर्थिक समृद्धिमा ठूलो मद्दत गरेको बताए । उनले सोलुखुम्बु, खोटाङ र ओखलढसङ्गाबाहेकका पूर्वका ११ जिल्लाका सवारीसाधनको काठमाडौं जाने मुख्य सडकका रुपमा मदन भण्डारी लोकमार्ग रहेको जानकारी दिंदै यो सडक सञ्चालनमा आएपछि गाउँहरु बजारमा परिवर्तन हुँदै गएको, हजारौंले रोजगारी पाएको अवस्था रहेको बताए ।

कटारी नगरपालिकाका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठका अनुसार मदन भण्डारी लोकमार्गले उदयपुरको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । कटारी नगरपालिकाको विकासमा सडक यातायात मात्र नभएर व्यापार व्यवसाय, जग्गा प्लटिङ, उद्योग कलकारखाना स्थापना, कृषि उत्पादन, स्थानीय रोजगारी वृद्धि, पर्यटन व्यवसाय, होटल सञ्चालनलगायतका धेरै विषयमा मदन भण्डारी लोकमार्गले सहयोग गर्नुका साथै नगरपालिका र पालिकाका जनताको आयआर्जन कार्यक्रममा वृद्धि भएको मेयर श्रेष्ठको भनाइ छ ।

मेयर श्रेष्ठले पहिलेको दुःख–कष्ट सम्झँदा अहिले हामी निकै सुविधाभोगी रहेका छौं । यातायातका क्षेत्रमा पनि ठूलो प्रगति भएको छ । यातायात व्यवसायीहरु र सवारीसाधनहरु बढेका छन् । मदन भण्डारी लोकमार्ग स्थानीय सडक सञ्जालसँग जोडिएपछि यात्राको दूरी छोट्याएको छ । दिनभर यात्रा गर्नुपर्ने ठाउँमा आधा घण्टामै पुग्न सकिने अवस्था आएको छ । गाउँहरु बजारमा परिणत हुँदै गएको अवस्था छ । राज्यबाट पाउनुपर्ने सेवा–सुविधा स्थानीयले पाउँदै गएका छन् । समग्रमा भन्नुपर्दा मदन भण्डारी लोकमार्गले उदयपुरको आर्थिक विकासमा ठूलो मद्दत गरेको उनले बताए ।

चौदण्डीगढी नगरपालिका–४ का वडाध्यक्ष लुङ्गराज राईले विकासको पहिलो खुड्किलो नै सडक पूर्वाधार भएकोले मदन भण्डारी लोकमार्गले चौदण्डीगढी–४ का जनतालाई विकास निर्माण, आयआर्जन, कृषि उत्पादन, व्यापार व्यवसायमा स्वर्णिम अवसर प्राप्त भएकोले व्यावसायिक भवन बनाएर व्यवसाय सञ्चालन गर्ने कार्य भइरहेको बताए । उनले मदन भण्डारी लोकमार्गका कारण कृषि क्षेत्रमा लगानी गर्नेहरुको संख्या बढेको छ । पशुपालन, तरकारी तथा फलफूल खेती, नगदेबालीलगायतका क्षेत्रमा स्थानीयले ध्यान दिएर लगानी गर्ने अवसर पाएको र यो अवसरलाई सदुपयोग गरेर आर्थिक समृद्धिमा विशेष योगदान हुने अपेक्षा गरिएको बताए ।