देउवा समूहमा लागेका निर्वाचित वडा अध्यक्षलाई कारबाही सिफारिस

0
Shares

दोलखा। 

नेपाली कांग्रेस दोलखाले गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ६ चंखुका पूर्व पार्टी सभापति एवम् नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष निमा साङ्गे शेर्पालाई देउवा समूहमा लागेको आरोपमा पार्टीको साधारण सदस्य र निर्वाचित वडा अध्यक्षबाटै हटाउन सिफारिस गरेपछि विवाद भएको छ ।
 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले शेर्पाको कारबाही पार्टीको विधान विपरीत गैर कानुनी तथा नियोजित रहेकोले तत्काल कारबाही फिर्ता लिनुपर्ने बताएका छन् । सर्वोच्च अदालतले देउवा समूहलाई निस्सा दिएकोले फरक मत राखेकै (देउवा समूहमा लागेकै) आधारमा कारबाही गर्नु नियोजित र गैर कानुनी रहेको केन्द्रीय सदस्य काफ्लेको भनाई छ । कारबाही फिर्ता नगरे परिणाम राम्रो नआउने काफ्लेको चेतावनी छ । 
अदालतले कुनै एउटाको पक्षमा फैसला गरेको अवस्थामा बाहेक दुबै पक्षले फरक मत राखेकै आधारमा कारबाही गर्ने नैतिक तथा कानुनी आधार नहुने केन्द्रीय सदस्य काफ्लेको भनाई छ ।

नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले बुधवार सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी गर्दै निमा साङ्गे शेर्पालाई पार्टीको साधारण सदस्य र निर्वाचित वडा अध्यक्षबाटै हटाउन सिफारिस गरेको जनाएका थिए । लामाले फेसबुकमा सार्वजनिक गरेको सूचनामा चंखुका पूर्व पार्टी सभापति एवम् वडा अध्यक्ष शेर्पाले नेपाली कांग्रेस पार्टीको हित विपरीत हुने गरी पटक– पटक विभिन्न कार्यहरु गर्दै आएकोमा भेटेर, फोन मार्फत सम्झाउदा समेत बेवास्ता गर्दै सामाजिक सञ्जालमा थप आपत्तिजनक सामग्रीहरु पोष्ट गरेको पाईएकोले नेपाली कांग्रेसको साधारण सदस्य र वडा अध्यक्षको बाँकी अवधि खाली गर्न सिफारिस गरिएको उल्लेख छ ।

कांग्रेस दोलखाका सभापति लामा शेर्पालाई फरक मत राखेकै (देउवा समूहमा लागेकै) कारणले कारबाही गरेको कुरा गलत रहेको बताउँछन् । आफूले देउवा समूहमा लाग्ने कसैलाई पनि कार्वाहि नगरेको लामाको भनाई छ । 

वडा अध्यक्ष शेर्पाले पटक– पटक पार्टी हित विपरीत काम गरेको र असोज ३ गते कांग्रेसको वडा अधिवेशनको लागि पार्टी कार्यालयबाट आवश्यक कागजात लगेर आफु तथा अन्य प्रतिनिधि ल्याएपछि असोज १५ गतेको लागि भन्दै भ्रम छर्ने काम गरेकोले कारबाही गरिएको सभापति लामाको भनाई छ ।
शेर्पालाई पार्टीको साधारण सदस्य र निर्वाचित वडा अध्यक्षबाट समेत हटाउन पार्टी केन्द्रमा सिफारिस गरिएको सभापति लामाले बताए ।

अधिवेशनमा दुबै समूह सक्रिय

नेपाली कांग्रेसको १५ औ महाधिवेशनको क्रममा दोलखामा संस्थापन समूह वडा तथा पालिका अधिवेशन सकेर क्षेत्रिय अधिवेशन, केन्द्रीय महाधिवेशन प्रतिनिधि लगायतको छनौटमा सक्रिय बनेको छ । त्यसैगरी देउवा समूह सम्पर्क कार्यालय खोलेर असोज १५ गते हुने वडा अधिवेशनको तयारीमा जुटेको छ । 

दोलखा कांग्रेसमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, जीपछिरीङ लामा, जिल्ला पार्टी सभापति बर्मा लामा, पूर्व सभापति उद्धवराज काफ्ले, छवि लामा, सन्तोष रिमाल, सुक्रराज तमाङ लगायत संस्थापन समूहमा सक्रिय रहेका छन् । देउवा समूहमा केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, पूर्व सभापति ताराबहादुर कोइराला, रुद्र बहादुर खड्का, कुवेर काफ्ले, तारा खड्का, जयराम श्रेष्ठ लगायत सक्रिय देखिएका छन् ।

यसैबीच पत्रकार एवम् सामाजिक अभियन्ता गोकर्ण प्रसाद भण्डारीले पार्टीको १५ औ महाधिवेशनको लागि खसआर्य तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेका छन् । उनी १४ औ महाधिवेशनमा थोरै मतले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।