भरतपुर ।
चितवनमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै ४३ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा ८७ जना घाइते भएका छन् ।
कार्यालयका अनुसार साउन र भदौमा भएका दुर्घटनाको तथ्याङ्क हेर्दा भदौमा दुर्घटनासँगै मानवीय क्षति पनि बढी भएको देखिएको छ । साउनमा २३ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने ६० जना घाइते भएका थिए । भदौमा २० वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको र २७ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु थापाले जानकारी दिनुभयो ।
सवारी दुर्घटनाको संख्या साउनको तुलनामा भदौमा तीनवटाले घटे पनि मृत्यु हुनेको संख्या दोब्बर भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । दुर्घटनामा हुने मानवीय क्षति न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित जाँच, चालकलाई सचेत गराउने तथा सडक सुरक्षासम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
चालु आर्थिक वर्षको दुई महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ५५२ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । कारबाहीबाट ३१ लाख ४८ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
साउनमा मात्रै ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ८१० वटा सवारीसाधनलाई कारबाही गरिएको थियो । ती कारबाहीबाट १५ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यस्तै, भदौमा एक हजार ७४२ वटा सवारीसाधन कारबाहीमा परेका थिए । भदौमा गरिएको कारबाहीबाट १५ लाख ९७ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
चितवनमा सवारीसाधनको चाप बढ्दै जाँदा सडक सुरक्षाको चुनौती पनि थपिँदै गएको ट्राफिक प्रहरीको भनाइ छ । मुख्य राजमार्ग, सहरी क्षेत्र तथा ग्रामीण सडकमा सवारीसाधनको चापसँगै तीव्र गति, लापरबाहीपूर्ण रूपमा सवारी चलाउने, ट्राफिक नियमको पालना नगर्ने तथा सडकको अवस्थाअनुसार गति नियन्त्रण नगर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने गरेको प्रहरीले जनाएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ मा भने चितवनमा ५४५ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा १०५ जनाले ज्यान गुमाएका थिए भने ९०२ जना घाइते भएका थिए । यस आधारमा गत आर्थिक वर्षमा चितवनमा औसतमा प्रत्येक महिनामा ४५ भन्दा बढी सवारी दुर्घटना भएका थिए ।
गत आर्थिक वर्षभर ट्राफिक नियम उल्लङ्घन गर्ने २० हजार ८० वटा सवारीसाधनलाई कारबाही गरिएको थियो । ती कारबाहीबाट एक करोड ७५ लाख ७७ हजार ५०३ रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर ट्राफिक प्रहरी परिचालन गरिएको वरिष्ठ प्रहरी नायब निरीक्षक थापाले बताउनुभयो । उहाँका अनुसार सडकमा ट्राफिक जाँचलाई थप प्रभावकारी बनाउनुका साथै चालक, विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गरेर सडक सुरक्षा र ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।
उहाँले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले मात्रै प्रयास गरेर सम्भव नहुने भएकाले चालक, यात्रु, पैदलयात्री तथा सम्बन्धित सबै पक्षले सडक अनुशासन पालना गर्नुपर्ने बताउनुभयो । विशेषगरी सवारी चलाउँदा गति नियन्त्रण गर्ने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, हेल्मेट तथा सिट बेल्टको अनिवार्य प्रयोग गर्ने र ट्राफिक नियमको पूर्ण पालना गर्ने विषयमा प्रहरीले जोड दिँदै आएको छ।











प्रतिक्रिया