कलाकार एवं सशक्त डिजाइनर श्यामदास अशान्त

0
Shares

नेपाली कलाजगत्का पुरानो पुस्ताका एक विशिष्ट साधक श्यामदास अशान्तको जीवन र कृतित्व सम्झिँदा शब्दभन्दा पहिला उहाँको विनम्रता आँखाअगाडि आउँछ । उहाँको कला कुनै प्रदर्शनको चाहनाविना पनि समयसँग संवाद गरिरहन्छ । चित्रकला उहाँका लागि जीविकाको साधन मात्र होइन, जीवनशैली, साधना र आत्म–अभिव्यक्तिको माध्यम हो ।

उहाँका क्यानभासमा नेपालको संस्कृति, परम्१९९५ सालमा ललितपुरको हौगल टोलमा जन्मिनुभएका श्यामदास अशान्तले कलाको पहिलो पाठ घर–आँगनबाटै सिक्नुभयो । पिता लक्ष्मीदास राजकर्णिकार रोटीमा चित्र कोर्ने अनौठो कलामा निपुण हुनुहुन्थ्यो । त्यही पारिवारिक वातावरण, वरिपरिका मठमन्दिर, काष्ठकला, पूजा–संस्कार, चाडपर्व र परम्परागत जीवनशैली उहाँका प्रारम्भिक कलाशिक्षाका आधार बने । बाल्यकालमै चिनीमाटो र खाद्य सामग्रीबाट देवी–देवताका आकृति बनाउने अभ्यासले उहाँको कलायात्रालाई आकार दिँदै गयो । पिताबाट प्राप्त परम्परागत सीप र आफ्नै जिज्ञासाले उहाँको कलामा संस्कृति, परम्परा र आधुनिक चेतनाको सुन्दर संगम निर्माण भयो ।

चित्रकारका रूपमा मात्र होइन, श्यामदास अशान्त एक सशक्त डिजाइनरका रूपमा पनि परिचित हुनुहुन्छ । २०२०–०२३ सालसम्म हुलाक सेवा विभागमा कार्यरत रहँदा उहाँले अनेकौँ हुलाक टिकट तथा नेपाली नोटका डिजाइन गर्नुभयो । ती नोट र टिकट आर्थिक कारोबार वा हुलाक सेवाका साधन मात्र रहेनन्, तिनमा नेपालको इतिहास, संस्कृति र दृश्य पहिचानसमेत अंकित भए । उहाँले उडकार्भिङ इन्डस्ट्रिज (प्रा.) लि. मा मुख्य डिजाइनरका रूपमा पनि काम गर्नुभयो । पोस्टर कला, पुस्तकका आवरण र इलस्ट्रेसनमा समेत उहाँको सिर्जनशीलता देखिन्छ । राष्ट्रिय खेलकुद परिषद्का लागि तयार गरिएका पोस्टरमा खेलकुदको गति, उत्साह र राष्ट्रिय भावनालाई कलात्मक संवेदनासँग जोडिएको पाइन्छ ।

उहाँको डिजाइन प्रतिभाले राष्ट्रिय सीमासमेत पार गरेको छ । ‘एसियाली उत्पादकत्व सङ्गठन’ (एपीओ) ले आयोजना गरेको झन्डा डिजाइन प्रतियोगितामा विभिन्न राष्ट्रका २७ डिजाइनमध्ये उहाँको डिजाइन छनोट भई प्रथम पुरस्कारसहित तीन हजार अमेरिकी डलर प्राप्त भयो । २०२८ सालमा श्री ५ को सरकार, टक्सार विभागद्वारा आयोजित दसपैसे सिक्का डिजाइन प्रतियोगितामा पनि उहाँ प्रथम हुनुभयो । २०२० सालमा तत्कालीन प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ललितकला प्रदर्शनीमा ‘बज्रबाराही’ शीर्षक चित्रका लागि ‘प्रथम पुरस्कार’ प्राप्त गर्नुभयो भने २०२७ र २०३८ सालमा नेपाल ललितकला संस्थाद्वारा आयोजित प्रदर्शनीमा पनि उहाँले पुरस्कार पाउनुभयो ।

२०५१ सालमा गाःबहाल, पाटनमा उहाँको एकल चित्रकला प्रदर्शनी भयो । वरिष्ठ साहित्यकार तथा समालोचक कृष्णचन्द्रसिंह प्रधानद्वारा उद्घाटन गरिएको उक्त प्रदर्शनीमा चित्रकला, टिकट डिजाइन र रेखाचित्र समेटिएका थिए । ती कृतिले उहाँको बहुआयामिक प्रतिभा र लामो कलासाधनालाई एउटै ठाउँमा अभिव्यक्त गरेका थिए ।

श्यामदास अशान्तले जीवनमा असंख्य चित्र बनाउनुभयो । उहाँले जति सिर्जना गर्नुभयो, ती समयसँग टिक्ने खालका छन् । उहाँका चित्रमा काठमाडौँ उपत्यकाका झ्याल, टुँडाल, काठका मूर्तिकला, मन्दिर, पाटीपौवा र परम्परागत घरहरू प्रमुख विषयका रूपमा आउँछन् । यी संरचना उहाँका लागि दृश्य–सौन्दर्यका वस्तु मात्र होइनन्, तिनमा वास्तुकला, आध्यात्मिकता, संस्कृति र सामूहिक स्मृति जोडिएका छन् ।
गतवर्ष २०८१ सालमा उहाँको सम्मानमा आयोजित समारोहमा प्रदर्शित कृतिहरू उहाँको दीर्घ साधना, कलादृष्टि र अनुशासनका सशक्त साक्षी बने । मन्दिर, पाटीपौवा, परम्परागत घर, टुँडाल र झ्यालहरूलाई उहाँले भौतिक संरचनाका रूपमा मात्र होइन, संस्कृति र स्मृतिका बाहकका रूपमा प्रस्तुत गर्नुभएको छ । रेखाचित्र र जलरङ्गको संयमित प्रयोगले कृतिहरूमा कोमलता र गहिराइ थपेको छ । रेखा स्पष्ट छन्, कठोर छैनन्; रङ्ग सीमित छन्, तर भाव सम्पन्न छन् ।

उहाँका कृतिको विशेष शक्ति वास्तुकलाको शुद्धता हो । अनुपात, संरचनात्मक सन्तुलन र सूक्ष्म विवरणप्रतिको सचेतताले उहाँ चित्रकार मात्र नभई परम्परागत नेपाली वास्तुकलाका सूक्ष्म अध्येता पनि हुनुहुन्छ भन्ने देखाउँछ । कतिपय चित्रमा मानव आकृति नभए पनि मन्दिर र घरका संरचनाहरू स्वयं जीवन्त देखिन्छन्, मानौँ ती मौन भएर आफ्नै कथा भनिरहेका छन् ।

श्यामदास अशान्तको कला आधुनिकताको चकाचौँधभन्दा पर उभिएर संरक्षण, स्मृति र सांस्कृतिक उत्तरदायित्वको पक्षमा बोल्छन् । समयसँगै हराउँदै गइरहेका वास्तुकला र सांस्कृतिक संरचनालाई उहाँले रेखा र रङ्गमा स्थायी बनाउने प्रयास गर्नुभएको छ । त्यसैले उहाँका चित्रहरू सौन्दर्यको अनुभव मात्र होइनन्, नेपाली समाजको सांस्कृतिक स्मृतिका दस्तावेज पनि हुन् ।

कम बोल्ने, थोरै सिर्जना गर्ने तर गहिरो प्रभाव छोड्ने श्यामदास अशान्त नेपाली कला, संस्कृति र वास्तुकलाका एक निष्ठावान् साधक हुनुहुन्छ । उहाँको जीवन सादगी, साधना र सिर्जनशीलताले बनेको एउटा शान्त तर गहिरो कलायात्रा हो । उहाँका प्रत्येक रेखामा साधनाको स्पर्श छ र प्रत्येक दृश्यमा समयसँगको संवाद । यही मौन संवादले उहाँलाई नेपाली कलाजगत्मा विशिष्ट र सम्मानित स्थान दिएको छ ।

ललितपुर इखालुखमा बस्नुहुने ८८ वर्षीय कलाकार श्यामदास अशान्त केही वर्षदेखि सिर्जनामा सक्रिय हुनुहुन्न । तथापि कलाप्रति उहाँको गहिरो प्रेम उत्तिकै छ । त्यसो त कलाप्रति उहाँको झुकाव आकस्मिक होइन, पारिवारिक विरासतकै निरन्तरता हो । उहाँका पिता लक्ष्मीदास राजकर्णिकार रोटीमा चित्र कोर्ने अनौठो र सिर्जनात्मक कलामा निपुण हुनुहुन्थ्यो । त्यही घर–आँगनमै बाल्यकालदेखि उहाँले रेखा, रङ्ग र रूपको पहिलो पाठ सिक्नुभयो । पिताबाट प्राप्त परम्परागत सीप र आफ्नै मेहनतले उहाँको कलामा संस्कृति, परम्परा र आधुनिक चेतनाको सुन्दर संगम निर्माण ग¥यो । यस्ता आदरणीय कलाकारलाई हार्दिक अभिनन्दन गर्दछु ।