आफूले आफूलाई चिन्नुको महर्‍व

94
Shares

जे देखिन्छ त्यो आफ्नो हुँदैन अनि जे आफ्नो हो त्यसलाई देख्न सकिँदैन । संसारमा सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो । केही वर्षअघि संसारभरि नै कोरोना भाइरसको प्रभावका कारण मानिसले धेरै नै दुःख व्यहोर्नुपरेको थियो । तथापि, त्यस्तो परिस्थितिका बीचमा पनि कुनै यस्तो कुरा होला त जसलाई भन्न सकियोस्, ‘योचाहिँ सत्य हो !’ जसलाई भन्न सकियोस्, ‘योचाहिँ दिव्य चीज हो !’ जसलाई भन्न सकियोस्, ‘योचाहिँ आनन्ददायक छ !’ त्यस्तो समयमा पनि मानिसका लागि उपलब्ध हुने कुनै यस्तो चीज छ ? त्यो समयमा त मानिसहरूमा आशाको भण्डार नै रहेन । केवल निराशा मात्र थियो ।

कतिपय मानिसका लागि कारोना भाइरस आउनु, त्यसले प्रभाव पारिरहनु साँच्चै रावणभन्दा कम थिएन । कतिपय मानिसहरूका आमाबुवा, भाइबहिनीलगायतले त्यही रोगका कारण मृत्युवरण गर्नुपरेको थियो । उनीहरूले राम्रोसँग अन्तिम बिदाइ पनि गर्न पाएनन् । उनीहरूका आमाबुवा अस्पतालमा बिरामी अवस्थामा भएका बेलामा उनीहरूलाई स्याहारसुसार गर्न पनि सकेनन् उनीहरूले ।

यदि मानिसमा हिम्मत रह्यो भने उसले प्रतिकूल परिस्थितिमा पनि जित हासिल गर्न सक्छ । कुन कुराबाट हौसला प्राप्त गर्न सकिन्छ ? असत्यबाट मिल्ला कि सत्यबाट ? ज्ञानबाट कि अज्ञानताबाट ? यो समयमा जे तपाईंको होइन, त्यो तपाईंको होइन । अनि, जे तपाईंको हो नि केवल त्योचाहिँ तपाईंको हो । अनि, जुन चीज तपाईंको हो त्यसलाई तपाईं आपूmसँग बन्द कोठाभित्र पनि लैजान सक्नुहुन्छ । किनभने, त्यो तपाईंभित्र छ । यो अवस्थामा तपाईं आपूmले आपूmलाई कति बुझ्नुहुन्छ ? कति चिन्नुहुन्छ ? तपाईं जीवनमा आपूmले आपूmलाई कि त आफ्ना समस्यासँग तौलिनुहुन्छ कि त जुन कुरा तपाईंले हासिल गर्नुभयो ती चीजसँग जोखेर हेर्नुहुन्छ !

सबैभन्दा ठूलो कुरा त सबै चीज ठीकठाक छ । जबसम्म यो श्वासरूपी उपहार तपाईंभित्र आइरहेको हुन्छ अनि गइरहेको हुन्छ तबसम्म सबै कुरा राम्रो हुन्छ । चाहे कोरोना भाइरस होओस् या नहोओस् । माक्स लगाउनु परोस् या नपरोस् । घरमा बसिरहनु परोस् या नपरोस् । जेसुकै होओस् । चाहे बाहिर रावणरूपी कालो बादल मडारिरहेको होओस् अनि त्यसले तपाईंको सीतारूपी शान्तिलाई हरण गर्न खोजिरहोस् तर पनि, तपाईंभित्र यो श्वास आइरहेको छ र गइरहेको छ भने सबै कुरा ठीकठाक छ ।

आपूmले आपूmलाई चिन्नुको महत्त्व के हो भने यो लडाइँका बीचमा तपाईंले ‘म को हुँ’ भनेर चिन्न सक्नुहोस् । यो श्वासको आवागमन, यदि यो वास्तविकताबाट तपाईं टाढा जान खोज्दै हुनुहुन्छ भने त्यसो नगर्नुहोस् । यो त वास्तवमा आशीर्वाद हो । यसलाई हेर्नुहोस्, यसलाई चिन्नुहोस् ! तपाईंको जीवन प्राप्त हुनु पनि आशीर्वाद हो । तपाईं यो संसारमा हुनु यो तपाईंका लागि आशीर्वाद हो अनि यो वास्तविकताबाट बाहिर उम्कने काम नगर्नुहोस् । जस्तो मैले भनेँ– जे चीजलाई देखेका छौँ त्यो आफ्नो होइन । यो सारा संसारलाई हेरेर यो दुनियाँले भन्छ– यो मेरो हो, यो मेरो हो । जुन चीज देखिन्छ त्यो आफ्नो होइन अनि जुन आफ्नो हो त्यसलाई देख्न सकिँदैन, तर किन देख्न सकिँदैन ? जुन आफ्नो हो त्यसलाई त देख्न सक्नुपर्ने हो, किनभने त्यो त तपाईंको हो । त्यो त आफ्नो हो । यसकारण देख्न सकिँदैन, किनभने वास्तविकतालाई देख्न नपरोस् भनेर आँखामा पट्टी बाँधिएको छ । यथार्थ के हो ! खाली हात आउनुभएको थियो अनि खाली हात नै जानुहुनेछ ।

यो जुन तपाईंको शरीर छ जसलाई तपाईं आफ्नो ठान्नुहुन्छ नि यो तपाईंको होइन । यो श्वास निस्केर गएपछि यो माटो बिस्तारै–बिस्तारै यही माटोमा गएर मिसिन्छ । तब तपाईंको आफ्नो के रहन्छ ? यो श्वास, यो ज्ञान, यो आनन्द, यो परमानन्द जुन तपाईंको हृदयमा छ । जबसम्म तपाईंभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ भने तपाईंको जीवन छ । तपाईं जीवित हुनुहुन्छ । तपाईं यो सत्यलाई बदल्न सक्नुहुन्न । यो सत्य त सत्य नै हो । यदि तपाईंले यसलाई बुझ्नुभयो, पहिचान गर्नुभयो भने तपाईंको जीवनमा आनन्द प्राप्त हुनेछ ।
चाहे जस्तोसुकै समय भए पनि हिम्मत नहार्नुहोस् । जस्तोसुकै परिस्थितिमा रहेर जिइरहनुभएको भए पनि हिम्मत नहार्नुहोस् अनि आफ्नो कथालाई पूरा गर्नुहोस् । यो तपाईंको कथा हो ।

मानिस चिन्तित अवस्थामा आपूmसँग के–के छ भन्ने कुरालाई बिर्सन्छ । जुन आनन्द प्राप्तिका लागि मानिसले आफ्नो जीवनमा कोशिश गरिरहन्छ त्यो साँचो आनन्द सधैँ उसैभित्र विद्यमान छ । चाहे परिस्थिति बदलियोस्, चाहे जस्तोसुकै अवस्था आओस् । यो प्राप्त भएको अवसर डराउनका लागि होइन । यो हिम्मतले काम गर्ने अनि आँखा खोलेर अघि बढ्ने अवसर हो । पछि के हुनेछ त्यसका बारेमा कसैलाई पनि थाहा छैन । कसले यो सबैथोक रचना गरे अनि यसभित्र जेजस्तो सुन्दरता छ त्यो सबै उपलब्ध गराए, त्यो कुरालाई विश्वास गर्नु आवश्यक छ, बुझ्नुपर्ने आवश्यकता छ । मानिसलाई जुन चीजहरूको आवश्यकता थियो या जुन चीजहरूको आवश्यकता छ ती सबै चीज उपलब्ध छन् । मानिसलाई तब डर लाग्छ जब उसले अब के भइरहेको छ भनेर बुझ्न सकेको हुँदैन । उसमाथि कति दयाको वर्षात् भएको छ भन्ने कुरालाई उसले भुलेको छ । उसको जीवनमा जेसुकै भए पनि, यो एउटा मौका हो भन्ने कुरालाई मानिसले बिर्सेको छ । यो आनन्द लिने अवसर हो । भोलिका लागि होइन, पर्सिका लागि पनि होइन तर जबसम्म यो श्वास आइरहन्छ अनि गइरहन्छ तबसम्म यो मौका हो । त्यसको सम्पूर्ण तवरले फाइदा उठाउनु हाम्रो दायित्व बन्छ ।

मानिसहरू के चाहन्छन् भने प्रकाश भएपछि हामीले हेर्न चाहेको चीजलाई यसले देखाओस् । यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । तर, प्रकाशले यसो गर्दैन । प्रकाशले भएको चीजलाई नै देखाउँछ । प्रकाशले कुनै चीजको सृजना गर्ने होइन । अँध्यारो पनि कस्तो चीज हो भने अँध्यारो भएका बेलामा आँखाले त केही हेर्न चाहन्छ । कुनै बेला धेरै समय अँध्यारो भएर एक्कासी प्रकाश हेर्नुपर्ने भयो भने त्यो मानिसका लागि राम्रो हुँदैन । उसले आँखा बन्द गर्नुपर्ने हुन्छ । के हाम्रो जीवनमा पनि त्यस्तै भइरहेको त छैन ? हामीले देख्न सकिरहेका छैनौँ ! अर्थात्, अँध्यारोसँग यति धेरै अभ्यस्त भयौँ किनभने प्रकाशलाई देख्नासाथ आत्तिन पुग्छौँ तर यस्तो हुनुहुँदैन । मानिसको जीवनमा सबैभन्दा ठूलो कुरा त के हो भने जबसम्म तपाईं जीवित हुनुहुन्छ तबसम्म तपाईंको जीवनमा एउटा आशा हुनुपर्छ । निराशा होइन, आशा । तपाईं जीवित रहुन्जेलसम्म असत्यलाई होइन सत्यलाई हेर्नुहोस् । यदि सत्यलाई हेर्नुभयो भने तपाईंले असत्यसँग डराउनुपर्ने अवस्था हुँदैन । तथापि, तपाईंको ध्यान सत्यमा हुनुपर्छ, असत्यमा होइन ।

मानिसहरू हिम्मत हार्न थाल्छन् । अब के होला भनेर आत्तिन थाल्छन् । हिम्मतले काम गर्नुहोस्, नडराउनुहोस् । जबसम्म तपाईं जीवित हुनुहुन्छ तबसम्म कुनै चीज तपाईंभित्र छ । त्यस चीजको अनुभव गर्दै तपाईं आफ्नो जीवनमा ‘म कति भाग्यशाली छु’ भनेर बुझ्न सक्नुहुन्छ । कुनै बेला मानिसहरू आपूmले आपूmलाई कस्तो ठान्दछन् भने– ‘म अभागी छु, मलाई यस्तो समस्या भयो, मलाई त्यस्तो समस्या भयो !’ तर, जबसम्म यो श्वास आइरहन्छ तबसम्म तपाईं भाग्यशाली हुनुहुन्छ ।

तपाईं जीवित रहनुन्जेलसम्म तपाईं भाग्यशाली हुनुहुन्छ । यदि तपाईं नै डराउन लाग्नुभयो भने तपाईंको छेउछाउमा जो–जो छन्, जसले तपाईंलाई प्रेम गर्छन् ती पनि डराउन थाल्छन् । यदि उनीहरू पनि डराउन थाले अनि तपाईं पनि डराउन थाल्नुभयो र सबै डराउन थाले भने त डरकोे मात्रा बढ्ने नै छ । त्यसपछि कसले हिम्मत बढाउला ? जब खराब समय हुन्छ त्यतिखेर हिम्मतको आवश्यकता पर्दछ । प्रकाशको आवश्यकता पर्छ अनि त्यो प्रकाश तपाईंभित्र छ । त्यसलाई बुझ्नुहोस्, त्यसलाई चिन्नुहोस्, त्यसलाई नियाल्नुहोस् । तपाईं जहिलेसम्म जीवित रहनुहुन्छ, यो त अवसर हो । यो कुरा म कसरी भनिरहेको छु किनभने जबसम्म यो श्वास आइरहेको हुन्छ र गइरहेको हुन्छ– यो ती सृष्टिकर्ताको कृपा हो र यसलाई स्वीकार गर्नुहोस् ।

तपाईंलाई म सबैभन्दा ठूलो खुशीको खबर सुनाउँछु । भर्खरै तपाईंभित्र श्वास आयो, योभन्दा ठूलो खुशीको खबर छैन । यो श्वास आयो– जसै आयो, तपाईं जीवित हुनुहुन्छ । यो जानेछ र फेरि आउनेछ । के तपाईंले यसलाई बुझ्नुभयो ? यो के हो ? के बसेको छ यसमा ?
यो श्वासभित्र कुनै प्रश्न छैन, केही द्विविधा छैन । यसमा वास्तविक शान्ति रहेको छ । यो जुन श्वास आइरहेको छ, यसमा सृष्टिकर्ताले श्वासरूपी कोक्रोलाई हल्लाइरहेका छन् ।

यो हो मस्ती ! यो हो साँचो मस्ती ! यसमा मस्त हुनुहोस् । यस्तो आनन्द तपाईंले अन्त कतै पाउनुहुन्न । कस्तो आनन्द ! दुःखमा, सुखमा, तपाईं जहाँ जानुहुन्छ, यसबाट तपाईं अलग्गिन सक्नुहुन्न । जुन दिन तपाईं यसबाट बञ्चित हुनुहुनेछ, त्यस दिन सबै गयो । सबै गयो । विचार गर्नुहोस् त– यो हो भगवान्को कृपा । र, यो कृपा तपाईंमाथि भयो, भर्खरै भयो । के तपाईंलाई थाहा छ, यो कहिलेदेखि चलिरहेको छ ? हरेकचोटि यो श्वास चल्दा सृष्टिकर्ताले तपाईंलाई आशीर्वाद दिन्छन् । आफ्नो कृपा तपाईंमाथि गर्छन् ! यसलाई बुझ्नुहोस् । यदि तपाईं बुझ्नुहुन्न भने म बुझाउन सक्छु ।

म के भन्न चाहँदिन भने यदि तपाईंले शान्तिको अनुभूति गर्नु छ भने तपाईंले संन्यास लिनुपर्छ, यदि तपाईंलाई यो चीज चाहिन्छ भने तपाईंले आफ्नो परिवार छोड्नुपर्छ । अहँ, होइन । जस्तो तपाईं हुनुहुन्छ, त्यस्तै रहनुहोस् । फुल्नुहोस्, फल्नुहोस् र अभैm प्रगति गर्नुहोस् । म त के भन्न चाहन्छुु भने जे तपाईं गर्न सक्नुहुन्छ, त्यो गर्नुहोस् तर भित्र पनि फुल्नुहोस्, फल्नुहोस् । तपाईं आफ्नो जिन्दगीमा के चाहनुहुन्छ त्यो तपाईंमाथि निर्भर छ । तपाईंलाई उनले शक्ति दिएका छन् । तपाईं जे चाहनुहुन्छ, गर्न सक्नुहुन्छ । तपाईं एउटा काम गर्न सक्नुहुन्छ– तपाईं आफ्नो जीवनमा शान्तिको स्थापना पनि गर्न सक्नुहुन्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता डा. प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)