राजकीय सम्मानका साथ प्रा.डा. सुरेशराज शर्माको अन्त्येष्टि

केयूलाई बोर्ड अफ ट्रस्टी मोडलमा लैजाने शर्माको सपना पूरा गर्ने सरकारको प्रतिबद्धता

376
Shares

काठमाडौं ।

काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो । उच्च तथा प्राविधिक शिक्षा विकासमा महत्वपूर्ण योगदान पु¥याउनुभएका शर्माको ८७ वर्षको उमेरमा बुधबार साँझ उपचारकै क्रममा निधन भएको थियो ।


पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । अन्तिम बिदाइका क्रममा नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।


शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले गरेको निर्णयअनुसार शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झा लगायतका पदाधिकारीले आर्यघाट पुगेर शर्माप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यसअघि बिहीबार बिहान बालकुमारी–ग्वार्कोस्थित काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा शर्माको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न कार्यक्रम आयोजना गरिएको थियो । बिहान ७ देखि ९ बजेसम्म आयोजित श्रद्धाञ्जली सभामा निरन्तर बर्षादका कारण शुभचिन्तकहरु १० बजे सम्म नै श्रद्धाञ्जली सभामा भीड लागेको थियो । विश्वविद्यालय पूर्व उपकुलपतिद्धय डा.रामकण्ठ माकजू, डा.भोला थापा हालका त्रिभुवन विश्व विद्यालयका उपकुलपति, काठमाडौ विश्वविद्यालय परिवार, शिक्षाक्षेत्रका व्यक्तित्व, आफन्त तथा शुभेच्छुकहरूले शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रद्धाञ्जली सभामा सहभागी कतिपयले स्व. शर्माले शिक्षा क्षेत्रको विकासका लागि काठमाडौ विश्व विद्यालय धुलिखेलमा संचालन गरि धुलिखेलको विकासमा पुर्याएको योगदानले देशकै शिर उच्च भएको अवस्थामा धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका र स्थानिय बासिन्दाले उहाँको पार्थिव शरिर धुलिखेलमै राखी श्रद्धाञ्जली सभाको आयोजना गरि धुलिखेलको परिक्रमा गरि उच्च सम्मानका साथ अन्तिम विदाई गर्नुपर्ने धारणा राखेका थिए ।

शर्माको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ६ः५० बजे निधन भएको थियो । लिभरमा समस्या देखिएपछि शर्मालाई आइतबार अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा मंगलबार स्वास्थ्यमा थप समस्या देखिएपछि उहाँलाई आईसीयूमा राखिएको थियो । आईसीयूमै उपचारका क्रममा उहाँको निधन भएको हो ।

सिन्धुलीको खुर्कोटमा जन्मिनुभएका शर्माको नेपालको प्राविधिक तथा उच्च शिक्षा विकासमा महत्वपूर्ण योगदान रहेको थियो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना भएपछि उहा त्यसको पहिलो कार्यकारी निर्देशक बन्नुभएको थियो । काठमाडौं विश्वविद्यालय स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्नुभएका शर्मा विश्वविद्यालयका संस्थापक उपकुलपति हुनुहुन्थ्यो । उहा सन् १९९१ देखि २०१२ सम्म लगातार विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारीमा रहनुभयो ।

दुई दशकभन्दा लामो नेतृत्वका क्रममा शर्माले काठमाडौं विश्वविद्यालयलाई स्वायत्त, गुणस्तरीय तथा अन्तर्राष्ट्रिय पहिचान भएको उच्च शिक्षाको संस्थाका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । यतिमात्र नभै धुलिखेलमै संचालन भएको धुलिखेल सामुदायिक अस्पताललाई काठमाडौ विश्व विद्यालय शिक्षण अस्पताल बनाई विश्व सामु उच्च गुणस्तरिए स्वास्थ्य संस्थाका रुपमा स्थापित गर्न उहाँको महत्वपूर्ण योगदान रहेको छ । धुलिखेलको विकासमा काठमाडौ विश्व विद्यालयको स्थापना र अस्पताल विस्तारमा पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको छ । हाल उहा काठमाडौं विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा आबद्ध हुनुहुन्थ्यो ।

शर्माले नेपाल, भारत र बेलायतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो ।शिक्षा र स्वास्थ्य विकासको योजनाकारका रुपमा योगदान गर्नुभएका शर्माको निधनप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा र स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ । शिक्षामन्त्री सस्मित पोखरेलले शर्माले काठमाडौं विश्वविद्यालयलाई पूर्ण स्वायत्त संस्थाका रूपमा विकास गर्न अघि सारेको अवधारणालाई सरकारले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि मन्त्रालयमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै मन्त्री पोखरेलले काठमाडौं विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टी मोडलमा लैजान आवश्यक ऐन संशोधनको मस्यौदा तयार भइसकेको जानकारी दिनुभयो । ‘स्वर्गीय शर्माको सपना पूरा गर्ने गरी चाँडै संसद्मा विधेयक लैजान्छौँ,’ मन्त्री पोखरेलले भन्नुभयो । ‘काठमाडौं विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टी मोडलमा लैजान ऐन संशोधनको मस्यौदा तयार भइसकेको छ ।’

मन्त्री पोखरेलले शर्माको निधनले नेपालको शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउँदै शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी तथा काठमाडौं विश्वविद्यालय परिवारप्रति मन्त्रालयका तर्फबाट समवेदना व्यक्त गर्नुभएको थियो । शर्माले उच्च तथा प्राविधिक शिक्षाको संस्थागत विकासमा पु¥याएको योगदानका कारण उहाको निधनलाई शिक्षा क्षेत्रले ठूलो क्षतिका रूपमा लिएको छ ।

विशेषगरी काठमाडौं विश्वविद्यालयको स्थापना, संस्थागत विकास र स्वायत्त उच्च शिक्षा संस्थाका रूपमा त्यसको विस्तारमा उहाको नेतृत्वलाई महत्वपूर्ण मानिन्छ ।

शर्माको अन्तिम बिदाइमा राज्यले दिएको राजकीय सम्मानले नेपालको उच्च शिक्षा र प्राविधिक शिक्षा विकासमा उहाले पु¥याएको योगदानप्रतिको सम्मानलाई समेत प्रतिबिम्बित गरेको छ । अब सरकारले शर्माले अघि सारेको काठमाडौं विश्वविद्यालयको स्वायत्तता र बोर्ड अफ ट्रस्टी मोडलको अवधारणालाई कसरी कार्यान्वयन गर्छ भन्ने विषय उच्च शिक्षा क्षेत्रका लागि चासोको विषय बनेको छ ।