नेशनल मेडिकल कलेजमा विवाद : पीजी प्रथम वर्षका चिकित्सकको गतिविधि स्थगन, १२ घण्टाभित्र आवास खाली गर्न निर्देशन


काठमाडौं

वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले शैक्षिक सत्र २०८२ का प्रथम वर्षका स्नातकोत्तर (पीजी) तहका आवासीय चिकित्सकहरूका सम्पूर्ण शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगन गरेको छ। कलेज प्रशासनले बिहीबार एक सूचना जारी गर्दै प्रथम वर्षका आवासीय चिकित्सकहरूलाई १२ घण्टाभित्र छात्राबास तथा क्वाटर खाली गर्न निर्देशन दिएको छ।

कलेजद्वारा जारी सूचना अनुसार अर्को व्यवस्था नभएसम्मका लागि प्रथम वर्षका आवासीय चिकित्सकहरूको कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटी लगायतका सम्पूर्ण गतिविधिहरू स्थगित गरिएको छ। क्वाटर तथा छात्राबास छाड्दै गर्दा चिकित्सकहरूले कलेजको सम्पत्ति बुझाएर तोकिएको समयभित्र आफ्ना व्यक्तिगत सामान हटाइसक्नुपर्ने जनाइएको छ।

साथै, कलेज प्रशासनले प्रथम वर्षका सम्पूर्ण आवासीय चिकित्सकहरूलाई फिर्ता बोलाइदिन त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) सँग औपचारिक अनुरोध गरिसकेको दाबी गरेको छ।

वार्ताबाट समाधान खोज्न आईओएमको निर्देशन

कलेजले विद्यार्थी फिर्ता लैजान पत्राचार गरेपछि आईओएमले त्यसको जवाफ पठाउँदै आन्तरिक विवाद वार्ता र सम्वादबाट समाधान गर्न र तत्काल शैक्षिक वातावरण कायम गर्न निर्देशन दिएको छ।

आईओएमका सहायक डीन प्रा.डा. अभिमन्यू झाले कलेजको पत्रको जवाफ पठाइएको पुष्टि गर्दै विद्यार्थी फिर्ता लैजाने कुरा सम्भव नभएको बताएका छन्। “यो कलेज प्रशासन र चिकित्सकबीचको आन्तरिक खटपट हो, जसलाई उहाँहरू आफैँले टुंग्याउनुपर्छ। विद्यार्थी फिर्ता लैजाने भन्ने कुरा मिल्दैन,” उनले भने।

चिकित्सकहरूको आन्दोलन र चौतर्फी समर्थन

विभिन्न सात बुँदे माग राखेर आन्दोलनमा उत्रिएका आवासीय चिकित्सकका प्रतिनिधिहरू अहिले काठमाडौँ पुगेर विभिन्न सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराइरहेका छन्।

यसैबीच, नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकहरूको माग र आन्दोलनप्रति नेपाल चिकित्सक संघका साथै विभिन्न मेडिकल कलेजका आवासीय चिकित्सक संघ-संस्थाहरूले ऐक्यबद्धता जनाउँदै समर्थन गरेका छन्।