भारी वर्षाको जोखिमपछि भरतपुरका सबै विद्यालयमा एक दिन बिदा

470
Shares

चितवन ।

प्रतिकूल मौसमका कारण भरतपुर महानगरपालिकाभित्र सञ्चालित सबै विद्यालय शुक्रबार बन्द हुने भएका छन् । महानगरपालिकाले विद्यार्थीको सुरक्षालाई मध्यनजर गर्दै असोज ९ गते एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी तथा चट्याङको सम्भावना रहेको पूर्वानुमान गरेपछि महानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
मौसममा देखिएको प्रतिकूल अवस्थाका कारण बाढी, डुबान तथा पहिरोजस्ता विपद्को जोखिम बढ्न सक्ने भएकाले विद्यार्थीलाई आवतजावतमा समस्या हुनसक्ने र सुरक्षामा असर पर्नसक्ने अवस्थालाई ध्यानमा राखेर विद्यालय बन्द गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका अनुसार भरतपुर क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयसँगै पूर्वप्राथमिक तह र मन्टेश्वरीसमेत शुक्रबार बन्द रहनेछन् । महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयलाई लागू हुने गरी एक दिनका लागि बिदा दिने निर्णय गरिएको हो ।

महानगरपालिकाले बुधबार असोज ८ गते गरेको निर्णयमा प्रतिकूल मौसमको अवस्था हेरी विद्यालयमा आवश्यकताअनुसार बिदा दिन सकिने व्यवस्था गरेको थियो । सोही निर्णय र पछिल्लो मौसम पूर्वानुमानलाई आधार बनाएर असोज ९ गते शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाले स्पष्ट पारेको छ ।

महानगरपालिकाले मौसममा सुधार नआएको अवस्थामा बालबालिका तथा विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राख्न आग्रहसमेत गरेको छ । विद्यालय बन्दको अवधिमा विद्यार्थीलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन र सम्भावित बाढी, डुबान तथा पहिरोको जोखिम भएका स्थानमा आवतजावत नगर्नसमेत सचेत गराइएको छ ।