चितवन ।
चितवनसहित देशका विभिन्न स्थानमा आगामी केही दिन लगातार भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार चितवनमा समेत भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने जोखिमलाई ध्यानमा राखेर प्रशासनले पूर्वसतर्कता अपनाउन अनुरोध गरेको हो। प्रशासनले बिहीबार सूचना जारी गर्दै जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्नैपर्ने अवस्था आएमा सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे सुरक्षा निकाय वा स्थानीय तहसँग जानकारी लिएर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।
यात्राका क्रममा मौसम प्रतिकूल बनेमा कुनै पनि हालतमा गन्तव्यमा पुगेरै छाड्ने प्रयास नगर्न पनि प्रशासनले सचेत गराएको छ। बाटोमा वर्षा बढेमा नजिकैको सुरक्षित स्थानमा रोकिन र मौसम तथा सडकको अवस्था सामान्य भएपछि मात्र यात्रा अघि बढाउन आग्रह गरिएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी तथा खोलाको किनार र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ। नदीको बहाव बढ्न सक्ने तथा बाढीको जोखिम उत्पन्न हुनसक्ने भएकाले आवश्यक परे सुरक्षित स्थानतर्फ सर्नसमेत उहाँले अनुरोध गर्नुभएको छ।
जोखिमका कारण स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा स्थानीय तह वा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न प्रशासनले आग्रह गरेको छ। आपत्कालीन अवस्थामा आफूखुसी जोखिमयुक्त बाटो प्रयोग नगरी सुरक्षाकर्मीको सुझावअनुसार सुरक्षित स्थानमा जान प्रशासनको अनुरोध छ।
लगातारको वर्षाका कारण जिल्लाका ग्रामीण तथा पहाडी सडकमा पहिरो जाने, सडक भासिने तथा आवागमन अवरुद्ध हुने सम्भावना रहेकाले यात्रु तथा सवारी चालकलाई थप सावधानी अपनाउन भनिएको छ। मौसमको अवस्था हेरेर जुनसुकै समयमा सडक आवागमन बन्द गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले त्यसअनुसार वैकल्पिक व्यवस्था र आवश्यक तयारी गर्न प्रशासनले आग्रह गरेको छ।
यसैगरी नदी तथा तटीय क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट, विद्यालय, उद्योग तथा कलकारखानालाई पनि सम्भावित जोखिमप्रति सचेत रहन प्रशासनले अनुरोध गरेको छ। बाढी वा अन्य विपद्को अवस्था सिर्जना भएमा छोटो सूचनामै त्यस्ता संरचना बन्द गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न प्रशासनले भनेको छ।
प्रशासनले मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न तथा विपद्को जोखिम देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन जिल्लावासीलाई आग्रह गरेको छ। स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित कार्यालयलाई समेत सम्भावित विपद्को अवस्थालाई ध्यानमा राख्दै आवश्यक तयारी अवस्थामा रहन भनिएको छ।











प्रतिक्रिया